छेन्दु यात्राको अविस्मरणीय अनुभव र सिकाइ

कञ्चन थापा २०८१ चैत १६ गते १४:५९

पोखरा ! मेरो प्रिय सहर, जहाँ हिमालको छायाँमा जीवनको सहजता पाइन्छ । जहाँ बेगनास फेवा र रुपाको पानीमा मायाको शीततता पाइन्छ । त्यहीँबाट पहिलो पटक सिधै चीनको छेन्दु यात्राको अवसर मिल्दा मनमा अपार उत्साह र कौतुहलता हुने नै भयो । नेपालको प्रकृतिक सौन्दर्यमा रमाइरहेकी ममा चीनको सहर कसरी विकसित हुन सकेको होला भन्ने जिज्ञाशा थियो, भने उत्सुकता उस्तै ।

Advertisement


पोखराबाट काठमाडौं हुँदै सिधै छेन्दु जाने उडानका बारेमा सुनेको मैले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछिको सिधै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान चीनको छेन्दु सहर जाने यात्री पनि, साक्षी पनि बन्न पुगे । जब विमानले भुइँ छाड्यो पर्यटन व्यवसायीका आशा र भरोसाका तालीले जहाज भित्रको माहोल एकै छिन फरक बनाइदियो ।


केही मिनेटमै विमान बादलहरू चिरेर माथि पुग्यो र मेरो अगाडि एकदम स्वच्छ आकाशमुनि हिमालहरूको अन्तहीन श्रृंखला फैलिएको देखियो । सेतै हिउँले ढाकिएका चुचुराहरू, सूर्यका किरणले झलमल गरिरहेका पहाडहरू, अनि उचाइमा रहेको दृश्य कुनै परिकल्पनाभन्दा पनि अतिनै सुन्दर थियो । सबभन्दा पहिले, जसमा माछाको पुच्छरजस्तो आकार स्पष्ट भएको माछापुच्छ्रे हिमाल थियो । त्यसपछि, अन्नपूर्ण, मनास्लु, धौलागिरी, र ल्होत्से हिमालहरू एकपछि अर्को गर्दै देखिन थाले । जब विमान अझ उचाइमा पुग्यो, सगरमाथाको चुचुरो पनि देखियो, जसले मन नै थाम्न गाह्रो बनायो । त्यहाँ न कुनै सहरको कोलाहल थियो, न कुनै मानवीय गतिविधि । केवल सेताम्य हिमालहरू, निलो आकाश र हावा बहने शान्त अनुभूति ।


करिब साढे २ घन्टाको उडानपछि जब विमान छेन्दुको विशाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो, त्यहाँको सुव्यवस्थित वातावरण र आधुनिक पूर्वाधारले मनमा उत्सुकता बढायो । अध्यागमन प्रक्रियाबाट बाहिर निस्कँदै गर्दा, एक अत्याधुनिक सहरको झलक देख्न थालें । सफा सडक, हरियाली, र गगनचुम्बी भवनहरूले अर्को अनुभूति भयो ।


छेन्दु पुग्दा पहिलो अनुभूति नै चकित पार्ने खालको थियो । फराकिलो सडक, द्रुतगतिको सार्वजनिक यातायात, हरियाली पार्कहरू र विशाल गगनचुम्बी भवनहरूले सहरलाई विशेष बनाएका थिए । पोखराको तुलनामा यस्तो विकास देख्दा मनमा अनायास प्रश्न उठ्यो— ‘के हाम्रो सहर पनि कहिल्यै यस्तै आधुनिक बन्न सक्ला ?

Advertisement


छेन्दु मात्र विकासले भरिएको सहर होइन, यसका जरा संस्कृतिमा गहिरोसँग गाडिएका छन् । पुरानो चिनियाँ वास्तुकलादेखि अत्याधुनिक प्रविधिसम्मको समिश्रण त्यहाँ देख्न सकिन्थ्यो । खाजा खान स्थानीय रेष्टुरेन्ट गएका बेला परम्परागत सिचुआन खानाको स्वाद चाख्ने अवसर मिल्यो । मसलेदार र तिखो स्वादले मेरो नेपाली जिब्रोलाई नौलो अनुभूति दिलायो नै छेन्दुको मेट्रो रेल सेवा, ट्राफिक व्यवस्थापन, स्मार्ट सिटी प्रणाली, अनि सफाइ अभियानले निकै प्रभावित बनायो । पोखरामा सार्वजनिक यातायातको समस्या छ, तर छेन्दुमा केही मिनेटमै अत्याधुनिक मेट्रो ट्रेन पाइन्थ्यो। सहरको योजनाबद्ध विस्तार देख्दा नेपालको विकासको सम्भावना र चुनौतीहरू मनमा खेल्न थाले ।


छेन्दुका मुख्य आकर्षणमध्ये पाण्डा रिजर्भ (Chengdu Research Base of Giant Panda Breeding) अविस्मरणीय रह्यो । पाण्डाहरुलाई नजिकबाट हेर्ने मौका पाउँदा मन झनै उत्साहित भयो ।


चीनको यात्रा गर्दा धेरै मानिसहरू छेन्दु, बेइजिङ, वा सांघाइलाई प्राथमिकता दिन्छन् तर हामीले हाम्रो यात्रालाई छेन्दुको बसाइपछि सिचुआन प्रान्तकै अर्को सुन्दर सहर, लुझाउतर्फ मोड्यौं । यो सहर ‘चीनको वाइन सिटी’ वा रक्सीको सहर भनेर चिनिँदो रहेछ । यो सहरमा चीनकै सबैभन्दा पुरानो मदिरा उत्पादन केन्द्र छ यहाँ मदिरा कसरी बनाइन्छ भन्ने देखाउने संग्राहलय छ भने सयौं वर्ष पुराना भट्टीहरू छन । यो देख्दा आफैसँग प्रतिप्रश्न गरें किन हामीले हाम्रो स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्न सकेनौ ?


लुझाउ एउटा नदी किनारमा बसाइएका सहरहरू मध्येको एक सहर रहेछ । याङजी नदी र तुओ नदी यहाँको जीवन र व्यापारका आधार हुन् । साँझपख नदी किनारमा हिँड्दा चिल्लो सडक, बत्तीहरूले झलमल्ल पारिएको पुल र पानीमा टल्किरहेका रंगीन झिलिमिली देखेर एकछिन हराइएझैं लाग्यो । रातको समयमा यहाँको दृश्य अविश्वसनीय लाग्छ । नदीमा परावर्तित पुलका बत्तीहरूले रोमाञ्चक वातावरणमा डुब्न थालें म ।

छेन्दु यात्राले मलाई आधुनिक सहरको परिभाषा मात्र बुझाएन, बरु पोखरालाई कसरी अझ व्यवस्थित बनाउन सकिन्छ भन्ने सोच्न बाध्य बनायो


साच्चिकै लुझाउ आधुनिक विकास र परम्परालाई सँगै लिएर अघि बढेको सहर जहाँ यातायात व्यवस्थापन, सफाइ, नदी किनारको सुन्दरताले पोखराको फेवाताल क्षेत्रको सम्भावनाबारे सोच्न बाध्य बनायो । यदि हामीले पनि योजनाबद्ध रूपमा पूर्वाधार र पर्यटन क्षेत्र सुधार्न सक्यौं भने, पोखराले पनि लुझाउजस्तै आफ्नै मौलिक पहिचान कायम राख्दै विश्वव्यापी रूपमा विकास गर्न सक्छौ कि ?


लुझाउको सुन्दरतामा रुझ्दै चीनकै सबैभन्दा ठूलो महानगरमध्ये एक सहर जुन आफ्नो भौगोलिक बनावट, औद्योगिक विकास, मसलेदार खाना, र जीवनशैलीका लागि प्रसिद्ध सहर छोङ्छिङ पुग्याैं । पोखराको जस्तै पहाडी भूगोल भएको यो सहर, गगनचुम्बी भवनहरूले भरिएको यहाँका अग्ला भवनहरू, उकालो–ओरालो सडक, नदी किनारको सुन्दरता हेर्दा एकैचोटि आधुनिकता र प्रकृतिको संयोजन झल्किन्थ्यो ।


यो सहर याङजी र जियालिङ नदीहरूको संगममा बसेको छ । धेरै ठाउँहरू उकालो–ओरालो छन्, जसका कारण यसलाई ‘माउन्टेन सिटी’ पनि भनिन्छ । सहरभरि केबल कार, मोनोरेल, र नदी पार गर्ने फेरीहरू छन्, जसले आवतजावत सहज पनि बनाएको छ ।


छोङछिङ यात्राले सिकाएको मुख्य कुरा भनेको कठिन भूगोलमा पनि कसरी आधुनिक पूर्वाधार विकास गर्न सकिन्छ भन्ने हो । पोखराको पहाडी भूगोललाई पनि सही योजनासँग उपयोग गरेमा, यहाँजस्तै व्यवस्थित यातायात र पर्यटन पूर्वाधार बनाउन सकिन्छ । छोङछिङ साँच्चै आधुनिक चीनको गतिशीलताको प्रतिनिधित्व गर्ने सहर हो । यो यात्रा केवल घुमफिर मात्र होइन, विकासको दृष्टिकोणबाट सिक्ने अवसर पनि बन्यो ।


सिचुवान प्रान्तका सहरहरुका सुन्दरता हेर्दा नेपालमा पनि यसको सम्भावना छ है भन्ने लाग्यो । विशेषगरी पोखरा, काठमाडौँ, चितवन, लुम्बिनीजस्ता पर्यटकीय क्षेत्रहरू सौन्दर्यीकरण पर्खेर बसिरहेका छन् । ती ठाउँहरूलाई व्यवस्थित बनाउन सके, नेपालमा पर्यटन झन् फस्टाउने छ । सुन्दरता केवल सौन्दर्यको लागि मात्र होइन, समग्र विकासको लागि आवश्यक छ भनेर चीनको ती सुन्दर सहरहरुले सिकाए । सुन्दर, हरियालीयुक्त, सफा, र व्यवस्थित क्षेत्रहरूले आर्थिक, पर्यावरणीय, र सामाजिक रूपमा सकारात्मक प्रभाव पार्छन् । यसका लागि स्थानीय सरकार, समुदाय, र नागरिक सबैले हातेमालो गर्नुपर्छ ।


घुमाइ सिकाइ पनि हो । भ्रमणले सिकाएको मुख्य कुरा भनेको योजना, प्रविधि, र व्यवस्थापनको सही संयोजनले दिगो विकास सम्भव बनाउने हो । पोखरालाई आधुनिक, व्यवस्थित, र पर्यटनमैत्री सहरका रूपमा विकास गर्न चीनको सफल मोडेलहरूबाट प्रेरणा लिँदै स्थानीय आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ । यदि चीनले केही दशकमा उल्लेखनीय प्रगति गर्न सक्छ भने, पोखराले पनि दिगो विकासका लागि रणनीतिक योजना अवलम्बन गर्न सक्छ।

त्यहाँको वातावरण देखेर पोखराको समग्र विकास र सांस्कृतिक आदानप्रदान, व्यापारिक नेटवर्क विस्तार, पर्यावरणीय व्यवस्थापन, र स्थानीय व्यवसायको प्रवद्र्धन जस्ता पहलहरू गर्न सकिन्छ । यी सबै कदमहरूले पोखरालाई स्मार्ट, हरियाली, र आर्थिक दृष्टिले सशक्त बनाउने दिशामा मद्दत पुर्‍याउँछन् ।


छेन्दु यात्राले मलाई आधुनिक सहरको परिभाषा मात्र बुझाएन, बरु पोखरालाई कसरी अझ व्यवस्थित बनाउन सकिन्छ भन्ने सोच्न बाध्य बनायो । पर्यटन, प्रविधि, पूर्वाधार र योजना मिलाएर कसरी सहरको विकास गर्न सकिन्छ भन्ने राम्रो उदाहरण हामीले हेरेका सहर छेन्दु, लुझाउ र छोङ्छिङले प्रस्तुत गरेको छ ।


