रेडियो अन्नपूर्णले गरेको कार्यक्रममा १ सय ३० युनिट रगत संकलन

समाधान संवाददाता २०८१ चैत १५ गते १८:२४

पोखरा । रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिबार भएको २३ औं रक्तदानमा १ सय ३० युनिट रगत संकलन भएको छ । नयाँ रक्तदातालाई रक्तदानप्रति प्रोत्साहन गर्ने उद्देश्यले रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको खुला रक्तदान कार्यक्रममा पुरुष १ सय १० र महिला २० गरी १ सय ३० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक आरजु विष्ट सल्यानीले बताए ।

Advertisement

६० जना रक्तदाताले पहिलोपटक रक्तदान गरेका छन् । दृष्टिविहीन रक्तदाताले पनि रक्तदान गरे । पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले पहिलो रक्तदाता मञ्जित तिवारीलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान आरम्भ गरेका थिए ।

समाजलाई सुशुचित बनाउँदै सामाजिक उत्तरदायित्वप्रति रेडियोको महत्वपूर्ण भूमिका रहेको उनले बताए । रेडियोकी प्रबन्ध निर्देशक सुनयना पालिखेले सबैको साथ र सहयोगले रेडियोले आफ्नो स्थापना कालदेखि २३ औं संस्करणसम्म रक्तदान आयोजना गर्न सम्भव भएको भन्दै सहयोगका लागि सबैप्रति धन्यवाद व्यक्त गरिन् ।

प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले बर्सेनी रक्तदान आयोजना गरेर रेडियोले आम जनमानसमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्याग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ का जोन चेयरपर्सन श्रीकृष्ण न्यौपाने र निर्देशक बरदान ताङ्व् लामाले बोलेका थिए ।

रेडियोले स्थापना कालदेखि हालसम्म ८ हजारभन्दा बढी युनिट रगत सङ्कलन गरिसकेको महाप्रबन्धक नारायण पौडेलले जनाए । कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया