सुनको लोखर्के

त्रिवेणी २०८१ चैत १८ गते ११:४१

‘ड्याडी आज कुन कथा सुन्ने ?,’ निर्वाणले बुवालाई प्रश्न गर्‍यो । उनीहरु घरको बैठककोठामा बसिरहेका थिए । साँझको खाना खाइवरी सुत्नुअघि बैठक कोठामा निर्वाणका बुवाले उसलाई कथा सुनाउँथे । छोराको प्रश्न सुनेपछि उनले चलाइरहेको मोबाइल बन्द गरे, टेबलमाथिको गमला सारेर मिलाएर राखे । त्यसपछि छोरालाई उचालेर काखमा राख्दै भने, , ‘आज म मेरो छोरालाई सुनको लोखर्केको कथा सुनाउँछु ।’

Advertisement


सुनको लोखर्के भन्ने सुनेपछि निर्वाण पनि टाठो देखियो । ऊ चनाखो भई चाख दिएर बुबालाई सुन्न थाल्यो । बुवाले भनेः निकै अघिको कुरा हो । राजा युधिष्ठिर एउटा यज्ञ गरिरहेका थिए ।’ यत्तिकैमा निर्वाणले बुबालाई रोक्यो र सोध्यो, ‘ड्याडी के हो यज्ञ भनेको ?’


छोराको कुरा सुनेर बुवाले हाँस्दै भने, ‘यज्ञ भनेको पूजा गरेको जस्तै हो छोरा । र राजा युधिष्ठिरले गरेको यज्ञमा घोडा चाहिने हुँदा त्यसलाई अश्वमेध यज्ञ भनिन्थ्यो । यसरी अश्व अर्थात् घोडाको यज्ञ भइरहँदा एउटा लोखर्के यज्ञ भइरहेको ठाँउमा देखा प¥यो । त्यसलाई परबाट हेरिरहेका युद्धिष्ठिरले आफ्ना भाइ अर्जूनलाई भने, ‘हे अर्जुन त्यहाँ हेर त, एउटा लोखर्के लडीबुडी खेलिरहको छ । त्यसलाई के भएको रहेछ बुझिहेर त !’


युधिष्ठिरको आज्ञा पाएपछि अर्जुन गाण्डिव लिएर लोखर्केसामु पुगे । त्यसपछि… बुवाले केही भन्दै गर्दा निर्वाणले बुवालाई पुनः रोक्यो र सोध्यो, ‘ड्याडी, अलि सजिलोगरी सुनाउनुस् न, मैले बुझिनँ के त्यो गान्ड कि के भन्या !’


छोराको कुरा सुनेपछि उसका बाबुले निर्वाणको कपाल मुसार्दै भने, ‘ल म स्यानुलाई सजिलो गरी भन्छु है त । तिमीले घनुष त देखेका छौ नि ? अर्जुनको धनुषलाई गाण्डिव भन्छन् के । हो, उनी आफ्नो धनुष लिएर लोखर्केको नजिकै पुगे भनेको नि स्यानु !’
बुवाको कुरा सुनेपछि निर्वाणले बुझेजसरी टाउको हल्लायो । बुवाले कथाअघि बढाए ।

Advertisement

लेखर्के छेउ पुगेका अर्जुनले देखे, त्यसको आधार शरीर त सुनले पो बनेको रहेछ । आधा शरीर सुनले बनेको आधा शरीर भने रौँ छाला देखिएको अनौठो लोखर्के देखेपछि अर्जुन फर्किएर युधिष्ठिर भएको ठाँउमा आइपुगे र भने, ‘महाराज त्यो लोखर्के त अनौठो खालको छ । उसको आधा शरीर सुनको छ, आधा भने सामान्य खालको । यस्तो अनौठो जीव देखेपछि म केही नगरिकन तपाईँ भएको ठाँउमा आएँ । यसअघि मैले यस्तो लोखर्के देखेको थिइनँ ।’


भाइको अनौठो कुरा सुनेपछि उठेर राजा युधिष्ठिर लोखर्केतर्फ लागे । जब उनले पनि आधा शरीर सुनले बनेको लोखर्के देखे, अचम्ममा परे ।


यो सामान्य लोखर्के होइनँ भनी युधिष्ठिरले लोखर्केको नजिकै पुगेर बिन्ती गरे, ‘हे लोखर्के, तपाईँ देवता हुनुहुन्छ कि यक्ष ? यस्तो रुप भएको लोखर्के त हामीले आजसम्म देखेका थिएनौँ । आज यो यज्ञमा के कति कारणले आउनुभयो ? कृपया मलाई बताउनुहोस् !’


युधिष्ठिरको कुरा सुनेपछि लोखर्केले भन्यो, ‘हे राजा युधिष्ठिर । म एउटा सामान्य लोखर्के नै हुँ । म कुनै देवता वा यक्ष होइनँ । म तिम्रो यज्ञमा आउनुको कारण भने यो मेरो आधा सुनौलो शरीर हो । हे राजा, निकैअघि एक जना गरिब बाह्रमणको परिवार असाध्यै भोको थियो । घरका कसैले पनि तीन दिनदेखि केही खान पाएका थिएनन् । चौँथो दिनमा जेनतेन भीक्षा पाएर ल्याएको खानेकुरा पकाइवरी खानै लाग्दा उनको घरमा एक जना ब्रहामण अतिथि टुप्लुक्क आइपुगे ।


ती अतिथिले भने, ‘हे ब्राह्मण म निकै दिनदेखिको भोको छु । कृपा गरेर मलाई भोजन गराऊ ।’ अतिथिका कुरा सुनेपछि उनलाई राम्रोसँग राखेर ती ब्राह्मण भान्छामा छिरे र आफ्नी श्रीमतीलाई भने, ‘हेर अतिथिलाई नखुवाउने कुरा भएन । त्यसैले म खान्न, अतिथिलाई दिनू र बाँकी रहेको तिमी र छोराले खानू ।’


श्रीमानको कुरा सुनेपछि ब्राहमणीले भनिन्, ‘त्यस्तो हुँदैन । तपाईँलाई भोको राखेर म खान सक्दिनँ । मेरो भागको तपाईँले खानुस् ।’ बुवाआमाको कुरा सुनिरहेको छोराले पनि बोल्यो, ‘तपाईँहरुलाई नखुवाइ मैले खानु छोराको धर्म होइन, त्यसैले म खाँन्न, मेरो भागको तपाईँ दुई जनाले बाँडेर खानुहोस् ।’


छोराको कुरा सुनेपछि उसलाई स्यावास् भनेर ब्राहमण बाहिर निस्के । त्यसपछि उनले अतिथिलाई खाना खुवाए । ती अतिथि यति भोका रहेछन् कि उनले सबै खाना सकिदिए । यसरी तीन दिन देखेका भोका ब्राह्मण चौँथो दिनमा पनि भोकै रहे । र अतिथिले खाइसकेपछि मुख चुठ्न उनी बाहिर निस्के । अतिथिले मुख चुठ्दै गर्दा ती गरिब ब्राह्मणले पानी खन्याइदिएका थिए । र त्यो पानीको छिटा त्यसै बेला ब्राह्मणको आँगनबाट दौडिएको मेरो शरीरको आधा भागमा पर्‍यो र यो सुनौलो भयो ।


हे युधिष्ठिर, एउटा भोको ब्राह्मणले आफ्नो भोजन अतिथिलाई खुवाएर कमाएको पुन्यका कारण उसको हातबाट खसेको जलसमेत पवित्र भयो तर तिमी जस्तो धर्मात्माको यज्ञमा आईपुग्दा पनि मेरो बाँकी शरीर सुनौलो भएन । तिम्रो यो यज्ञभन्दा ब्राह्मणको हातको जुठो जल पवित्र रहेछ । हे राजा, म त्यस कारण लडिबुडी खेलिरहेको छु, ता कि मेरो शरीर सुनको बनोस् ।’


लोखर्केको कुरा सुनेपछि युधिष्ठिरले भने, ‘हे लोखर्के, मैले यति ठूलो यज्ञ गर्दा पनि त्यो पुन्य प्राप्त गर्न सकिनँ, जति ती ब्राह्मणले प्राप्त गरे । यो यज्ञले भन्दा तिनै ब्राह्मणको भोजनले बढी पुन्य कमायो । हे लोखर्के तिम्रा कारण मैले आज खासमा पुन्य कसरी कमाउने रहेछ भन्ने बुझेँ । तिमीलाई धेरै धन्यवाद ।’


लोखर्केलाई यति भनेपछि युधिष्ठिर फर्के । र, कथा सकियो स्यानु । बुवाले यति भनेर निर्वाणलाई काखबाट उचाले, तर त्यति बेलासम्म निर्वाण भने निदाइसकेको रहेछ ।

त्रिवेणी

त्रिवेणी साहित्यकार हुन् । समाधान दैनिकमा शनिबार प्रकाशन हुने बालबालिका लक्षित स्तम्भ तातेतातेका लागि त्रिवेणीले नियमित लेखिरहेका छन् ।

तपाईको प्रतिक्रिया