हरेक यात्राको सुरुआत एउटा उत्साह, आशा र नयाँ सम्भावनाहरू बोकेर गरिन्छ । यस यात्रामा पनि उस्तै भावना सँगालेर अघि बढियो, अनुभवहरू सँगालिए, सिकाइहरू भए, र सम्वन्धहरू अझ बलिया बने ।


यात्राको क्रममा देखिएको विकास, व्यवस्थापन र समृद्धिले सम्भावनाको ढोका खोलेको अनुभूति भयो। कुनै पनि देश वा सहरको सफलताको पछाडि रहेको दृढ इच्छा, सही योजना र अनुशासन हामीले प्रत्यक्ष देख्यौं । भाषा, संस्कृति र रहनसहन फरक भए पनि मन त उस्तै रहेछ । चिनियाँ भाषा बुझ्न गाह्रो पर्‍यो, खानपान र लवाइखुवाइ फरक देखिए पनि जब इसारामै भए पनि मानिसहरूसँग संवाद हुन थाल्यो, तब अनुभूति भयो चिनियाँ मन पनि नेपाली मनजस्तै सरल, सहयोगी, र आत्मीय रहेछ ।
सडकमा भेटिएका मानिसहरु हाँसेर अभिवादन गर्थे, पोखराका गल्लीमा रमाउने नेपालीहरू जस्तै, त्यहाँका झलमल्ल बाटोमा पनि मानिसहरू आ–आफ्ना सपनाहरू लिएर हिँडिरहेका थिए । सपना फरक थिए होलान्, तर सपनाहरू पूरा गर्ने संघर्ष भने मलाई उस्तै उस्तै लाग्यो ।


पक्कै पनि यो यात्राको अन्त्य होइन यो नयाँ सुरुवात हो । आशा छ, विश्वास छ, कि सिकाइहरू व्यर्थ जाने छैनन्, प्रयासहरू निरन्तर हुनेछन् र हामीले देखेको उन्नति, समृद्धि, अनि व्यवस्थापनलाई आफ्नै भूमिमा कार्यान्वयन गर्न सक्नेछौं । सँगसँगै त्यहाँ पुगेर अनुभव बटुलेर आएका पोखरेली व्यवसायीहरुले पनि धेरै कुरा मनन् गर्न जरुरी छ । यात्रा केवल घुमफिर मात्र होइन, सिकाइ र प्रतिबद्धताको अवसर पनि हो । अब हामीले देखेका उत्कृष्ट अभ्यासहरूलाई नेपालमा कार्यान्वयन गर्ने संकल्प गर्नुपर्छ । व्यावसायिक नीतिहरू सुधार्दै, नवीनतम प्रविधि अपनाउँदै, र अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै नेपाललाई समृद्ध बनाउने प्रतिबद्धता सबै व्यावसायिक निकायहरूले लिनुपर्छ ।


नेपाल सुन्दर छ, नेपाल सम्भावनाले भरिएको छ । हाम्रो देश नराम्रो होइन, तर सम्बन्धित निकायको बेवास्ता, सही रणनीतिको कमी र दीर्घकालीन सोचको अभाव हाम्रो प्रगतिको गतिलाई रोकिरहेको हो कि ? यस यात्राबाट सिकेको पाठ यही हो परिवर्तन सम्भव छ, तर त्यसका लागि दृढ संकल्प, पारदर्शिता र दिगो कार्यान्वयन आवश्यक छ ।


परिवर्तन सम्भव छ भन्ने आत्मविश्वास जगाउँदै फेरि त्यही मनमोहक सेताम्य हिमालका दृश्यहरुलाई आँखामा कैद गर्दै आफ्नै माटोमा फर्कियौं । जब हाम्रो विमानले पोखराको माटो छोयो विमानभित्र उत्साह र आशाका तालीहरू गुञ्जिए ।

तपाईको प्रतिक्रिया