कास्कीको भगवतीटारमा आलु महोत्सव

लेखनाथ । कास्कीको मादी गाउँपालिका वडा नम्बर १२ स्थित भगवतीटारमा शनिबार तेस्रो आलु महोत्वस सम्पन्न भएको छ । हराभरा भगवती कृषक समूहको आयोजना र मादी गाउँपालिकाको सह आयोजनामा सम्पन्न भएको महोत्सवको आकर्षणको रुपमा रहेको भजन चुट्का प्रतियोगितामा थुम्सिकोट भजन समूह प्रथम, क्युरानी भजन समूह द्वितीय, लिप्यानी भजन समूह तृतीय, ओझागाउँ भजन समूह सान्त्वना र मसिना भजन समूह सान्त्वना भएका थिए ।
कृषि विषयसँग सम्बन्धि रहेर प्रस्तुत गरिएको भजन चुट्का प्रतियोगितामा प्रथम समूहले २० हजार, द्वितीय भएको समूहले १० हजार, तृतीय भएको समूहले ५ हजार र सान्त्वना हुने समूहले ३–३ हजार पुरस्कार प्राप्त गरेको प्रचार प्रसार समितिका संयोजक प्रकाश आचार्यले जानकारी दिनु भयो । यसै गरी छेलो फ्याक्ने प्रतियोगितामा रुपा गाउँपालिका श्यास्त्रीका अरुण विकले प्रथम पुरस्कार नगद ७ हजार र मादी ११ का रोशन गुरुङले द्वितीय पुरस्कार नगद रु ३ हजार प्राप्त गरेको संयोजक गिरीराज आचार्यले जानकारी दिए ।
यसै गरी अर्को आकार्षणको रुपमा रहेको दुना टपरी गाँस्ने प्रतियोगितामा गोरक्ष निखिल आमा समूह भगवतीटार प्रथम, लिप्यानी आमा समूह द्वितीय र थुम्सिकोट आमा समूह तृतीय भएका थिए । उक्त प्रतियोगितामा प्रथम हुने समूहले नगद रु ५ हजार, द्वितीय पुरस्कार ४ हजार र तृतीय पुरस्कार नगद १ हजार ५ सय प्राप्त गरेको प्रतियोगिताका संयोजक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।
यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङले आलु महोत्सवले मादी गाउँपालिकाका बासिन्दा बिच एकताको सन्देश दिएको बताए । भजन चुट्का, दुना टपरी गाँस्ने प्रतियोगिता र छेलो फ्याँक्ने प्रतियोगिताले लोप हुँदै गएको संस्ककृतिको संरक्षण र सम्बद्र्धन गर्ने उनले बताए ।
भजन चुट्का प्रतियोगिता प्रायोजक पोखरा २८ वडा कार्यालयको तर्फबाट वडा सदस्य डाल्डादेवी भुजेलले यस क्षेत्रको उर्वर भूमिको चर्चा गर्दै महोत्सवले नेपाली दाजुभाइ दिदीबहिनीहरुमा लुकेर रहेको प्रतिभाको पहिचान भएको बताइन् ।
मादी ४ का वडा अध्यक्ष शिव सापकोटा, नेपाली कांग्रेस मादीका सभापति यामबहादुर गुरुङ, नेकपा एमाले मादीका अध्यक्ष सुवास सापकोटा, नेकपा माओवादी केन्द्र मादीका अध्यक्ष मित्रबहादुर गुरुङ, मादी गाउँपालिका कृषि शाखाका प्रमुख सबिना भण्डारी, मादी गाउँपालिका निवर्तमान उप प्रमुख विष्णु आचार्य पौडेल, लेखनाथ उद्योग वाणिज्य सघका महासचिव जानुका पराजुली लगायतले महोत्सवको निरन्तरताका लागि सुझाव राखे । मादी १२ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी गिरीले स्वागत एवं कार्यक्रम माथि प्रकाश पारेकी थिइन् । पैरे भजन समूहद्वारा भजन गीत मार्फत सांगीतिक रुपमा स्वागत गरिएको सांस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिए ।
हराभरा भगवतीटार कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीको अध्यक्षतामा सम्पन्न भएको महोत्सवमा ३ हजार ५ सय किलो आलु बिक्री भएको र ६ लाख भन्दा बढीको आर्थिक कारोबार भएको थियो । १ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक बुद्धिप्रसाद पौडेलले जानकारी दिए ।
स्थानीयले उत्पादन गरेका तरकारी तथा फलफुल महोत्वसव मार्फत विक्री वितरण गरी कृषकलाई कृषि उत्पादनमा थप प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लोक दोहोरी गायक एवं भजन गायक रामजी पौडेल, लोक दोहरी गायक सुनिल गायक र लोक दोहोरी गायिका सावित्री शाहीले गीत संगीतको माध्यमबाट दर्शकलाई मनोरञ्जन प्रदान गरे । कार्यक्रमको सञ्चालन समूहका सचिव महेन्द्र पौडेलले गरेका थिए । महोत्सवमा विभिन्न कृषि उपज अन्तर्गत उत्कृष्ट आलु उत्पादनमा लीलानाथ आचार्य, उत्कृष्ट मुला प्रदर्शनमा मनोज खत्री, उत्कृष्ट बन्दा प्रदर्शनीमा विष्णु माया पौडेल र सरस्वती न्यौपाने, उत्कृष्ट व्हेलमा प्रकाश आचार्य लगायत किसानहरुलाई समेत सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया