सम्पादकीय—स्ववियुले दिएको सन्देश

समाधान संवाददाता २०८१ चैत १० गते १०:१०

प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनको दबदबा रहँदै आएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा यसपालि पृथक खालको परिवेश देखियो । पछिल्लो आमचुनाव झै स्ववियु निर्वाचनमा पनि केही फरक देखिने आकलन पहिल्यै गरिएको थियो । यस पटक उल्लेख्य संख्यामा गैरदलीय उम्मेदवारहरूले स्ववियुमा जितेका छन् । राजधानी उपत्यकामै रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा गैरदलीय उम्मेदवार स्ववियु अध्यक्ष निर्वाचित भए । राजधानीबाहिर केन्द्रीय प्रविधि क्याम्पस धरान, चितवन इन्जिनियरिङ क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा स्वतन्त्र उम्मेदवार सभापति निर्वाचित भएका छन् । संख्याका हिसाबले यो धेरै होइन तर त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको चुनावमा आएको यो नतिजालाई सामान्य मान्न भने सकिँदैन ।

Advertisement

किनभने, यी स्वतन्त्र उम्मेदवारले बलिया राजनीतिक दलहरूको विरासत तोडेका हुन् । समाजका हरेक संस्थासम्म पुगेका दलहरूको बलियो संगठनात्मक संरचनासँग जोडिनेसंस्थालाई हराएर व्यक्तिले जित्नु पक्कै चर्चाको विषय हो । अनौठो परिघटना हो । गैरदलीय उम्मेदवारहरूले आंगिक क्याम्पसमा जितेपछि दलहरूभित्र ठूलै तरंग गएको छ । विशेषतः नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) जस्ता ठूला दलभित्र यस्तो नतिजा समीक्षाको विषय बनेको देखिन्छ ।


गैरदलीय उम्मेदवारसँग आफ्ना उम्मेदवार पराजित हुनु निःसन्देह दलहरूभित्र समीक्षाको विषय हो । अझ क्याम्पसमा विद्यार्थी राजनीतिको इतिहास केलाउँदा यो गम्भीर समीक्षाको विषय हो । नेताहरूले यस्तो नतिजालाई प्राविधिक नतिजा अथवा संयोग भनेर पन्छिनु गल्ती हुनेछ । स्नातक तह र सोभन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीले यो चुनावमा भाग लिएकाले यो नतिजालाई संयोगभन्दा पनि वर्तमान परिस्थितिको उपज मान्नु मनासिब हुन्छ । विगतमा पञ्चायत अथवा राजतन्त्रकालीन व्यवस्था विरुद्ध विद्यार्थीले परिवर्तनको आवाज उठाएका थिए । तसर्थ, नतिजा पनि दलका विद्यार्थी संगठनहरूकै पक्षमा आउँथ्यो । अहिले जनमानसमा दल र तिनका नेतृत्वप्रति वितृष्णा देखिन्छ । राजनीतिप्रति असन्तुष्ट तिनै जनता पूर्वराजा ज्ञानेन्द्र शाह, अराजकै काम गरे पनि दुर्गा प्रसाईको भीडमा पनि देखिएको तथ्यलाई नकार्न सकिने अवस्था छैन ।


गएको २५ फागुनको राजावादीको जुलुसलाई मुख्य दलहरूले गम्भीर रुपमै लिएको देखिन्छ । त्यस्तै स्ववियुमा समेत गैरदलीय उम्मेदवार उल्लेख्य संख्यामा निर्वाचित भएका छन् । यो नतिजालाई गत आमनिर्वाचनकै शृंखलासँग जोडेर हेर्नुपर्छ । गएको आमनिर्वाचनमा अप्रत्यासित मत पाएर केही नयाँ राजनीतिक शक्तिहरू उदाएका छन् । र, स्ववियुमा गैरदलीय उम्मेदवार निर्वाचित हुनुलाई अलग अलग विश्लेषण गर्न हुन्न बरु मिनी मध्यावधिसमेत मानिने स्ववियुको नतिजालाई दल र तिनका नेतृत्वले गम्भीर रूपले हेर्नुपर्छ । स्वतन्त्र विद्यार्थी युनियन भनिए पनि हालसम्मै स्वतन्त्र रुपमा काम गर्न नपाएको इतिहास छ । एकाध ठाउँमा बाहेक स्वतन्त्रका एक वा दुई जनाले जितेका छन् । अरु पदाधिकारी दलनिकटकै संगठनले जित्दा काम गर्न पनि चुनौती नै हुने देखिन्छ । जेहोस्, यो निर्वाचनले विद्यार्थीका एजेन्डा बोक्नेहरुले जित्नुपर्छ भन्ने भाष्य एकातिर निर्माण गरेको छ भने परिवर्तनको अगुवाइ गर्न नसके दलहरुको विकल्प जनताले खोज्ने संकेतसमेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया