खानेपानीका अलपत्र आयोजना पूरा गर्छाैंः ढकाल

समाधान संवाददाता २०८१ चैत १० गते १९:३६

पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उपभोक्ताको हितमा रकम खर्च गरिने बताएका छन् । संस्थानले नेपाल सरकारसँग आवश्यक छलफल, परामर्श तथा नयाँ योजनामार्फत् लगानीको वातावरण सिर्जना गरिनेमा जोड दिएका हुन् ।

Advertisement

महाप्रबन्धक नियुक्त भएपछि पहिलो भ्रमण पोखरामा भाएका ढकालले सबै कर्मचारीसँग भएको क्षमता उपयोग गरी मुस्का सहितको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका थिए । बजेटको अभावमा उपभोक्ताको घरमा पानी नजाने समस्या समाधान गर्ने बताएका महाप्रबन्धक ढकालले नयाँ योजना ल्याउन सबै शाखासँग आग्रह गरे ।

आफूलाई सबै शाखागत उपभोक्ताको ज्ञान नहुने बताएका ढकालले शाखामा कार्यरत सबै कर्मचारीको भावना, मर्म र विश्वास जितेर योजना बनाउन निर्देशन दिएका थिए । ठूला आयोजना अलपत्र परेको इङ्गित गर्दै सुधारका लागि आफू दौडिने प्रतिवद्धतासमेत जनाए । पोखरा शाखाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा ढकालले खरिद प्रक्रियालाई प्रभावकारी बनाउन, मितव्ययीता अपनाउन, कामै गरेर सुधार गर्न, उपभोक्ताको सेवालाई पहिलो प्राथमिकता दिन, करार, ज्यालादारी र स्थायीबीच फरक नछुट्याउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

महाप्रबन्धक ढकालले सबै तहमा कार्यरत कर्मचारीको समान भूमिका हुने भएकाले एक परिवार बनेर सेवा दिन सक्नुपर्ने विचार राखे । परिवारमा पर्ने समस्या परिवारभित्रै मिलाउने अभियानमा आफू रहेको भन्दै उनले थपे, ‘हरेक समस्या सिधै मलाई भन्नुहोस्, भन्न नसके शाखा प्रमुख, महाशाखा प्रमुखलाई भन्नुस्, म समस्या समाधान गर्छु ।’ आफूभन्दा माथिल्लो निकायमा जानु पर्ने विषय भएपनि आफू तयार रहने बताएका थिए ।

ढकालले ढिलो गरी कर्मचारी सेवा शर्त विनियमावली संस्थानले प्राप्त गरे पनि नमिलेका, छुटेका तथा कर्मचारीको हितमा आवश्यक पर्ने विषयमा आफू गम्भी बनेको सुनाए । उनले विगतको सुविधाभन्दा धेरै नयाँ सुविधा थपिएको चर्चा गर्दै प्राप्त गरेको उपलब्धिलाई छिट्टै कार्यान्वयनमा जाने उद्घोष गरेका थिए । विनियमावली परिवर्तनशील दस्तावेज भएकाले आवश्यकताको आधारमा थपघट गर्न सकिने धारणा राखेका थिए ।

Advertisement

पोखरा शाखाका प्रमुख आशीष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले विभेदको नीति अन्त्य गरेर अव्बल संस्थान बनाउने अभियानमा साथ दिने बताउँदै राम्रो कार्यको स्वागत र नराम्रो कार्यको विरोध गर्ने जनाएका थिए । पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मीले सञ्चालन गरेको सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका केन्द्रीय महासचिव वसन्तराज भण्डारीले सवै मिलेर संस्थानलाई विश्वसिलो र भरपर्दो बनाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया