मोजाको बलदेखि रिपोर्टिङ गर्न विश्वकपसम्म

नेपालले सन् २०१४ मा आइसिसी टी २० विश्वकप खेल्दा प्यूठानका भूपेन्द्र जिसी क्रिकेट खेल्नलाई गाउँमा वालुवा र गिट्टी बोक्थे । दोस्रो पटक नेपालले २०२४ मा टी २० विश्वकप खेल्दा उनले अमेरिका पुगेर रिपोर्टिङ गरे । क्रिकेट खेल्नेदेखि विश्वकप रिपोटिङसम्मको उनको यात्रा संघर्षपूर्ण र प्रेरणादायी छ ।
आमा देवी र बुवा खड्कबहादुर जिसीका छोरा भूपेन्द्र २०५५ मंसिर ७ मा झिमरुक ४ (साविक वाङ्गे–२) मा जन्मिएका थिए । आफ्ना २ दाइ नयाँदिल्ली भएकाले उनी २०११ मा त्यहाँ पुगे, त्यो समय भारतमा एकदिवसीय विश्वकप चलिरहेको थियो । एक महिना बसेर उनी गाउँ आए । क्रिकेट खेल्न मन लाग्यो । दुई, तीन जना साथी मिलेर मोजाको बलm सिमलको काठको ब्याट र लौराको स्टम्प बनाएर गाउँमै पहिलो पटक उनले क्रिकेट खेल्न सुरु गरे ।
कापी, कलम किन्न मुस्किल भएकाले उनी आमासँग खेल्नलाई पैसा माग्न सक्दैनथे । त्यसैले बल किन्नलाई वालुवा, गिट्टी बोक्न थाले । त्यो बेला एक पाथी बालुवाको ८–९ र गिट्टीको तीन, चार रुपैयाँ पाउँथे । एक पटकमा ६/७ पाथी वालुवा बोक्थे । तीन, चार दिन बोकेपछि त्यति बेला चलेको वोल्डटप टेनिस बल एक समय रुपैयाँमा किने ।
उनी पढ्न लक्ष्मी माध्यमिक विद्यालय बाङ्गेफेदी जान्थे । स्कुलकै छेउमा गर्तङ खोला थियो । साथीभाइले देख्छन् कि भनेर किताबसँगै झोलामा वालुवा बोक्ने बोरा र नाम्लो लुकाउथे । क्रिकेट खेल्ने रहरले १३, १४ वर्षको उमेरमा भोकै पेट तपतप चुहिने चिसो पानीसहितको बालुवा बोकेर एक घण्टा उकालो चढ्थे । पछि घरकाले त्यसरी वालुवा बोकेर आउछ भनेर थाहा पाएपछि रोक्न खोजे । तर, उनले काम छाडेनन् ।
गाउँमा क्रिकेट नजानेका तर, रहरले खेल्नेहरुले हावामा सट खेल्दा बल हराउँथ्यो । बल हराए पनि अर्को दिन फेरि किनेर ल्याउथे । १० दिन वालुवा बोकेर पाएको पाँच सय रुपैयाँले ब्याट किनेकै दिन भाँच्चियो । त्यसपछि उनलाई फेरि ब्याट किन्न मन लागेन । बलियो काठको ब्याट बनाएपछि लामो समयसम्म टिक्यो । दुई जनाबाट सुरुवात गरेको क्रिकेट गाउँमै तीन टोली बनिसकेको थियो । बाहिर प्रतियोगिता खेल्न जान पहिला घरको सबै काम सक्नु पर्दथ्यो । नत्र घरमा गाली सुन्नु पर्दथ्यो । उज्यालो नहुँदै घरको काम सकेर गाउँभरका साथी बटुलेर चार, पाँच घण्टा टाढा रतनमारेदेखि दिहाल्नाचौरसम्म उकालो बाटो हिडेर प्रतियोगिता खेल्न जान्थे उनी ।
टिम दर्ता गर्न महाभारत पर्ने उनसँग खाने पैसा हुँदैन थियो । दिनभरी भोकै पेटमा खेलेर फर्किन्थे । टिम सेमिफाइनल वा फाइनल पुगे फेरि त्यसरी नै जाउने आउने गर्नु पर्दथ्यो । खेल्न जानुअघि घरमा अनिवार्य घाँस काट्नु पर्दथ्यो । नत्र बेलुका खाना खान पाउँदैनथे । उनको क्रिकेटप्रतिको पागलपन देखेर लक्ष्मी माविका चेतमान जिसीले ‘क्रिकेट अफ फादर’ नाम राख्दिए । पछि स्कुलमा सबैले त्यहीँ नामले बोलाउन थाले ।
‘प्यूठानको दुर्गम त्यो क्षेत्रमा जहाँ त्यति बेला क्रिकेटको ज्ञान कसैलाई पनि थाहा थिएन । उनले क्रिकेट भित्र्याए र सबैलाई सिकाए । खेल्नमात्रै होइन, देश, विदेश, क्रिकेटका सबै टेक्निकल कुरा उनलाई थाहा हुँदा मैले उक्त नाम राख्दिएको थिए,’ चेतमान जिसी भन्छन् ।
सन् २०१४ मा नेपाल पहिलोपटक टि २० विश्व कपमा पुगेपछि गाउँकाले पनि सोधपुछ गर्न थालेका थिए । टिभी भएका घर गाउँमा दुई, चारमात्र थिए । गाउँमा फेरि त्यो बेला फिल्म र सिरियलको लहर थियो । त्यो छाडेर क्रिकेट हेर्न दिन कसैले मान्दैनथे । टिभी भएका घरका मान्छे रिसाउथे । तर, पनि उनीहरुलाई अनुरोध गरेरै उनी विश्वकप हेर्थे ।
यसरी उनको बाल्यकाल बित्यो । सन् २०१६ मा उनी काठमाडौं आए । प्रिसियस नेसनल एकेडेमीमा बिहान पढेपछि रात नपर्दासम्म सोसल ग्रान्ड नयाँ बजारमा क्रिकेट खेल्थे । धुुलो र घामले डढेर बेलुका फर्किदा कहिलेकाँही उनलाई आफ्नैले चिन्दैनथे । खेल नहुँदा टियुमा नेपाली खेलाडीको प्रशिक्षण हेर्न जान्थे । दिनभरी दर्शकदीर्घामा प्रशिक्षण हेरेर फर्किन्थे ।
खेल्नमात्रै होइन, समाचार सुन्न र पढ्न सानैदेखि रमाइलो मान्थे । पत्रकार विनोद पाण्डेले लेखेका क्रिकेटका समाचारले उनलाई झन प्रेरित गथ्र्याे । भर्ती हुने सोचका साथ काठमाडौं छिरेका उनी तालिममा ९ महिनासम्म क्रिकेट खेल्न पाइदैन भनेर पुलिसमा जागिर नखाने निर्णय लिए । २०१६ मा नामिबियाले नेपालमा आएर खेल्दा उनले टियुको दर्शकदीर्घाबाट हेरे । उनलाई त्यही दिन नै एक दिन पत्रकार बनेर भित्रबाट खेल हेर्ने रहर पलायो ।
पत्रकारिता पढेका उनलाई विस्तारै त्यता रुचि बढ्न थाल्यो । घरमा आएर आफैं कापीमा समाचार लेख्थे र उक्त विषय पढाउने पुष्पलाल पाण्डेलाई देखाउथे । पाण्डेले प्रभावित हुँदै कुनै मिडियामा काम गर्न सुझाए । त्यसपछि उनले २०१७ मा अर्थ र व्यापारबाट काम गरे । एक वर्षमै अर्थ र व्यापार २०१७ को वर्ष उत्कृष्ट कर्मचारी घोषित भए । तर, क्रिकेटको समाचार लेख्न नपाइने भएपछि त्यहाँ छाडेर गतिशील खबरमा गए । बिए रत्नराज्य लक्ष्मी क्याम्पसमा बिहान पढेर दिउँसो अनामनगर काममा जान्थे ।
त्यहाँ खेलकुदको समाचार लेखे पनि खेलाडी वा संघ, संस्थामा फोन गर्दा उठ्दैनथ्यो । उठीहाल्यो भने पनि आफ्नो परिचय दिइरहन पर्दथ्यो । कम्तीमा फोन गर्दा आफ्नो परिचय दिईरहन नपरोस् र आफूले लेखेको समाचार धेरैले पढ्नुपर्छ भन्ने मनसाय थियो । ठूलो मिडियामा काम रहर जाग्यो । तर, सहज भने थिएन ।
त्यतिबेला नेपाली क्रिकेटको अवस्था अहिले जस्तो थिएन । २०१८ मा डिभिजन २ खेल्ने नेपालले वर्षमा एक, दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्थ्यो ।सबै खेलको रिपोर्टिङ गर्नु पथ्र्यो । क्रिकेटका अनलाइनबाहेक अन्यमा काम गर्न सबै खेलकुद लेख्नुपथ्र्याे । तर, भूपेन्द्र क्रिकेटमै फरक गर्न चाहन्थे ।
एक दिन हाम्रो खेलकुदका सम्पादक प्रकाशलाई भेटर क्रिकेटमा देखेको सपना उनले सुनाए । भूपेन्द्रको अपेक्षा प्रकाशले कुनै राम्रो मिडियामा कुरा गर्दिन्छन् कि भन्ने थियो । तर भूपेन्द्रको कुराबाट प्रभावित भएर हाम्रो खेलकुदमै काम गर्न उनले अवसर दिए ।
भूपेन्द्र१७–१८ वर्षको भए पनि उसको कुरामा क्रिकेट प्रतिको टेक्निकल ज्ञान, लगाव र नशा एकदमै धेरै देखिन्थ्यो । पछि नेपाली खेलकुद पत्रकारिता इतिहासकै छोटो समयमै ठूलो फड्को मार्ने उदाहरणीय युवा पत्रकार बने उनी । दुई, तीन वर्षमै उनले नेपालको शीर्ष क्रिकेट पत्रकारमा आफूलाई स्थापित गरे ।
क्रिकेटमात्रै लेख्न पाउने उनी नेपालमा सम्भवतः पहिलो पत्रकार थिए । खुसीको त सीमा नै रहेन । तर राम्रो समाचार नखेलेर धेरै समय मौका नपाउने डर थियो । त्यसपछि भोक, तीर्खा, निद्रा केही नभनी क्रिकेटमा लागे । हिँड्दा, सुत्दा, खेल्दा पढ्दा जे गर्दा पनि उनको तनमन क्रिकेटमा थियो । उनलाई क्रिकेट समाचार लेख्न पाए हुन्थ्यो । सिनियर र अन्तर्राष्ट्रिय मिडियाको लेखाई हेर्थे ।
जित र हारको नतिजालाई फरक शैलीमा प्रस्तुत गर्न थाले । अझ हार र जित कारण, नतिजा टर्निङ प्वाइन्ट, खेलाडी र टिमको कमजोरी, स्टोरी र खेलाडीको जीवनी फरक शैलीमा प्रस्तुत गर्न खोजे । क्यान र सम्बन्धित निकायले विवादित काम गर्नुअघि एक पटक सोच्न बाध्य गराउथे । उनीसँग जतिसुकै राम्रो सम्बन्ध भए पनि गलत कुरामा प्रश्न उठाइहाल्थे । उनको निष्पक्ष पत्रकारिता हुनुपर्छ भन्ने सोच थियो । नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्द भूपेन्द्र क्रिकेटको उत्कृष्ट पत्रकार भएको बताउँछन् ।
२०२० सेप्टेम्बर २३ मा ग्रेड विभाजनमा क्यानको गम्भीर लापरवाही शीर्षकमा समाचार लेखेको एक हप्तामै परिवर्तन होस् वा २०२१ मा अनुज चनाराको साथीको जुत्ता र भान्जाको साथमा राष्ट्रिय टोलीको यात्रा स्टोरीपछि उनलाई आर्थिक सहयोगको वर्षा भएको थियो । जुत्तामात्रै होइन, घर नै निर्माण बनेको थियो । त्यस्तै २०२२ अगस्ट ११ मा राष्ट्रिय टोलीबाट डेब्यू गर्न मागेको ब्याट फर्खदै अर्जुन नामको स्टोरी सार्वजनिक भएको दुई मिनेटमै ब्याट सहयोग गर्नेको लर्को लागेको थियो ।
विस्तारै खेलाडी र संघहरुसँग उनको सम्बन्ध बन्न थाल्यो । त्यसैले उनी विशेष सूचना ल्याउन सक्थे । सूचना प्राप्तिमा यतिसम्म शक्तिशाली बनिसकेका थिए कि क्यानले मुख्य प्रशिक्षक नियुक्त गर्न विज्ञापन खोल्नुअघि नै मोन्टी देशाई नेपालको नियुक्त भनेर समाचार ब्रेक गरेका थिए । क्रिकेट खेलाडीको गुट होस् वा मनोज प्रभाकरको राजीनामा, ब्रेक गर्ने उनी नै थिए । यी केही उदाहरणमात्रै हुन् ।
नेपालका अधिकांश मिडियाले उनलाई काम गर्न निरन्तर प्रस्ताव गरे पनि अस्वीकार गर्दै आएका थिए । बारम्बार अफर गरेपछि उनी २०२४ को सुरुवातमै अनलाइनखबरमा आवद्ध भए । अनलाइनखबरमा खेलकुदका सबै विधामा त्यति नै प्रभावकारी रुपमा समाचार प्रस्तुत गरे । २०२१ देखि नै कमेन्टर बनेका उनी अन्तर्वार्ता पनि गर्न थाले । धेरै पत्रकार समाचार डेक्समा पठाएपछि घर जान हतार गर्दथे । भूपेन्द्र आफ्नो समाचार डेक्समै बसेर पोस्ट भएपछि फर्किन्थे । सबै खेलमा त्यति नै प्रभावकारी रुपमा प्रस्तुत भएपछि उनको प्रशसा हुन थाल्यो । अनलाइनखबरबाट नै उनले विश्वकप रिपोर्टिङ गर्न अमेरिका जाने अवसर पाए । ब्यक्तिगत कारण वेस्टइन्डिज भने गएनन् ।
उनी २०२६ को टी २० विश्वकप रिपोटिङ गर्ने सबैभन्दा कान्छो पत्रकारसमेत थिए । ‘क्रिकेटमा मेरा लागि सबै क्षण अविष्मरणीय छन् । तर विश्वकप र २०२३ मा दीपेश कँडेलले युएईमा ह्याट्रिक लिँदै यु १९ विश्वकपमा पुर्याउँदा मैदानमै हुनु मेरो उत्कृष्ट क्षण हुन्,’ भूपेन्द्रले भने ।
तपाईको प्रतिक्रिया