मुस्ताङ अदालतमा ६६.६६ प्रतिशत मुद्दा फछ्र्यौट

सुन्दरकुमार थकाली २०८१ चैत १२ गते १९:१६


जोमसोम । हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१/ ०८२ को नौ महिनाको अवधिमा ६६.६६ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ । गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका कुल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फछ्र्यौट भएको हो ।

Advertisement

मुस्ताङ जिल्ला अदालतका स्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गत वर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फछ्र्यौट भएको हो । यस्तै, गत वर्ष र चालु वर्षका कुल १६ थान फौजदारी मुद्दामध्ये ७ थान मुद्दा अदालतबाट फछ्र्यौट भइसकेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए । उनका अनुसार मुस्ताङ अदालतमा देवानीतर्फ २ थान र फौजदारी मुद्दातर्फ ९ थान गरी कुल ११ थान मुद्दा फछ्र्यौट हुन बाँकी छ ।

मुखियाप्रथा जीवित रहँदा पनि सामाजिक मुद्दा अदालतमा बढ्दो

मुस्ताङ जिल्ला अदालतबाट आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका देवानीतर्फका २ थान मुद्दा मध्य २ वटै फछ्र्यौट भएका छन् । गत वर्षबाट चालु वर्ष जिम्मेवारी सरेका अंशसम्बन्धी एक र सम्बन्धविच्छेद एक गरी २ थान मुद्दा यस वर्ष फछ्र्यौट भएको अदालतका श्रेस्तेदार घिमिरेले बताए ।

यसैगरी, गत वर्ष दर्ता भएका ८ थान फौजदारी मुद्दामध्ये ४ थान मुद्दा चालु वर्ष फछ्र्यौट भएको र बाँकी ४ थान मुद्दा फछ्र्यौट हुन नसकी चालु वर्षमा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार घिमिरेको भनाइ छ । मुस्ताङ जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा देवानीतर्फ १५ थान मुद्दा दर्ता भएका थिए । जसमध्ये १३ थान देवानी मुद्दा फछ्र्यौट भएको छ भने २ थान मुद्दा फछ्र्यौट हुन बाँकी छ ।

Advertisement

चालु वर्ष दर्ता भएका देवानी मुद्दातर्फ सबैभन्दा बढी सम्बन्धविच्छेदका १३ थान मुद्दा रहेकोमा शतप्रतिशत मिलापत्रमार्फत फछ्र्यौट भएको अदालतका श्रेस्तेदार घिमिरेले जनाए । मुस्ताङ अदालतबाट कुल १५ थान देवानी मुद्दामध्ये नाता कायम र अंश लेनदेनसम्बन्धी मुद्दा अदालतबाट फछ्र्यौट हुन बाँकी छ । अदालतका श्रेस्तेदार घिमिरेले देवानीतर्फको नाता कायमसम्बन्धी मुद्दा अदालतबाट मेलमिलाप कक्षमा पठाइएको जानकारी दिए ।

चालु आव २०८१/०८२ मा ८ थान फौजदारी मुद्दामध्ये ३ थान फौजदारी मुद्दा अदालतबाट फछ्र्यौट भइसकेको स्रेस्तेदार घिमिरेले उल्लेख गरे । चालु आवको हालसम्म सवारी ज्यान मुद्दा २ थान र चोरी कसुर १ थान गरी ३ थान मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार घिमिरेले बताए । उनका अनुसार मुस्ताङ अदालतमा आत्महत्या दुरुत्साहन १, सवारी ज्यान २, चोरी १ र जबरजस्ती करणी १ गरी ५ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतका श्रेस्तेदार घिमिरेको भनाइ छ । फौजदारीतर्फ एकजना पुर्पक्ष थुनुवा, एक जना धरौटी बुझाउन नसकी थुनुवा र दुईजना तारिखमा रिहा भएका छन् ।

सम्बन्धबिच्छेद र मिलापत्रको गाँठो
हिमाली जिल्ला मुस्ताङका ९६ वटै गाउँहरुमध्ये अधिकांश गाउँहरूमा सदियौंदेखि कायम रहेको मुखियाप्रथा जीवितै छ । फौजदारी मुद्दाबाहेक सामाजिक रूपमा घट्ने सामाजिक प्रकृतिका घटनाहरूलाई यहाँको मुखियाप्रथाले दुई पक्षलाई संगै राखेर मिलापत्रमार्फत टुंग्याउँछ । देवानी प्रकृतिका पारिवारिक घटनालाई स्थानीय स्तरमा मुखियाले पनि वार्ताद्वारा समाधान गर्न सक्छन् । संघीयतापछि स्थानीय तहमा न्यायिक समिति पनि भएकाले सम्बन्धविच्छेदलाई मिलापत्र वा विच्छेद गरेर समस्या समाधान गर्ने अधिकार संविधानले स्थानीय तहलाई दिएको छ ।

तर, मुस्ताङ जिल्लामा घट्ने सम्बन्धविच्छेदका घटना अन्य जिल्लाको तुलनामा निकै भिन्न छन् । मुखिया र स्थानीय तहको न्यायिक समितिमा जान छोडेर सम्बन्धविच्छेदका घटना लिएर यहाँ अदालतको ढोका धाउने प्रचलन बढ्दो छ । सम्बन्धविच्छेद गर्न अदालत जाने कतिपय दम्पती एकआपसमा हात र कुम जोडेर हाँस्दै रमाउँदै अदालतको ढोकामा सम्बन्धविच्छेद गरिदिन भनी निवेदन दिने गरेको पाइन्छ । सम्बन्धविच्छेद गर्ने यस प्रकारका दम्पतीले विभिन्न कृत्रिम बहानाबाजी गरेर सम्बन्धविच्छेदको माग गरी अदालतमा मुद्दा दायर गर्ने गरेका छन् । तर, अदालतले सम्बन्धविच्छेद गर्ने दम्पतीका भित्री रहस्यका विषयमा बोल्न नमिल्ने बताउँछ ।

मुस्ताङमा सम्बन्धविच्छेदका कृत्रिम मुद्दा लिएर कानुनी रूपमा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या वर्षेनि वृद्धि भइरहेको छ । कानुनी रूपमा पूर्वसल्लाह र सहमति गरी यहाँका कतिपय सम्बन्धविच्छेद गर्ने दम्पतीले अमेरिका र युरोपलगायतका देशमा जानका लागि ‘डिपेन्डिङ भिसा’ प्राप्त गर्न यस्तो गरिरहेको मुस्ताङका जानकारहरू बताउँछन् । युरोप र अमेरिका गएर आर्थिक उपार्जन गरी जीवन समृद्ध बनाउने सपना देखेका यहाँका विवाहित दम्पतीले श्रीमान्सँग व्यवहारिक रूपमा नभई कानुनी रूपमा मात्र अलग्गिएर लाखौँ रुपैयाँ खर्चिएर डिपेन्डिङ भिसा प्राप्त गर्ने परिपाटीले मुस्ताङ अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी मात्रामा दर्ता हुन पुगेको जानकारहरूको बुझाइ छ । तर, मुस्ताङ अदालतले सम्बन्धविच्छेद गर्ने दम्पतीहरूको आन्तरिक विषयमा विश्लेषण गर्न नमिल्ने जनाएको छ ।

मुस्ताङमा सडक सञ्जाल सहज हुँदै गएको र यहाँ कृषि तथा पर्यटनमा अथाह सम्भावना हुँदा हुँदै पनि यहाँका नागरिक विदेश पलायन हुने क्रम रोकिएको छैन । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङमा विदेश जाने क्रम नरोकिँदा गाउँमा युवापुस्ताको अभाव हुन थालेको बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया