अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल

‘करुणा होइन, समान अवसर देऊ’

समाधान संवाददाता २०८१ चैत १३ गते ५:४१

पोखरा । गण्डकी प्रदेश सभामा अपांगता भएकी सुनिता थापा सांसद बनेपछि दोभाषेको व्यवस्था भएको छ । अपांग भएका व्यक्तिका लागि प्रदेशले छुट्टै ऐन नै बनाउँदै छ । गण्डकी सरकारले चैत १० गते अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएको थियो ।

विधेयकमाथि बुधबार सैद्धान्तिक छलफल भयो । छलफलमा सांसद थापाले आफूहरुलाई करुणा होइन, समान अवसर चाएिको बताइन् । उनले भनिन्, ‘हामीलाई सहानुभूति होइन, व्यवहारमा कार्यान्वयन चाहिन्छ । हामीलाई परोपकार होइन, राज्यले सुनिश्चित गर्ने कानुनी अधिकार चाहिन्छ ।’

अपांगता भएकाहरु सक्षम नागरिक बन्न चाहे पनि राज्यका संरचना अझै पनि अपांगमैत्री नरहेको उनको गुनासो छ । अहिले प्रदेशले ल्याएको विधेयकमा धेरै सकारात्मक प्रावधान रहेको उनको भनाइ छ । आत्मनिर्भरता र सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने विधेयकलाई अझ सशक्त बनाउन उनको सुझाव छ । ‘अपांगता कमजोरीको आधारमा नभई मानव अधिकारको दृष्टिकोणबाट परिभाषित हुनुपर्छ,’ उनले भनिन्, ‘अपांगता कमजोरी होइन, समाजले सिर्जना गरेको असमान संरचनाले निम्त्याएको चुनौती हो ।’

Advertisement

सांकेतिक भाषा अनुवादकको व्यवस्था हुनुपर्ने, भाषा अधिकार र सांकेतिक भाषा अनुसन्धान, विकास तथा तालिम केन्द्र, सांकेतिक भाषा शब्दकोशको पूर्णता लगायतको माग उनले गरेकी छन् । ‘सांकेतिक भाषा अनुसन्धान, विकास तथा तालिम केन्द्र स्थापनाको पहल गर्नुपर्छ, यौनजन्य हिंसा र घरेलु हिंसाबाट बचाउन विशेष सुरक्षा संयन्त्र बनिनुपर्छ,’ उनले भनिन्, ‘रोजगारी ऐनमा न्यूनतम ५ प्रतिशत कोटा सुनिश्चित गर्नुपर्छ । स्वरोजगार, उद्यमशीलता, सहुलियत ऋणको पहुँच विस्तार गर्नुपर्छ ।’ सार्वजनिक भवन, यातायात, डिजिटल प्रविधिलाई अपांगता मैत्री बनाउनुपर्नेमा उनको जोड छ ।

छलफलमा सीताकुमारी सुन्दास, दमयन्ती रुचाल, टीकाकुमारी बस्याल, देवका पहारी, सरस्वती गुरुङ र भक्तबहादुर कुँवरले भाग लिएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपांगता भएकाको संख्या ६ लाख ४७ हजार ७ सय ४४ छ भने गण्डकी प्रदेशमा ७२ हजार ३ सय ३० छ । कति अपांगता भएका व्यक्तिहरू अझै परिचयपत्र विहीन र राज्यको तथ्यांक बाहिर रहेको सांसद थापाले बताइन् ।

Advertisement

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री विन्दुकुमार थापाले विधेयकले अपांगता भएका व्यक्तिहरुको पहिचान, वर्गीकरण, परिचयपत्र व्यवस्थापन, सीप विकास, रोजगारी, स्वरोजगार जस्ता विषयलाई समेटेको जनाए । गण्डकी सरकारले यो वर्ष अपांगता भएका व्यक्तिहरुको सशक्तीकरणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया