यातायात मजदुर सुब्बाबहादुर लामालाई आर्थिक सहयोग

पोखरा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय लेखनाथ इकाइ कमिटीको भेला भएको छ । बिरामी भएर उपचाररत कमिटीका सदस्य सुब्बाबहादुर लामालाई ३० हजार आर्थिक सहयोग प्रदान गरिएको छ । लामा पोखरा ३१ मा रहेको अमरसिद्ध मावि पचभैयाका सवारी चालक हुन् ।
संगठन गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर केसीले सबै विद्यालयमा कार्यरत मजदुरका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको लागि दबाबमूलक कार्यक्रम गरेको बताए । कास्कीका केही विद्यालय सामाजिक सुरक्षा कोषमा जोडिएको जानकारी दिदै उनले सबै विद्यालय नजोडिँदासम्म अभियान जारी रहने उल्लेख गरे ।
उनले संगठनले मजदुरको हकहितका अलवा सामाजिक र रचनात्मक कार्यक्रम गरेको जनाए । मजदुरको एकता र संगठन बलियो भएको खण्डमा श्रमिकका समस्या हल गर्न सकिने उनले उल्लेख गरे । केसीले सवारी दुर्घटना परी घाइते भएका तथा बिरामी भएका मजदुरलाई सहयोग गर्न संगठनले कोष खडा गरेको जनाए ।
कार्यक्रममा यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीका सचिव नारायणप्रसाद रिमाल, सहसचिव बालकृष्ण पोखरेल, प्रदेश श्रम तथा रोजगार सदस्य रुद्रमान प्रधान, संगठन निजी तथा आवासीय विद्यालय लेखनाथ कमिटी अध्यक्ष प्रेमबहादुर खड्का लगायतले यातायात मजदुरका सवालमा संगठनले खेलेको भूमिकाबारे प्रकाश पारे ।
तपाईको प्रतिक्रिया