गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान खारेजी पुनर्विचार गर्न माग

पोखरा । विज्ञानसँग सम्बन्धित विभिन्न संघ, संस्थाले गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) खारेजीको निर्णय पुनर्विचार गर्न माग गरेका छन् । गण्डकी प्रदेश कार्य क्षेत्र रहेका ११ संस्थाले संयुक्त रुपमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पुनर्विचारको मागसहित पत्र लेखेका हुन् ।
ती संस्थामा नेपाल भौतिकशास्त्र समाज, नेपाल रसायनशास्त्र समाज, नेपाल गणित समाज, नेपाल भौगर्भिक समाज, नेपाल वनस्पतिशास्त्र समाज, पोखरा खगोलशास्त्र समाज, नेपाल फार्मास्युटिकल संघ, पोखरा पंक्षी समाज, नेपाल प्राणीशास्त्र समाज, विज्ञान शिक्षक समाज र नेपाल फुड साइन्टिस्ट एन्ड टेक्नोलोजिस्ट एसोसियसन छन् ।
पत्रमा लेखिएको छ, ‘गण्डकी प्रदेश मन्त्रिपरिषद्ले जिपास्ट खारेज गर्ने प्रस्ताव प्रदेश सभामा लैजाने निर्णय गरेको समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ । हामी यस निर्णय प्रति गम्भीर असहमति प्रकट गर्दछौं ।’ जिपास्ट जस्ता संस्थाले विज्ञान तथा प्रविधिको अनुसन्धान, नवप्रवर्तन, र प्रविधिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विज्ञान तथा प्रविधिको प्रवद्र्धनका लागि यो खालको संस्था आवश्यक रहेको उनीहरुको भनाइ छ ।
गण्डकी प्रदेश सरकारको दोस्रो पञ्च वर्षीय योजनामा समेत जिपास्टलाई अझ प्रभावकारी बनाउने उल्लेख गर्दै विभिन्न कार्यक्रमहरुको सूची तय गरिएको उनीहरुले पत्रमा उल्लेख गरेका छन् । यसलाई अझ प्रभावकारी, उत्पादक, र लक्षित ढंगले अगाडि बढाउन पहल गर्नुका साथै सल्लाह, सुझाव र सुधारका उपायको खोजीका लागि विज्ञान समाजहरु रहेको पत्रमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया