चैतको औँसीका दिन कागबेनीमा तीर्थालुको ताँती

सुन्दरकुमार थकाली २०८१ चैत १५ गते १९:५५

जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीधाममा अहिले घचाघच तीर्थालु छन् । चैतको औँसी तिथिका दिन शनिबार कागबेनी क्षेत्रमा श्रद्धालुको भीड भएको हो ।

Advertisement

कागबेनीमा जीवनमा एकपल्ट दिवंगत पितृको नाममा पूजाअर्चना, श्राद्ध, पिण्डदान र तर्पणसहित स्नान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास छ । यसैका कारण बर्सेनि बडा दसैको औँसी र चैते दसैंको औसीमा कागबेनीधाममा श्राद्ध गर्नेहरुको घुँइचो हुन्छ ।

यस वर्षको चैत दसैंमा पनि दिवंगत पितृ सम्झदै पूजाअर्चना गरी श्राद्धका गर्न कालिगण्डकी दोभानमा स्नान गर्नेहरुको घुइँचो थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले यो औंसीलाई लक्षित गरी पछिल्लो २४ घन्टामा १२ हजार ४ सय १२ जना धार्मिक तिर्थालु मुस्ताङ भित्रिएको जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले पछिल्लो १ दिनमा तीर्थालु सवार १ हजार ५ सय ८० सवारी साधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको जनाए ।

शनिबार बिहानैदेखि सुरु भएको कागबेनी क्षेत्रमा तीर्थालुहरुको श्राद्ध सहज र शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरी प्रमुख बोगटीले उल्लेख गरे । कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालु सवार सवारी साधनको चापले मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न समस्या परेको थियो ।

डिएसपी बोगटीले यसपालि श्राद्ध गर्न आउने कसैलाई पनि लेक लाग्ने समस्या नदेखिएको जानकारी दिए । उनले भने, ‘सुरक्षा निकाय अलर्ट थिए, हेल्थ डेस्क पनि थियो । त्यहाँ अहिलेसम्म कसैलाई पनि स्वास्थ्य समस्या भएन ।’

Advertisement

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका स्थित दामोदकुण्ड धार्मिक स्थलबाट बग्ने कालिगण्डकी नदी र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ धामको १०८ धाराबाट बग्ने गण्डकी नदीको संगमस्थल कागबेनी धाममा दिवंगत पितृको नाममा एक पटक श्राद्ध, पिण्डदान र तर्पण दिएर पूजाअर्चना गर्दा पितृ सधै खुसी भएर सन्तानको भलो हुने विश्वास गरिन्छ ।

कालिगण्डकी नदीको तटीय क्षेत्रमा कालो शालिग्राम र मुक्तिक्षेत्रबाट बग्ने गण्डकी नदीमा रातो शालिग्राम पाइन्छ । यस स्थानमा भगवान विष्णुको अवतार शालिग्राम रहेको विश्वास गरिन्छ । कागबेनीधाममा कुर्म अर्थात कछुवा अवतारको शालिग्राम मन्दिरसमेत छ ।

यहाँ कागछोदे गुम्बा, बाह्रौं शताब्दीमा निर्माण गरिएको कागबेनी दरबारका साथै पुरानो कागबेनी गाउँ अवलोकन गर्न सकिन्छ । कागबेनीधाम आएर दिंवगत पितृको नाममा श्राद्ध र पूजापाठ गर्न पाउँदा गौरव महसुस भएको चितवनका तीर्थालु सोम जिसीले उल्लेख गरे । उनले सुन्दर प्रकृतिक स्थ्ल मुस्ताङमा जीवनमा एक पटक आएर पितृ सम्झँदै श्राद्ध, पिण्डदान र तर्पण दिएर कालिगण्डकी नदीमा स्नान गर्दा पितृ खुसी भई पुण्य प्राप्ति हुने उल्लेख गरे ।

हेटौंडाबाट आएका ईश्वरीप्रसाद पोख्रेलले मुक्तिनाथका दर्शन गर्ने उद्देश्यले पहिलोपटक मुस्ताङ आइपुगेको सुनाए । कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी गुरुङले मुस्ताङको आर्थिक विकासमा कागबेनी धामको योगदान महत्वपूर्ण रहेको बताइन् । उनले कागबेनीमा एक रात बास बसेर दिवंगत पितृ सम्झदै श्राद्ध गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको उल्लेख गरिन् ।

उनले डेढ वर्षअघिको कागखोला बाढीले कागबेनी मन्दिर, श्राद्ध स्थल र साविक भौतिक संरचना तहननहस गरेकाले यहाँ आएर श्राद्ध गर्ने तीर्थालु व्यवस्थापनमा चुनौती भएको जनाइन् । उनले दीर्घकालीन भौतिक संरचना बनाउन सरकारले ध्यान दिनुपर्ने उल्लेख गरिन् ।

कागबेनीधाममा श्राद्ध गरेका तीर्थालुहरुले श्राद्ध सकेर मुक्तिनाथ दर्शन गर्ने गरेका छन् । मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले शनिबार बिहानैदेखि श्रद्धालुको बाक्लो उपस्थित रहेको जानकारी दिए । मुक्तिनाथमा दर्शनार्थीको व्यवस्थापनका लागि मुक्तिनाथ विकास समिति, सुरक्षा निकाय र त्यहाँ कार्यरत कर्मचारी खटिएका थिए । तीर्थालुको आगमनले मुस्ताङका होटलहरु भरिभराउ छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया