मर्दी रहेसम्म खानेपानीको दुःख हुँदैन

रवीन्द्र माकाजु २०८१ चैत १६ गते ११:१७

इन्जिनियर गोविन्द गौचन खानेपानीका इन्जिनियर नामले चिनिन्छन् । जागिरका सिलसिलामा हेटौंडामा १० वर्ष, बुटवलमा ७ वर्ष सेवा गरेपछि उनी भैरहवा, वीरगन्ज, काठमाडौं, ललितपुर र पोखरामा सेवामा आए । गौचन खानेपानी संस्थानमा लामो समय इन्जिनियरका रूपमा रहेर सेवा गरेकाले पोखरामा खानेपानीको अवस्थाबारे जिज्ञासा राखियो । उनले भद्रतापूर्वक ती सवालको जवाफ दिए ।

Advertisement


म उनको बौद्धिकता, सहनशीलताबाट अति प्रभावित भएँ । विसं १९७६ सालमा बनेको बालधारादेखि आजसम्मका अवस्थाबारे चित्रण गरे । २०३३/३४ सालसम्म भोटीखोलाका पानी पिएका पोखरेलीलाई अहिले मर्दीखोलाले प्यास मेटाइरहेको पाइयो । गौचनका अनुसार सुख्खा याममा पनि मर्दीखोलामा ९ करोड लिटर पानी बग्ने गरेको छ भने अहिले सो खोलाबाट दैनिक ४ करोड लिटरमात्र पानी दुई वटा पाइपमार्फत प्रयोग गर्ने गरिएको छ ।


अहिले पोखरामा दर्जनभन्दा बढीले बोरिङबाट पानी झिक्ने गरेका छन् । पोखरामा बग्ने सेती नदीलाई पिउनयोग्य बनाउन ठूलो राशि खर्च गर्नुपर्छ । यो अलि महँगो हुने धारणा राख्दै गौचनले थपे, ‘मर्दीखोला रहिञ्जेल खानेपानीका लागि पोखरेलीले अन्य विकल्प खोज्नु पर्दैन ।’


२०३४ सालसम्म पोख्रेलीले भोटीखोलाको पानी पिउँथे । त्यसपछि विश्व बैंकको सहयोगमा अर्को मुहानको खोजी गर्दा कालीमुढा, माझकुना र मर्दीखोला उपयुक्त देखियो । पहिला मर्दीखोलाबाट १६ इन्च पाइपबाट पानी ल्याइयो भने त्यसले पनि नपुगेर २०४८ सालतिर थप २० इन्च पाइप जडान गरेर हाल दैनिक ४ करोड लिटर पानी पोख्रेलीले प्रयोग गर्दै आएका छन् । अहिले जाइकाले फिल्टर गरेर प्रत्यक्ष पिउन योग्य पानी ल्याउन सघाएको उनी बताउँछन् । वास्तवमा यो पोख्रेलीका लागि खुशीको विषय हो ।


२०३२ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा गरेका गौचन विभिन्न तहमा बढुवा हुँदै उपसचिव पदबाट निवृत्त भए । उनी २०३३ सालमा पोखरामा कार्यरत रहँदा तेर्सापट्टीमा संस्थानको अफिस थियो । थकाली सेवा समितिको अफिस नजिकै भएकाले समाजघरमा आउने, जाने क्रममा सेवामूलक काम गर्ने अवसर जुर्‍यो । उनले समितिको सचिव, उपाध्यक्ष र अध्यक्ष हुने अवसर पनि पाए ।

Advertisement

२०३४ सम्म पोखरेलीले भोटीखोलाको पानी पिउँथे । त्यसपछि अरु मुहानको खोजी गर्दा कालीमुढा, माझकुना र मर्दीखोला उपयुक्त देखियो ।


२०१२ साल मार्ग १९ गते मुस्ताङको सौरु भन्ने ठाँउमा जन्मेका गौचनको ५ कक्षासम्मको पढाइ भद्रकाली स्कुलमा भयो भने २०२८ सालमा अमरसिंह स्कुलबाट एसएलसी परीक्षा दिएका थिए । उनी १३ वर्षको हुँदा बाबु ललितबहादुरको असमायिक निधन भएपछि आमा धनकुमारीले ठूलो कष्टका साथ आफ्ना दुई छोरा गोविन्द र वसन्तलाई लालनपालन, र उच्च शिक्षा दिनु भएको थियो ।


ती पुराना दिन सम्झदै उनी भन्छन्, ‘२८ वर्षमा विधवा बनेकी आमाले हामीलाई कसरी हुर्काइन् र उच्च शिक्षा दिन समर्थ भइन् अचम्मै लाग्छ । आमाले गरेको यो त्याग र समर्पणको ऋण कहिले तिरेर तिर्न सकिन्न । बिरालोले बच्चा सारे जस्तै हामीले डेरा सार्नुप¥यो । २०३९ सालसम्म हाम्रो आफ्नो घर थिएन । उपदानको रकम र भाइ वसन्तले होटेल व्यवसायबाट कमाएको पैसाले घर बनायौँ । अहिले भगवानको कृपाले राम्रै छ ।


२०७० सालमा जागिरे जीवनबाट अवकाश भए पनि समाज र समाजसेवामा क्रियाशील गोविन्द पुल्चोक टोल विकास संस्थाका सल्लाहकार हुन् । अन्नपूर्ण आर्चरी क्लबका सल्लाहकार उनी धनुष खेलमा र आर्चरीमा पोख्त छन् । २०३६ सालमा प्रमिला शेरचनसँग वैवाहिक सम्बन्धमा आवद्ध गोविन्दका तीन छोरा अजय, सञ्जय, र विजय हुन । गौचनले अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतका मुलुक भ्रमण गरेका छन् ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया