पर्यटन मन्त्री–सिटिएस प्रमुख भेटवार्ता

पोखरा ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स (सिटिएस) प्रमुख जुन यान र उनकी सेक्रेटरी ली शिनबीच पोखरामा भेटवार्ता भएको छ ।
भेटमा सिचुवान एयरलाइन्सले हालै सुरु गरेको पोखरा–छेन्दु चार्टर हवाई उडानले पर्यटन र व्यापार प्रवद्र्धनमा ऐतिहासिक उपलब्धि भएको सम्वन्धमा कुराकानी भएको छ । यसका साथै चीन सरकारले यस उडानलाई विशेष प्राथमिकता दिएको हुँदा यसको दीर्घकालीन सञ्चालनबारे गहन छलफल गरिएको थियो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा–छेन्दु चार्टर उडानले नेपालको पर्यटनमात्र होइन, नेपाल–चीन व्यापारिक सम्बन्धलाई पनि नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको बताए । उनले चिनियाँ पर्यटक पोखरामा मात्र घुम्न आउने होइनन्, होटल, रेस्टुरेन्ट, साहसिक पर्यटन, र स्थानीय उत्पादनमा लगानी गर्ने सम्भावना पनि रहेको विश्वास व्यक्त गरे ।
नेपालका पर्यटन व्यवसायीले अब चिनियाँ पर्यटकलाई लक्षित गर्दै नयाँ प्याकेज, प्रचार–प्रसार, र लगानीका योजनाहरु बनाउनुपर्ने देखिएको मन्त्री बस्यालको भनाइ छ । सिटीएस प्रमुख यानले निजी क्षेत्रको ठूलो चासो देखिएकाले पोखरा–छेन्दु उडानलाई नियमित बनाउन सकिने बताए । उनका अनुसार, चीन सरकारले पोखरालाई पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने योजना बनाएको छ ।
‘चिनियाँ पर्यटक छोटो दूरीका गन्तव्य रोज्छन्। थाइल्याण्ड, हङकङ, मलेसिया जस्ता ठाउँ चीनमा निकै लोकप्रिय छन् । पोखरा पनि अब सोही सूचीमा राख्ने तयारी भइरहेको छ,’ यानले भने, ‘सिचुवान प्रान्तका पर्यटन व्यवसायीहरूले पोखरालाई चिनियाँ पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन चाहिरहेका छन् ।’
सिचुवान प्रान्तले पोखराका लागि १० वटा चार्टर उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । ती उडान सफल भए भने भविष्यमा पोखरा–छेन्दु नियमित हवाई सेवा सञ्चालन गर्ने सम्भावना बलियो हुनेछ । चीनमा जुन–जुलाई महिनामा विद्यालयहरू बिदा हुने भएकाले परिवारसहित भ्रमण गर्ने प्रवृत्ति बढ्छ । चिनियाँ पर्यटकहरू छोटो दूरीमा घुम्न मन पराउने भएकाले पोखरा हङकङ र थाइल्याण्डकै राम्रो विकल्प बन्न सक्छ ।
पहिलो चार्टर उडानबाट चीन गएका नेपाली पर्यटन व्यवसायी तथा सरकारी प्रतिनिधिहरू पनि फर्किसकेका छन्, जसले थप सम्भावनाबारे अध्ययन गरिरहेका छन् । यो उडानसँगै अब पोखराबाट सिधै चीनको छेन्दु पुग्न सकिने सुविधा भने सुरु भएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुनुको अर्थ केवल हवाई यात्रुका लागि सुविधामात्र होइन, यसले पोखरालाई नेपालकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने छ । यो उडानले चिनियाँ पर्यटकहरूको संख्या बढाउनुका साथै होटल, रेस्टुरेन्ट, साहसिक पर्यटन, तथा व्यापारका अन्य क्षेत्रहरूमा समेत लगानी भित्र्याउनेछ ।
नेपाल सरकारले यसलाई देशकै पर्यटन प्रवद्र्धनको प्रमुख उपलब्धिका रूपमा हेर्नुपर्छ । अब, सरकारी तथा निजी क्षेत्र मिलेर यसलाई सफल बनाउन रणनीतिक योजना बनाउने बेला आएको छ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि नै यस्तो ऐतिहासिक उपलब्धिको खोजी भइरहेको थियो ।
तपाईको प्रतिक्रिया