पोखरालाई माया गर्ने पर्यटकको निधन

अमेरिकादेखि अस्तु ल्याएर सराङकोटमा विसर्जन

जमुना वर्षा शर्मा २०८१ चैत १२ गते १२:२४

   
पोखरा । अमेरिकी नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन् उतिनै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए । सराङकोटको डाँडामा उभिँदा, उहाँका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए ।    
    
केही वर्षअघि उनले श्रीमान फिल हुलवर्कको हात समाउँदै यही सिँढीहरू उक्लिएकी थिइन् । सँगै खिचिएका तस्बिरहरू, सूर्योदयको सुनौलो रङ, नीलो आकाशको शान्ति, कुहिरोले बनाएका अनौठा आकृतिहरू, हरियाली डाँडाहरू, चराचुरुङ्गीका चिरबिर सबै त्यही थिए । थिएन त केवल एउटा साथ, एउटा स्पर्श, एउटा हात, जसले उहाँलाई जीवनभर समातेर राख्ने वाचा गरेको थियो । अब तस्बिरहरू केवल याद बनेका थिए, सूर्योदयको उज्यालोभन्दा मनको अँध्यारो गहिरो थियो र सिँढीहरू उक्लिने पाइला साहाराविहीन भएका थिए ।    
    
नेपाललाई दोस्रो घर सम्झने ७६ वर्षीय अमेरिकी नागरिक फिल हुलवर्कको नेपालप्रतिको अपार मायाले नै लोरेटालाई उहाँको अस्तु बोकेर नेपाल ल्याउने प्रेरणा दियो । अमेरिकाको डेल्टा एयरलाइन्समा कार्यरत फिल पहिलो पटक सन् २००७ मा नेपाल आएका थिए । थाइल्याण्ड भ्रमणका क्रममा एकजना साथीले नेपालको प्राकृतिक सुन्दरताबारे सुनाएपछि उनको गन्तव्य नेपाल बन्न पुग्यो । प्रकृतिसँग रमाउन मन पराउने हुलवर्क नेपालका विभिन्न स्थानमा पुगेर प्राकृतिक सौन्दर्यसँगै यहाँको जीवनशैली र संस्कृतिमा घुलमिल भए । जहाँ गए पनि, जहाँ पुगे पनि, उहाँलाई पोखराको सुन्दरताले नै सबैभन्दा बढी तान्यो ।    
    
पोखराका सुन्दर दृश्य, संस्कृति र यहाँका मानिसहरूको मायालु स्वभावले फिललाई यति मोहित बनायो कि उनी हरेक वर्ष नेपाल आउन थाले । पोखराको शान्त वातावरण र फेवातालको किनारले उनलाई सान्त्वना र आनन्द प्रदान गथ्र्यो । एयरलाइन्सबाट सेवा निवृत्त भएपछि त उहाँले आफ्नो अधिकांश समय नेपालमै बिताउन थाले ।

Advertisement

    
सन् २०१९ मा नेपाल बसाइँका क्रममा फिल हुलवर्क नसा च्यापिएपछि विरामी परे । लेकसाइड गौरीघाटस्थित होटल ‘रानीवन आर्केट’ मा बस्दै आएका हुलवर्कलाई होटल सञ्चालक तथा पर्यटन व्यवसायी हरि भुजेलले उपचारमा विशेष ध्यान दिए । तर, समस्या निको भएन ।    
    
एक महिनापछि लोरेटा नेपाल आइन् र उनलाई आफ्नै देश लगेपछि उपचार गरिन् । विडम्बना एउटा समस्या समाधान नहुँदै उहाँलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लाग्यो । अन्ततः उपचारकै क्रममा छ महिनाअघि फिलको निधन भयो । बिरामी अवस्थामै नेपाललाई सम्झिरहेका फिलको आत्माको शान्तिका लागि पत्नी लोरेटा श्रीमानको अस्तु लिएर नेपाल आएकी हुन् ।


    
श्रीमान्को अस्तु लिएर सराङकोट डाँडामा पुगेकी लोरेटासँग पर्यटन व्यवसायी हरि भुजेल, पोखराकै अर्का साथी विनय पौडेल र लोरेटाकी साथी सेरी पनि थिए । लोरेटाले स्व श्रीमानको तस्बिरलाई स्पर्श गर्दै पुष्पगुच्छा अर्पण गरिन् । मुस्कुराइ रहेको श्रीमान्को तस्बिर एक टकले हेर्दै गर्दा लोरेटाका आँखा आँसुले भरिए । मौनताबीचका अनगिन्ती भावनासँगै उनन श्रीमान्को अस्तु सराङकोटको डाँडामा विर्सजन गरिन् । फिलसँगको सम्झनालाई उनले नेपालकै माटोसँग मिलाइन् ।

    
फिलले आफ्नै जीवनकालमा नेपाललाई माया गर्दै बारम्बार आफ्नो अस्तु नेपालमा लैजान लोरेटालाई अनुरोध गर्थे । “फिल नेपालका प्रकृति र संस्कृतिमा रमाउने असाध्यै सरल र मिजासिलो व्यक्ति हुनुहुन्थ्यो”, होटल सञ्चालक हरि भुजेलले भने, “हामीले धेरै पटक हाम्रो घरको भान्सामा सँगै नेपाली खाना खाएका छौं, होली पर्व मनाएका छौं, मठमन्दिर देवालय पुगेका छौँ, थुप्रैथुप्रै सम्झना छन् फिलसँग”, फिलको अन्तिम इच्छालाई लोरेटाले पूरा गरेर नेपालसँगको सम्बन्धलाई अझ गाढा बनाएको भुजेलले बताए ।

   
फिल नेपालीको आतिथ्यता र यहाँको जीवनशैलीको खुलेर प्रशंसा गर्थे ।  विशेष गरी, पोखराका स्थानीय क्षेत्रमा गएर लोकल रक्सी स्वाद मानेर पिउने उनको बानी थियो । “फिल नेपाललाई यति माया गर्नुहुन्थ्यो कि उहाँ वर्षको झन्डै तीन महिना नेपालमै बिताउनुहुन्थ्यो । दुई महिना एक्लै रहनुहुन्थ्यो भने एक महिना लोरेटासँगै,” भुजेलले भने ।

Advertisement

   
    
डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमान्सँग पोखरा घुम्न आउने गर्थिन् । अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ । “फिलको नेपालप्रतिको माया र लोरेटाको समर्पणले यो क्षणलाई झन मार्मिक बनाएको छ । फिलको आत्मा नेपालका पहाड, नदी र नेपालीहरूको हृदयमा सधैँ बाँचिरहनेछ”, फिलका साथी विनय पौडेलले भावुक हुँदै भनिन् ।      
    
एउटै एयरलाइन्समा कार्यरत हुँदा सुरु भएको प्रेमलाई यो जोडीले विवाहमा परिणत गरेका थिए । जीवनको उत्तराद्धतिर आउँदा पनि फिलसँग बिताएका प्रत्येक क्षण लोरेटाका लागि अविस्मरणीय तथा प्रेमले भरिपूर्ण रह्यो ती दिनहरू सम्झँदै लोरेटाले एउटा पछुतो व्यक्त गरिन् ।

    
“मैले सन्तान जन्माउने चाहना गरिनँ, तर अहिले कताकता एक्लोपन महसुस गर्छु”, लोरेटाले हल्का उदासीका साथ भनिन्, “मेरो साथमा फिल छैन तर उसँगका बिताएका हरेक पल र उसले टेकेको माटो मलाई उत्तिकै प्रिय छ”, लोरेटाले थपिन्, “फिल अब भौतिक रूपमा हाम्रो साथमा छैनन्, तर उनको आत्मा सधैँ नेपालमै रहनेछ । पोखरामा उहाँको सम्झना सधैँ जीवन्त रहनेछ ।”    

जमुना वर्षा शर्मा

डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन् 

तपाईको प्रतिक्रिया