पोखरामा आजबाट पहिलोपटक अटो सो

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा आजदेखि पहिलो पटक ‘नाडा प्रिजेन्टस् वाडा अटो सो २०२५’ सुरु हुँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)को संयुक्त आयोजनामा अमरसिंह माविको खेल मैदानमा हुने सो १७ गतेसम्म चल्नेछ । पोखरा महानगरका मेयर धनराज आचार्यले यसको उद्घाटन गर्ने तय छ ।
वाडा उपाध्यक्ष एवं अटो सो २०२५ संयोजक निरन केसीका अनुसार गण्डकी प्रदेशमा सवारी साधन क्षेत्रको विस्तार, प्रवद्र्धन तथा आधुनिक प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, प्रविधि, सेवा प्रदायक, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय संस्था तथा सम्बन्धित क्षेत्रका व्यवसायीको उल्लेखनीय उपस्थिति रहनेछ ।
प्रदर्शनीमा १९ ब्रान्डका चारपांग्रे, ६ ब्रान्डका लाइट कमर्सियल, ७ ब्रान्डका दुईपांग्रे सवारी साधन प्रदर्शन गरिनेछन् । २० स्टलमा लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायकका सामग्रीसमेत राखिनेछन् । ४ दिनमा ३५ हजारभन्दा धेरैले अटो सो अवलोकन गर्ने आयोजकको अनुमान छ । कोइरालाका अनुसार प्यासेन्जर सवारीमा लिपमोटर, डिपल, ओमोडा, बिवाइडी, नामी, एमजी, टाटा, किया, टोयोटा, स्काइवेल, जिकर, निसान, इसुजु, सुजुकी, महिन्द्रा, रिडारा, एक्सपेङ, कायी र सेरेस सहभागी हुँदै छन् । यस्तै, लाइट कमर्सियलमा कामा, यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ ब्रान्ड सहभागी हुँदै छन् । दुई पांग्रेतर्फ बजाज, एथर, टिभिएस, यामाहा, ट्राइम्फ र रोयल इन्फिल्डले स्टल राख्नेछन् ।
सवारी साधन सुरक्षासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सडक सुरक्षा तथा ट्राफिक नियम पालनासम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । पोखरा लायन्स क्लबको सहकार्यमा चैत १५ गते रक्तदानसमेत आयोजना गरिनेछ । यो अटो सोले गण्डकी प्रदेशमा सवारी साधन क्षेत्रको बजारीकरण, प्रविधि हस्तान्तरण तथा नवप्रवर्तनका लागि प्लेटफर्म उपलब्ध गराउने विश्वास गरिएको छ ।
बुकिङका लागि विशेष अफर

दीपेन्द्र कोइराला
अध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)
अटोमोबाइल उद्योगको भविष्य, नवीनतम प्रविधि र व्यवसायी, उपभोक्ताबीचको संवादलाई प्रवद्र्धन गर्ने उद्देश्यले अटो सो आयोजना गरिएको हो । हाल अटो व्यवसाय आर्थिक मन्दीको चपेटामा परेको छ । जसले व्यवसायीलाई कठिनाइ बनाएको छ । अटो सोले आर्थिक गतिविधि बढाउन र व्यवसायीलाई नयाँ सम्भावना देखाउन मद्दत गर्ने विश्वास लिएका छौं । स्टल बुकिङ खुला गरेपछि छोटो समयमा नै सबै स्टल भरिएका छन् । पोखरा पर्यटन र व्यापारिक केन्द्र भएकाले अटो सोमा दर्शकको उल्लेख्य सहभागिता रहनेछ भन्ने विश्वास छ । सोमा विशेष अफरहरूसहित गाडी बुकिङ गर्ने अवसरसमेत उपलब्ध छ । पोखरालाई अटोमोबाइल उद्योगको केन्द्र बनाउने लक्ष्यसहित आयोजना गरिएको यस सोमा सहभागी भई लाभ उठाउन म सबैलाई अनुरोध गर्दछु ।
उद्योग, पर्यटन र व्यापारको नयाँ उचाइ लिनेछ

विनय थापा
महासचिव, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)
पोखरामा पहिलो पटक ‘वाडा अटो सो २०२५’ हुँदा हामी अत्यन्तै उत्साहित छौं । पोखराको पर्यटन, व्यापार र अटोमोबाइलप्रति नागरिकको चासोलाई ध्यानमा राख्दै अटो सो आयोजना गरेका हौं । नेपालमा चलेका प्रायः सबै अटोमोबाइल ब्रान्डको सहभागिता यसमा रहनेछ । २० भन्दा बढी चारपांग्रे सवारी ब्रान्ड, दुईपांग्रे सवारी, कम्पोनेन्ट कम्पनी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी लगायत विभिन्न क्षेत्रको उपस्थिति रहनेछ ।
अटो सोले पोखरालाई अटोमोबाइल उद्योगको केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना राख्छ । यसले पर्यटन, होटल, यातायात र व्यापारमा सकारात्मक प्रभाव पार्नेछ । अटो व्यवसायीमा समेत ठूलो उत्साह देखिएको छ । अटो सोले ब्रान्ड तथा ग्राहकलाई एकै स्थानमा जोड्नेमात्र नभई नयाँ प्रविधि अवलोकन गर्ने अवसर पनि प्रदान गर्ने छ । हामी सम्पूर्ण पोखरावासी तथा अटोप्रेमीलाई अटो सोमा सहभागी भई नयाँ मोडेल तथा प्रविधि नजिकबाट अनुभव गर्न निमन्त्रणा गर्दछौं । टिकट खती एपमार्फत खरिद गर्न मिल्छ । सफल आयोजनाका लागि सहयोग गर्ने सबै साझेदार, व्यवसायी र स्थानीय समुदायप्रति आभार व्यक्त गर्दछौं ।
अटोमोबाइल उद्योगको नयाँ युग

निरन केसी
उपाध्यक्ष एवं अटो सो संयोजक
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)
पोखरामा पहिलो पटक आयोजना हुन लागेको ‘वाडा अटो सो २०२५’ अटोमोबाइल उद्योगका लागि ऐतिहासिक अवसर बन्नेछ । यो अटो शोले नेपाली अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूलाई एउटै थलोमा प्रस्तुत गर्ने छ । विशेषगरी विद्युतीय सवारीसाधन (इभी)को बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै यस सोमा इभी ब्रान्डहरूको बाहुल्य रहनेछ । नेपालमा इभी बजार तीव्र गतिमा विस्तार भइरहेको छ ।
ग्रीन टेक्नोलोजीप्रति उपभोक्ताको आकर्षण बढेको छ । जसले गर्दा विद्युतीय सवारीलाई प्राथमिकता दिइएको छ । पोखराको व्यापारिक तथा पर्यटन गतिविधिलाई प्रवद्र्धन गर्दै यो अटो सोले स्थानीय अर्थतन्त्रमा समेत योगदान पु¥याउने हाम्रो विश्वास छ । अटोमोबाइल उद्योगको वृद्धि र नवप्रवर्तनलाई समर्थन गर्दै यस कार्यक्रमले भविष्यमा पोखरालाई अटोमोबाइल प्रदर्शनीको मुख्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
यसलाई सिग्नेचर प्रोजेक्ट बनाउँछौं

अशोक चालिसे
कोषाध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)
लामो समयको प्रयासपछि हामी पोखरामा ‘अटो सो’ आयोजना गर्दै छौँ । यसलाई भव्य बनाउन हामी सक्रियताका साथ लागिरहेका छौं । अटो सोमा करिब १ सय भन्दा धेरै गाडी डेलिभरी हुन्छन् भन्ने अपेक्षा गरेका छौं । त्योभन्दा धेरै संख्यामा गाडी बुकिङ हुनेछन् । टु ह्विलर्समा पनि उल्लेख्य मात्रामा डेलिभरी हुनेछन् । काठमाडौंमा आयोजना हुने नाडा अटो सो पछिको देशकै ठूलो अटो शो बन्नेछ । ब्रान्डहरूले आकर्षक अफर घोषणाको तयारी गरेकाले पनि गाडी खरिद र बुकिङमा आकर्षण देखिने विश्वास गर्न सकिन्छ ।
अटो सोले आर्थिक गतिविधि चलायमान बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ । काठमाडौंमात्र नभई काठमाडौं बाहिर पनि अटो सो सफलताका साथ सञ्चालन हुन्छन् भन्ने सन्देश पनि वाडा अटो सोले दिनेछ । पोखरा भ्रमण वर्ष २०२५ घोषणा भएको सन्दर्भमा यहाँको पर्यटकीय गतिविधि बढाउन पनि अटो सो सफल हुनेछ । अटो सोलाई सिग्नेचर प्रोजेक्टका रुपमा अगाडि बढाउने र आगामी दिनमा पनि निरन्तरता दिने तयारीमा हामी छौं ।
अटो क्षेत्रका लागि कोशेढुंगा

सन्ध्या पौडेल
कार्यसमिति सदस्य, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)
पोखरामा अटो सो आयोजना गर्न पाउँदा हामी धेरै हर्षित छौं । पोखरामा हुने अटो सो नेपालको अटो क्षेत्रका लागि कोशेढुंगा बन्नेछ । अटो क्षेत्रमा भएका नवप्रवर्तन, प्रविधि र गतिशीलताको भविष्यको उत्सव बन्नेछ अटो सो । विद्युतीय सवारी साधन, स्मार्ट गतिशीलता र दिगो अटोमोटिभ समाधानका क्षेत्रमा भएका नवीनतम प्रविधिको प्रदर्शनी यहाँ हुनेछ ।
विद्युतीय सवारी साधन, स्मार्ट गतिशीलता, दीगो अटोमोटिभ समाधनामा नवीनतम प्रगति प्रदर्शन गर्न अग्रणी अटोमोबाइल निर्माता, उद्योग विशेषज्ञ र प्रविधिलाई एकै स्थानमा ल्याउने हाम्रो अपेक्षा छ । पोखरा अब विश्वव्यापी अटोमोटिभ स्पटलाइनमा अगाडि बढेको छ । अटो सो सवारी पारखी, उत्साही र उपभोक्तालाई अटोमोटिभ संसारमा नयाँ सम्भावना अन्वेषण गर्न प्लेटफर्म बन्नेछ । यहाँका पर्यटकीय गतिविधि बढाउन पनि अटो सोको प्रत्यक्ष योगदान रहनेछ । अटो क्षेत्रमा विशेष चासो राख्नुहुने सम्पूर्णलाई म अटो सो अवलोकन गर्न आग्रह गर्दछु ।
यसलाई पोखराको ब्रान्ड बनाउनुपर्छ

ध्रुव थापा
निवर्तमान अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
यो गण्डकीमात्र नभएर नेपालको पश्चिम क्षेत्रकै पहिलो अटो सो हो । यसले गण्डकी प्रदेशको आर्थिक र आन्तरिक तथा बाह्य पर्यटन चलयमान बनाउन यसले सघाउन पु¥याउनेछ । गण्डकी प्रदेश भनेको भारत र चीन जोड्ने महत्वपूर्ण क्षेत्र हो । अटो मोबाइलको हब काठमाडौंपछि गण्डकीको राजधानी पोखरा नै हो । त्यसैले यसलाई हामीले यो पटक सफल बनाउन सकियो भने भोलिका दिनमा यसलाई काठमाडौंमा जसरी नै पोखरामा ब्रान्ड बनाउन सकिन्छ ।
काठमाडौंपछि पोखरामा अटो सो हुन्छ भनेर ब्रान्ड बनाउनका लागि सबैले यसलाई सफल बनाउन लाग्नुपर्छ । सोमा अटोमोबाइलमा चासो राख्नेहरुका लागि २ पांग्रे, ४ पांग्रे गाडी अनि स्पेयर पार्ट्सका सर्भिस, एक्सचेन्ज, बैंकिङ, इन्स्योरेन्स एकै ठाउँबाट दिन पाइने व्यवस्थाले फाइदा पनि पुग्छ । सबैका विषयमा एक पटक बुझ्नका लागि एक पटक सो अवलोकनका लागि आग्रह गर्न चाहन्छु । साथै, आगामी दिनमा यसलाई ब्रान्डिङ बनाएर लैजानका लागि सुविधा सम्पन्न र स्थायी प्रदर्शनी स्थल बनाइदिनका लागि स्थानीय र प्रदेश सरकारसँग आग्रहसमेत गर्दछु ।
तपाईको प्रतिक्रिया