
जोमसोम ।
कोरला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक अन्तर्गत मुस्ताङको कोवाङ जोमसोम कालोपत्र सडकमा ठेकेदार कम्पनीले चरम ढिलासुस्तीले गर्दा ७ वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । राष्ट्रिय गौरवको सडक अन्तर्गत २०७३/०७४ मा ठेक्का सम्झौता भएकोमा बेनी—जोमसोम चौथो खण्ड सम्बन्धित निर्माण कम्पनीले ढिलासुस्ती गर्दा अलपत्र बनेको हो ।
कोरला जोड्ने बेनी जोमसोम ७४ किलोमिटर सडकमध्ये सबैभन्दा बढी ढिलासुस्ती कोवाङ जोमसोम १७ किमी सडकमा हुन पुगेको छ । कोवाङ—जोमसोम सडक कालोपत्र तथा आवश्यक सडक संरचना निर्माणका लागि पप्पु—गौरी पार्वती—कोशी एन्ड न्यौपाने जेभीले त्यस समयमा ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो ।
उक्त सडकमा भौगोलिक विषमता, कोरोना महामारी लगायतका विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले सडक निर्माण कार्यमा चरम ढिलासुस्ती गर्दै आएको छ । कोवाङ जोमसोम १७ किमी अस्फाल्ट सडकको यसअघि ६ पटकसम्म म्याद थप भइसकेको छ । सडकको पछिल्लो पटक थपेको म्यादसमेत चालु वर्षको २२ असोजसम्म मात्रै थियो ।
सुरुवाती चरममा जेभी कन्ट्रक्सनमध्ये सडक कालोपत्रको काम गर्दै आएको कोशी एन्ड न्यौपाने जेभीले सडक निर्माणको काम गर्न नसकेपछि जेभीको मुख्य प्रतिनिधित्व गर्ने गौरी पार्वतीले कोवाङ जोमसोम सडक कालोपत्र गर्ने काममा फर्किएको थियो । ठेक्का सम्झौता गरेको ६ वर्ष बितिसक्दा समेत मुस्ताङको कोवाङ—जोमसोम १७ किमी कालोपत्र प्याकेज सम्पन्न हुन नसक्दा स्थानीय नागरिक र सवारी साधनले निकै नै सास्ती व्यवहोर्न बाध्य हुनु परेको छ ।
कालोपत्र गर्ने कामलाई पूर्णता दिन फर्किएको मुख्य जेभीले समेत कोवाङ जोमसोम सडक निर्माण कार्यमा विलम्ब गरिरहेको छ । आयोजनाले पटक पटक तोकता गर्दासमेत निर्माण कम्पनी काममा नफर्किदा आयोजनाले ५ महिनाअघि कम्पनीलाई कारवाहीको प्रक्रियासमेत अघि बढाइसकेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईले जानकारी दिए ।
मुस्ताङको घासादेखि कागबेनी र मुक्तिनाथसम्म कालोपत्र भइसक्दा मार्फादेखि जोमसोम सम्मको सडक अलपत्र
पटक पटक म्याद थप भइरहेको र पछिल्लो म्यादसमेत असोज महिनामा सकिएकाले निर्माण कम्पनीलाई कुल ठेक्का लागतको दैनिक (०.०५) प्रतिशत हर्जाना लाग्ने गरी तोकेर विभागीय कारवाही समेत अघि बढाइसकेको आयोजनाका सूचना अधिकारी चापागाईको भनाइ छ । सार्वजनिक खरिद नियमावलीको मापदण्ड उल्लेख गरिए अनुसार कानुनी प्रावधान अनुसार तोकिएको दैनिक जरिवाना प्रतिशतका हिसाबले ३ लाख ११ हजार हुनआउँछ ।
यो जरिवाना तोकिए अनुसार हालसम्म निर्माण कम्पनीले लाखौं रुपैयाँ आयोजनालाई बुझाउनुपर्ने देखिन्छ । यो जरिवानाको समय अवधि २ सय दिन हुने र त्यस अवधिसम्म काम सम्पन्न नगरेमा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर स्वतः ठेक्का सम्झौता भंग हुने आयोजनाले जनाएको छ ।
आयोजनाले निर्माण कम्पनीलाई दैनिक जरिवाना रकम तोकेको ५ महिनापछि अहिले निर्माण कम्पनी कार्यस्थलमा फर्किएको आयोजनाका सूचना अधिकारी चपागाईले सुनाए । बेनी जोमसोम सडकमा ४ खण्डमध्ये कोवाङ जोमसोम कालोपत्र सडकको भौतिक प्रगित ९० प्रतिशत पुगेको आयोजनाका सूचना अधिकारी चापागाईले जनाए ।
‘सम्बन्धित निर्माण कम्पनीलाई विभागीय कारवाहीका लागि प्रक्रिया अघि बढिसकेको भएप नि विभागबाट त्यस ठोस निश्कर्ष नआइसकेको सूचना अधिकारी चापागाईले उल्लेख गरे । ‘निर्माण कम्पनी काममा फर्किएको छ, केही स्थानमा सडक स्टक्चरका काम सुरु गरेको छ,’ सूचना अधिकारी चापागाईले भने, ‘निर्माण कम्पनीले तीव्रता दिएर काम गरेमा एक महिनाभित्रै कालोपत्र सडकको काम सकिन्छ, हामीले पनि निर्माण कम्पनीको कामलाई निरन्तर फलो गरिरहेका छौं ।’
कोवाङ जोमसोम १७ किमी सडकमध्ये १२ किमी सडकको अस्फाल्ट कालोपत्र भइसकेको छ । जस अन्तर्गत मार्फा जोमसोम ४ किलोमिटर र थासाङ १ टुकुचेमा करिव १ किलोमिटरमासडक स्तरोन्नति बाँकी छ ।
बाँकी सडकमा कालोपत्रका लागि स्टक्चर लगायतको काम सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । कोवाङ—जोमसोम सडक चालु आर्थिक वर्षभित्रै सकिने गरी निर्माण कम्पनीको ध्यानाकर्षण गराईएको आयोजनाका सूचना अधिकारी चपागाईले उल्लेख गरे ।
उनले कालोपत्र गर्न बाँकी रहेको स्थानमा सबग्रेड मिलाएर सबबेस र बेसको काम हुने जनाए । त्यसपछि बाँकी रहेका स्थानमा प्राइम कोड गरी अस्फाल्ट कालोपत्र गर्ने योजना छ । मुस्ताङको घाँसादेखि कागबेनी र मुक्तिनाथ सडकसम्म कालोपत्र सकिँदा मार्फादेखि जोमसोम¬सम्मको सडक कालोपत्र हुन बाँकी छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया