हेमजामा व्यावसायिक तालिम केन्द्र

समाधान संवाददाता २०८१ चैत १० गते १९:१६

पोखरा । शुभ अवसर ग्राम नेपालले महिलाको व्यावसायिक सीप विकास गर्न पोखरा महानगरपालिका २५ हेमजामा व्यावसायिक तालिम केन्द्र स्थापना गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार केन्द्र सुरुआत गरिन् ।

Advertisement

केन्द्रमा ३ महिने कम्प्युटर तालिम, ६ महिने सिलाइ कटाइ र ब्युटी पार्लरको तालिम प्रदान गरिनेछ । १ वर्षमा ७० जनालाई कम्पुटर, २० जनालाई सिलाइ कटाइ र १० जनालाई ब्युटी पार्लर सिकाउने संस्थाको लक्ष्य छ । संस्थाकी निर्देशक अन्थोनिया सुसईले संस्थाले आन्तरिक तथा सीमापार मानव बेचबिखन प्रभावितको संरक्षण गर्दै आएको बताइन् ।

संस्थाले काठमाडौँ, कास्की र रुपन्देहीमा कार्यक्रम चलाइरहेको छ । वडा नम्बर २५ की कार्यवाहक वडाध्यक्ष तारा विश्वकर्माले केन्द्रमा झोल, साबुन बनाउने तालिम लिएको बताउँदै सुविधा सम्पन्न तालिम केन्द्र स्थापना भएकोमा खुसी व्यक्त गरिन् । यस्ता तालिमबाट सीप प्रदान गरी आर्थिक सशक्तीकरणमा योगदान पुग्ने उनको भनाइ छ ।

मिलिजुली आमा समूहकी अध्यक्ष सकुन्तला पहारीले पनि संस्थाबाटै झोल साबुन बनाउने तालिम लिएर उत्पादन गरी आम्दानी गरिरहेको सुनाइन् । उपमेयर गुरुङले महानगरले संस्गासँग सहकार्य गर्ने वाचा गरिन् । महिलाले व्यवसाय सञ्चालन गर्न ऋण प्रदान गरिने उनले जानकारी दिइन् ।

पोखरा महानगरपालिकाकी सामाजिक विकास महासाखा प्रमुख निर्मला शर्माले तालिम केन्द्र स्थापन गर्न आर्थिक सहयोग गरेकोमा धन्यवाद दिइन् । संस्थाका उपाध्यक्ष कृष्णबहादुर बोगटीले संस्थाले जोखिम अवस्थामा रहेका महिला तथा किशोरीलाई निरन्तर सहयोग गर्ने र सम्पूर्ण सरकारी तथा अन्य सरोकारवालासँग सहकार्य गर्ने बताए । भिलेज अन्डर स्टार नामक फ्रान्सको अन्तर्राट्रिय गैर सरकारी संस्थाको आर्थिक सहयोग तालिम केन्द्रको स्थापना गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया