क्यालेन्डर अनुसार चल्न सकेन प्रदेश सभा, ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ आइतबार

सञ्जय रानाभाट २०८१ चैत १५ गते १८:४७

पोखरा । गण्डकी प्रदेश सभाले पहिलो पटक फागुनमा क्यालेन्डर बनाएर बैठक सञ्चालन गर्‍यो । पहिलो महिनाको सफलतापछि चैत १ देखि २० गतेसम्म अर्को क्यालेन्डर बनायो । तर, चैतका लागि बनाइएको क्यालेन्डर फागुन १५ गते आएर तोडियो ।

Advertisement

शुक्रबारका तय गरिएको मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएपछि क्यालेन्डर अनुरुपको कार्यतालिकामा ब्रेक लागेको हो । फागुनमै प्रकाशित प्रदेश सभाको क्यालेन्डरमा चैत १५ गतेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग प्रश्नोत्तर तय थियो ।

शुक्रबार माओवादीका सांसदहरु अनुपस्थित हुने भएपछि कार्यतालिका हेरफेर गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए । ‘माओवादीबाट निर्वाचित माननीयहरु अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शुक्रबारलाई हटाएर १७ गतेका लागि तय गर्ने कार्यव्यवस्था समितिले निर्णय गरेको छ,’ प्रवक्ता सुवेदीले भने ।

मुख्यमन्त्रीसँग प्रश्नोत्तर नहुनेभएपछि प्रदेश सभाको कार्यसूचीमा शुक्रबार शून्य समय थप गरिएको थियो भने क्यालेन्डरमा उल्लेख नभएको विषयले समेत प्रवेश पाए । ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले विभिन्न मितिमा उठेका प्रश्नहरुको उत्तर दिए ।

‘केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेश गरे । जुन प्रस्तावबारे क्यालेन्डरमा कहिँकतै उल्लेख थिएन । यो विधेयकमा सामान्य छलफलसमेत शुक्रबारै भएको छ । मुख्यमन्त्री पाण्डेले छलफलमा उठेका प्रश्नको उत्तर दिएका छन् ।

Advertisement

उक्त विधेयकमा संशोधन हाल्न चाहने सांसदले ७२ घन्टा समय पाएका छन् । क्यालेन्डरमा उल्लेख नभएको विधेयकले प्रदेश सभामा प्रवेश पायो । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठले प्रदेश खाद्य अधिकार खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरिन् । यो विधेयकमाथि पनि सामान्य छलफल भएको छ ।

शुक्रबारको बैठकमा गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि पठाउने क्यालेन्डरमा उल्लेख थियो । तर, यो विधेयकले शुक्रबार प्रदेश सभामा प्रवेश पाएन । क्यालेन्डरमा समावेश भएको गण्डकी प्रदेशमा दर्ता भएको मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले भने प्रवेश पायो ।

यो विधेयकमाथि सामान्य छलफलपछि दफबार छलफलका लागि समितिमा पठाइएको छ । प्रदेश सभाको क्यालेन्डरमा चैत १७ गते भने शून्य समय, विशेष समय उपलब्ध गराउने तय छ । सोही दिन गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यतालिका छ ।

त्यस दिन मुख्यमन्त्रीसँग प्रश्नोत्तर सरेपछि चैत १७ गते शून्य र विशेष समय हटाउने सकिने कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले जानकारी दिए । ‘प्रायः संसदमा मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदा शून्य समय र विशेष हुँदैन । हामी कार्य व्यवस्था परामर्श समितिले ती कार्यक्रमलाई पनि निरन्तरता दिने गरेर मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सम्पन्न गर्छौैं,’ ती सदस्यले भने ।

मुख्यमन्त्रीसँग प्रश्न सोध्न ३ दिनअगाडि नै सचिवालयमा प्रश्न दर्ता गराउनुपर्ने हुन्छ । प्रदेश सभा नियमावली २०८० ले पनि प्रत्येक महिना मुख्यमन्त्रीसँग प्रश्न उत्तर हुनुपर्ने व्यवस्था गरेको छ ।

आन्दोलनले माओवादी सांसद अनुपस्थित
माओवादी सांसदहरुले काठमाडौंमा समाजवादी मोर्चाको आन्दोलन रहेकाले संसदमा उपस्थित नहुने जानकारी गराएका थिए । गणतन्त्रको पक्षमा समाजवादी मोर्चाको शक्ति प्रदर्शन र आमसभाका लागि उनीहरु संसदमा गयल भएको माओवादी सांसदहरुले बताएका छन् ।

समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा ‘बेथिति र प्रतिगमन’ विरुद्ध शक्ति प्रदर्शन गरेको थियो । सोही कारण गण्डकीमा रहेका माओवादीका ६ सांसद गयल भएका हुन् । माोवादीका ७ सांसद भए पनि कृष्णप्रसाद धिताल सभामुख छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया