सुरक्षाकर्मीले गरे मुक्तिनाथको सरसफाइ

जोमसोम । मुस्ताङका सुरक्षाकर्मीले पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर क्षेत्रको बृहत् सरसफाइ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, मुस्ताङको समन्वयमा ईलाका प्रहरी कार्यालय मुक्तिनाथ र प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी प्रहरी टोलीको संयुक्त सहभागितामा आइतबार बिहान मुक्तिनाथ मन्दिर क्षेत्रको व्यापक सफाइ गरिएको हो ।
चैत दसैं कृष्ण औंसी तिथिमा दिवंगत पितृ उद्धारका लागि श्राद्ध, पिण्डदान र तर्पण दिन मुस्ताङ आएका तीर्थयात्री भक्तजनहरूले मुक्तिनाथको दर्शन गर्ने क्रममा जम्मा भएको फोहोर सुरक्षाकर्मी तथा अन्य टोलीले सफा गरी स्वच्छ पारेका छन् । पवित्र धार्मिकस्थल मुक्तिनाथ क्षेत्रलाई सफा, स्वच्छ र वातावरणमैत्री बनाउन मुस्ताङ प्रहरीले विगतदेखि नै यस्ता सरसफाइ कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।
भगवान विष्णुको वासस्थान रहेको मुक्तिनाथमा धार्मिक यात्रा गर्न आउने भक्तजनहरूको स्वास्थ्यमा नकारात्मक असर नपरोस् र मन्दिरको वातावरणीय सौन्दर्य क्षतिग्रस्त नहोस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा यो कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले यसक जानकारी दिए ।
चैत दसैं औंसीका दिन मुक्तिनाथ क्षेत्रमा भक्तजनहरूबाट जम्मा भएको ४० बोरा फोहोर प्रहरी टोलीले व्यवस्थापन गरी सफा गरेको छ । मुक्तिनाथ मन्दिर परिसरभित्र मन्दिरको आन्तरिक क्षेत्र, १०८ धारा, कुण्ड, बाह्य परिसर, शौचालय, कपडा चेञ्जिङ रुम, मुक्तिनाथ प्रवेशद्वारदेखि मन्दिरसम्मको सिँढी बाटो र आसपासका क्षेत्रहरूबाट फोहोर संकलन गरी सरसफाइ गरिएको छ ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले यसबारे जानकारी दिए । उनले भने, ‘भक्तजनहरूले पानीका बोतल, पूजा सामग्री राख्ने प्लास्टिक झोला, लत्ताकपडा र खानेकुरा जताततै फ्याँक्ने गरेकाले मुक्तिनाथमा अनियन्त्रित फोहोर बढ्दै गएको छ । यहाँ दुईजना नियमित सरसफाईकर्मी छन्, तर ठूलो संख्यामा तीर्थयात्री आउँदा फोहोर व्यवस्थापन गर्न गाह्रो हुँदैछ ।’ चैत दसैं कृष्ण औंसीका दिन मात्रै १५ हजारभन्दा बढी तीर्थयात्रीले मुक्तिनाथको दर्शन गरी फर्किएको रिपोर्ट छ ।
तपाईको प्रतिक्रिया