कृषि विकास बैंक कर्मचारी संघको परिषद सुरु

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगत र वर्तमान अवस्थाबारे जनतालाई तथ्य केलाएर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीको संस्था कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद उद्घाटन शत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले युरोप, अमेरिकाको विकाससँग तुलना गरेर नेपालमा केही भएन भन्दै व्यवस्थामाथि प्रहार गर्ने काम भइरहेको आरोप लगाए ।
मक्किएको राजतन्त्र असफल, असान्दर्भिक व्यवस्था भएको टिप्पणी गर्दै उनले अहिले राजतन्त्रको पक्षमा बहस गर्ने जमात तयार भएको बताए । ‘त्यो जमातले पहिले राम्रो थियो अहिले बर्बाद बनाए बनाएर भनेर भन्न थालेका छन्,’ उनले भने, ‘हिजोचाहिं राम्रो थियो, अहिलेचाहिं खत्तम भयो भन्ने भाष्य स्थापित गर्न खोजिएको छ, तर त्यस्तो होइन ।’
उनले राजतन्त्रको समयमा प्रतिव्यक्ति आय वार्षिक २ सय रुपैयाँ रहेको तर अहिले त्यो बढेर १ हजार ५ सय पुगेको, तत्कालीन अवस्थामा नेपालको कुल गाह्र्यस्थ उत्पादन साढे ४ खर्ब रहेकोमा अहिले बढेर ५७ खर्ब पुगेको, राजाको पालामा ४ प्रतिशत घरमा रहेको बिजुली अहिले ९९ प्रतिशतमा पुग्दापनि गणतन्त्रमा काम नभएको भनेर आलोचना भइरहेकोप्रति आश्चर्य व्यक्त गरे । उनले भने, ‘तथ्यांकले अहिले धेरै भएको देखाउँछ तर यो ग्राफ तुलना गरेर कसले बुझाउँछ ? तपाईंहरु जस्ता बुद्धिजीवी र बैंकर्सहरुले बुझाउनुपर्छ ।’
एमाले महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई उत्पादनमुखी व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गर्न कृषि विकास बैंकले भूमिका खेल्नुपर्ने बताए । पहिले ७० प्रतिशत जनसंख्या कृषिमा रहेको तर अहिले पढेलेखेका युवाले कृषि कर्म नगर्दा त्यो २५ प्रतिशतमा झरेका कारण ठूलो संख्यामा बेरोजगार बनेको दाबी गर्दै उनले भने, ‘तिनीहरुलाईपनि रोजगार बनाउने गरी बैंकले लगानी गर्नुपर्छ ।’
एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले कृषि विकास बैंक जनताको आमा भएको बताए । उनले भने, ‘यो बैंकले जनताको जीवनस्तर उठाउन सघाउनुपर्छ ।’ अधिकारीले गुमेको स्वर्ग फर्काउन राजावादीहरु तम्सिरहेको बताए । तर त्यो कदापि सम्भव नहुने बताउँदै उनले थपे, ‘आफ्नो पार्टीको सभापति बनाए हुने ठाउँमा जोगीको कनफट्टा (राजतन्त्र)को पछि लागेका छन् । तर यसको पछि लागेर केही हुँदैन ।’ उनले कर्मचारी ट्रेड युनियनलाई थप बलियो बनाएर लैजान आवश्यक रहेको पनि बताए ।
एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले विकासका लागि बैंक आधारका रुपमा रहेकाले त्यसको सबलीकरणमा कर्मचारीले योगदान गर्नुपर्ने बताए । तर कर्मचारीको हकहित र अधिकारसँगै उनीहरुको जीवनस्तर सहज बनाउनेतर्फ पनि व्यवस्थापनले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कर्मचारी संगठनहरुका १५ बुँदे मागमध्ये १३ बुँदा सम्बोधन भइसकेको दाबी गरे । कार्यक्रमका अन्य वक्ताहरुले बैंकका कर्मचारीलाई कर्जा असुल गर्न जाँदा हातपात गर्ने, हप्काउने दप्काउने, आक्रमणको चेतावनी दिने लगायतका जोखिम रहेको औंल्याए ।
कार्यक्रममा कृषि विकास बैंक कर्मचारी संघका ७ पूर्वअध्यक्षहरु भोजराज भट्टराई, ताराखर अधिकारी, कविप्रसाद पाठक, जिवराज बस्याल, ध्रुवराज खनाल, कुलप्रसाद शर्मा र मोहिनी खनाल तथा बैंकका पूर्व उपमहाप्रबन्धक दीर्घबहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।
संघका अध्यक्ष लीला जिसी क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कृषि विकास बैंकका गण्डकी प्रदेशका कार्यकारी निर्देशक घनेन्द्र अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष छगेन्द्र आचार्य, कृषि विकास बैंक कर्मचारी युनियनका सोम गुरुङ, कृषि विकास बैंक कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणि ढुंगाना लगायतले बोलेका थिए ।
कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषदले नया नेतृत्व सर्वसम्मत चयन गर्ने कृषि विकास बैंक कर्मचारी संघ गण्डकी प्रदेशका अध्यक्ष सन्तोष थापाले जानकारी दिए । परिषदमा सहभागी हुन देशभरका ७७ जिल्लाबाट ६ सय जना प्रतिनिधि तथा पर्यवेक्षक पोखरा आएका छन् ।
तपाईको प्रतिक्रिया