बलात्कारीलाई आजीवन कैद

जोमसोम ।
मुस्ताङ जिल्ला अदालत स्थापनापछि पहिलोपटक एक जनालाई आजीवन कारावास सजाय भएको छ । जबरजस्ती करणी गरी ज्यान मारेको कसुरमा मुस्ताङ जिल्ला अदालतले एक व्यक्तिलाई गएको चैत १० गते आजीवन कारावासको सजाय सुनाएको हो ।
२०२६ मा स्थापना भएको मुस्ताङ जिल्ला अदालतले ५५ वर्षको अन्तरालमा पहिलोपटक यस प्रकारको सजायको फैसला गरेको हो । न्यायाधीश विद्याराज पौडेलको इजलासले म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका बस्ने ४४ वर्षीय हीराबहादुर कामीलाई जबरजस्ती करणी गरी ज्यान मारेको कसुरमा आजीवन कारावासको सजाय हुने फैसला गरेको हो ।
कामी २०७९ चैत ३० गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । उनलाई ७ लाख रुपैयाँ जरिवाना समेतको फैसला भएको हो । यसका अतिरिक्त मुस्ताङ जिल्ला अदालतले प्रतिवादीबाट ६० लाख रुपैयाँ क्षतिपूर्ती वापत भराई लिन पाउने फैसला गरेको हो ।
अदालत स्थापनाको ५५ वर्षपछि पहिलोपटक जिल्लामा प्रतिवादी विरुद्ध जीवितै रहेसम्म (आजीवन) कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार दिव्यराज घिमिरेले जानकारी दिए । मुलुकी अपराध सहिंता २०७४ को दफा ४१ को उपदफा (च)मा जबरजस्ती करणी गरी ज्यान मारेको कसुरमा प्रतिवादीलाई जन्मकैदको सजाय गर्दा जीवितै रहेसम्म कैद गर्नुपर्नेछ भन्ने कानुनी व्यवस्था भए बमोजिम यस्तो सजाय भएको हो ।
२०७९ चैत २८ गते हीराबहादुर कामी जिउँदो कुखुरा र रक्सी लिई ७७ वर्षीया ‘मुस्ताङ—पी २०८०’ को घरमा पुगेका थिए । बेलुकी पीडितसमेत निजका छोरासँगै रक्सी र मासु खाई राति सोही घरमा बसेका थिए । घटनाका पीडित मुस्ताङ—पी २०८० लाई सोही राति प्रतिवादी कामीले जबरजस्ती करणी गरी मनसायपूर्वक ज्यान लिएर सोही रातमा उक्त घर छोडी फरार बनेका थिए ।
तपाईको प्रतिक्रिया