बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य निर्वाचित

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको १९औं अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा राजन शाक्य अध्यक्ष पदमा विजयी भएका छन्। शनिबार सम्पन्न मतदानमा उनले प्रतिद्वन्द्वी उमाकान्त शर्मालाई १२५ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पद हासिल गरेका हुन्। शाक्यले ६४४ मत प्राप्त गर्दा शर्माले ५१९ मत प्राप्त गरेका थिए।
निर्वाचनमा दुवै उम्मेदवार नेपाली कांग्रेस निकट रहे पनि शाक्यलाई राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, समाजवादी लगायतका दलनिकट व्यवसायीहरूले समर्थन गरेका थिए भने शर्मा एमाले निकट व्यवसायीहरूको साथमा थिए।
खुला सदस्यतर्फ सबैभन्दा बढी मत निवर्तमान महासचिव ऋषिराम गौतमले ल्याए। उनले ८२२ मत प्राप्त गरेका थिए। गौतम शाक्य प्यानलबाट उम्मेदवार थिए। दोस्रो धेरै मत दीपक हमालले प्राप्त गरे, जसले ६९८ मत ल्याएका थिए। हमाल उमाकान्त शर्माको प्यानलका उम्मेदवार थिए।
१३ जना खुला सदस्यका लागि सम्पन्न निर्वाचनमा शाक्यको प्यानलबाट सात जना र शर्माको प्यानलबाट छ जना विजयी भए। शाक्यको प्यानलबाट ऋषिराम गौतम, अर्जुन प्रसाद कँडेल, चन्द्र रेग्मी, मनिष राजभण्डारी, इन्द्रमणी पौडेल, नविन कुमार श्रेष्ठ, र अकिल बहादुर क्षेत्री निर्वाचित भए। त्यस्तै, शर्माको प्यानलबाट दीपक हमाल, बद्री ढुंगाना, राजु गौतम, सुदीप सागर कँडेल, श्रीजय श्रेष्ठ र उमेश केसी विजयी भए।
संघको उद्योग सदस्यतर्फ रामप्रसाद शर्मा र चुडामणि सापकोटा निर्वाचित भए। सापकोटा शाक्य प्यानलका उम्मेदवार थिए भने शर्मा उमाकान्त प्यानलका थिए। महिला सदस्यतर्फ सविता आचार्य र कमला पराजुली (शर्मा प्यानल) तथा सिर्जना राजभण्डारी श्रेष्ठ (शाक्य प्यानल) विजयी भए।
निर्वाचित १९ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित १० जना शाक्य प्यानलका उम्मेदवार विजयी भए भने ९ जना शर्मा प्यानलका उम्मेदवार निर्वाचित भए। विधानअनुसार सदस्य अध्यक्षले मनोनीत गरेपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष चयन गरिनेछ।
तपाईको प्रतिक्रिया