४२ जनालाई अन्नपूर्ण आरोहण अनुमति

म्याग्दी । वसन्त याममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको भूगोलमा पर्दछ ।
वसन्त यामका लागि ४ समूहका ३० पुरुष र १२ महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिइन् । वसन्त यामका लागि हालसम्म नेपालका ५ हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोही बढेका छन् ।
अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले १ करोड ४७ लाख ९ हजार ४ सय २० शुल्क संकलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिइन् । अघिल्लो वर्षको वसन्तयाममा २५ जनाले अनुमति लिँदा ५९ लाख ६१ हजार ७ सय ८० शुल्क संकलन भएको थियो । अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।
अन्नपूर्ण आरोहणका लागि योयाम उपयुक्त मानिन्छ । अन्नपूर्णको हालसम्म ४ सय ८८ जनाले सफल आरोहण गरेका छन् । आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आगामी जेठ २० गते अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा विशेष कार्यक्रमको तयारी गरेको पालिका कार्यालयले जनाएको छ ।
सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्णमा पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण आरोहण गरेको ३ वर्षपछि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । रासस
तपाईको प्रतिक्रिया