२२५ जनाको आँखा जाँच

पोखरा ।
नेपाल नेत्रज्योति संघको ४७ औं वार्षिक स्थापना दिवसको अवसरमा बुधबार पोखरा–१७ मा ज्येष्ठ नागरिकको सित्तैमा आँखा जाँच गरिएको छ । शिविरमा २ सय २५ जनाको आँखा परीक्षण गरिएकोमा ६ जनालाई मोतिविन्दुको शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल रिफर गरिएको छ ।
उनीहरुको अस्पतालमा सित्तैमा शल्यक्रिया हुनेछ । शिविरमा एक सय ५० जनालाई आवश्यक चश्मा वितरण गरिएको थियो भने बाँकी केहीलाई चश्मा र औषधी दुवै सित्तैमा प्रदान गरिएको थियो । पोखरा महानगरपालिका वडा नम्बर १७ को सहकार्यमा नेपाल नेत्रज्योति संघ गण्डकी र संघको जिल्ला शाखा कास्कीले शिविर आयोजना गरेका हुन् ।
कार्यक्रममा संघ गण्डकी प्रदेश अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले छोराछोरी व्यस्त हुने र विदेश पलायन हुँदा वृद्धवृद्धाहरुको दैनिकी कष्टकर हुँदै गएको औंल्याए । उनले यस्तो अवस्थामा थोरै भए पनि ज्येष्ठ नागरिकलाई आँखा उपचारमा सहज होस् भनी शिविर आयोजना गरिएको उल्लेख गरे ।
पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले स्थानीय सरकार र अस्पताल दुवैको साझा दायित्वमा जनतालाई स्वास्थ्यको अधिकार उपलब्ध गराउने कुरा पर्ने उल्लेख गरिन् । नेत्रज्योति संघ कास्की कोषाध्यक्षसमेत रहेकी उनले गण्डकी र कर्णालीको आँखाको ज्योति बनेको हिमालय आँखा अस्पतालले जनतालाई यथासक्य सेवा प्रदान गरिरहेको उल्लेख गरिन् ।
नेत्रज्योति संघ कास्की शाखा अध्यक्ष डा नन्दु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर डा बबिता गुरुङ, ज्येष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्ष टोपराज ढुंगाना लगायतले बोलेका थिए ।
शिविरमा आँखा बिझाउने, मासु पलाएका, मोतिविन्दुको सुरुआत, आँखाको एलर्जी लगायतका समस्या बिरामी आएको हिमालय आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीले बताए ।
तपाईको प्रतिक्रिया