
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ मा भद्रकाली मन्दिर छ । यही मन्दिरकै नामबाट ठाउँको नामकरण गरिएको स्थानीय बताउँछन् । भद्रकाली मन्दिर १ सय ३० रोपनीमा फैलिएको छ । मन्दिरको कति जग्गा अतिक्रमण पनि भएको छ । मन्दिरको जग्गा संरक्षण गर्ने उद्देश्यले २० वर्षअघि माछापोखरीमा पोखरी निर्माण गरिएको श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समिति अध्यक्ष योगेन्द्रमान श्रेष्ठले बताउँछन् ।
सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्न पोखरी निर्माण गरिएको श्रेष्ठको भनाइ छ । त्यही पोखरी थप व्यवस्थित र राम्रो बनाउने भन्दै अहिले पोखरी सुकाएर पुनर्निर्माण गर्न लागिएको छ । मन्दिर क्षेत्रमा वातावरणीय सौन्दर्य थपेर आर्कषक बनाई भद्रकाली मन्दिरसहित पोखरीलाई पर्यटकीय ठाउँ बनाउने उद्देश्यले पोखरी पुनर्निर्माण गर्न लागिएको उनले जानकारी दिए ।
‘पोखरीलाई पुनः व्यवस्थित गरेर आधुनिक स्वरूप दिने तयारी छ । मन्दिर क्षेत्रको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य छ । पोखरी वरिपरी बलियो पर्खाल बन्नेछ, चिल्ड्रेन पार्क बन्नेछ, वृद्धवृद्धाका लागि धार्मिक गतिविधि, रामायण तथा महाभारत वाचन कार्यक्रम हुने छन्,’ श्रेष्ठले भने ।
अब बन्ने पोखरी भद्रकाली शान्तिबाटिका पार्कका रुपमा पर्यटकीय स्थल बन्ने
१० रोपनीमा फैलिएको पोखरीको वास्तविक नाम भद्रकाली शान्तिबाटिका हो । स्थानीयले माछापोखरी भन्दा भन्दै पोखरीको नाम नै माछापोखरी रहन गएको हो । अब बन्ने पोखरी भद्रकाली शान्तिबाटिका पार्कका रुपमा पर्यटकीय स्थलका रुपमा निर्माण हुने हुने श्रेष्ठको अपेक्षा छ ।
श्रेष्ठका अनुसार पोखरी डेढ मिटर गहिरो हुनेछ । वारपार गर्न मिल्ने पोखरीको बिचमा पुल बन्नेछ । वरिपरी फुटट्रयाक बन्नेछ । पोखरीमा रंगिन माछा राखिनेछ । सानो डुँगा पनि सञ्चालन गरिनेछ । स्वच्छ हावा खाँदै शान्त वातारणमा बिहान साँझ टहल्न पाइनेछ ।
योजनाका लागि पर्यटन मन्त्रालयबाट २ करोड बजेट प्राप्त भएको छ । तर मन्दिर सहितको पुनर्निर्माणका लागि १० करोडभन्दा बढी लाग्ने अनुमान छ । पोखरीको माछा बेचेर ४० हजार आम्दानी भएको छ । ‘माछा व्यावसायिक नभई पोखरीका लागि मात्र राखिएको थियो । २/३ सय जति माछा थिए पोखरीमा,’ उनले भने । मन्दिरले माछा बेच्न पनि समस्या पर्ने भएकाले माछा मार्न ४० हजारमा ठेक्का दिइएको थियो ।
पोखरी पुनर्निर्माणपछि भद्रकाली क्षेत्रको धार्मिक तथा पर्यटन प्रवद्र्धन हुने स्थानीय भीम गुरुङको भनाइ छ । पर्यटकीय दृष्टिकोणले पोखरीमा नयाँ संरचना बनाउन आवश्यक रहेको उनले औंल्याए । ‘पोखरीलाई सुन्दर बनाएर पर्यटक आकर्षक बनाउन सकिन्छ । यसबाट स्थानीय व्यवसायलाई फाइदा पुग्नेछ,’ गुरुङले भने ।

४० वर्षदेखि भद्रकालीमा बस्दै आएका गुरुङले लामो समयदेखि देखिरहेको पोखरी सुकाउँदा नमज्जा लागेको सुनाए । निर्माणको सुरुवाती चरणमा केही महिना नराम्रो देखिए पनि पछि राम्रो बन्ने भएकाले धर्य गनुपर्ने उनले बताए ।
दीर्घकालीन योजनामा ध्यान दिनुपर्नेमा उनको जोड छ । ‘पोखरीको संरक्षण गर्न तथा नयाँ पुस्ताका लागि जोगाउनुपर्ने भएकाले दीर्घकालीन योजना बनाउनु पर्छ । पूर्वाधार विकास, उचित व्यवस्थापन, वातावरणीय सफाइमा विशेष ध्यान दिन आवश्यक छ,’ उनले भने ।
पोखरी स्थानीयका लागि उपयोगमा ल्याउन सकेमा झनै राम्रो हुने गुरुङको धारणा छ । पैदल मार्ग, हरियाली, चराको आवाजले पोखरीको सुन्दरतामा थप आर्कषण बढाएको उनले बताए । भद्रकाली मन्दिर १ सय ५० वर्षभन्दा पुरानो मानिन्छ । मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष र चैत शुक्ल पक्षका साथै बाला चतुर्दशीमा विशेष मेला लाग्छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेकाले मन्दिर पनि पुनर्निर्माण गर्न लागिएको छ ।


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया