जनप्रियका विद्यार्थीलाई चिनियाँ भाषा तालिम

पोखरा । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटबीच चिनियाँ भाषा कक्षा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाल पक्षका कार्यवाहक निर्देशक डा बलराम दुवाल र जनप्रिय बहुमुखी क्याम्पस प्रमुख कृष्णबाबु बरालले ब्याचलर इन माउन्टेन टुरिज्म म्यानेजमेन्ट कार्यक्रममा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि हस्ताक्षर गरेका हुन् ।
नेपालमा चिनियाँ भाषा शिक्षाको बढ्दो महत्व, पर्यटन, व्यापार र साँस्कृतिक आदानप्रदानका क्षेत्रमा यसको प्रभावबारे चर्चा गदै नेपाल–चीन शैक्षिक तथा साँस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।
कार्यक्रममा डा बलराम दुवालले चिनियाँ भाषा सिक्नु भनेको विश्वव्यापी अवसरहरूको ढोका खोल्नु भएको बताए । उनले भने, ‘नेपालका विद्यार्थी तथा व्यावसायीका लागि महत्वपूर्ण लगानी हो, जसले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक सम्भावनाहरूलाई थप उजागर गर्ने छ ।’
कन्फ्युसियस इन्स्टिच्युटका चीन पक्षका निर्देशक प्राडा झाङ सिङनियानले जनप्रियलाई सहकार्यका निम्ति धन्यवाद दिँदै नेपाल–चीन सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पारे । उनले भने, ‘चिनियाँ भाषा सिक्नु भनेको नेपाल–चीन पर्यटन तथा व्यवसायिक सहकार्यलाई प्रवद्र्धन गर्नु हो ।’
क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले, नेपाल–चीनबीच सातौँ शताब्दीबाट कायम ऐतिहासिक सम्बन्धलाई स्मरण गरे । भने, ‘सम्झौता केवल शैक्षिक सहकार्य मात्र नभई दुई संस्थाबीचको ज्ञान, संस्कृति र व्यावसायिक अवसरहरूको आदानप्रदानको एउटा महत्वपूर्ण माध्यम हो ।’
क्याम्पस प्रमुख कृष्णबाबु बरालले समझदारीपत्र अनुरूप बिएमटिएम कार्यक्रमका सातौँ र आठौंँ सेमेस्टरका विद्यार्थीका लागि चिनियाँ भाषा कक्षा तत्काल सञ्चालन गरिने जानकारी गराए । उनले भविष्यमा अन्य संकायहरूमा समेत चिनियाँ भाषा कक्षा विस्तार गर्ने योजना रहेको बताउँदै विद्यार्थीका लागि रोजगारीका थप अवसर सिर्जना गर्ने जनाए ।
चिनियाँ भाषा प्रशिक्षक याओ फाङले पाठ्यक्रम संरचना तथा सिकाइ गतिविधिबारे जानकारी दिइन् । उनले भनिन्, ‘चिनियाँ भाषा सिक्ने यात्रामा हामी सबै मिलेर अगाडि बढ्नेछौं । यो अवसरलाई सदुपयोग गरी उत्कृष्ट प्रगति गर्नुपर्छ । ’ कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले वर्तमान विश्व परिप्रेक्ष्यमा चिनियाँ भाषाको महत्वबारे चर्चा गरिन् ।
तपाईको प्रतिक्रिया