नेपाल फोटो पत्रकार संघ कास्कीको फोटो यात्रा–गन्तव्य मेघौली

पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो ।
आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको सुन्दरतासँगै आतिथ्य, थारु समुदायको नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने सूर्यास्त, जंगल सफारीको फोटो, भिडियो कैद गरेको छ ।
नवलपुरको गैडाकोट नगरपालिकास्थित मौलाकाली मन्दिरसँगै त्यहाँ सञ्चालित केवलकार र नारायणी नदीमा सञ्चालित मोटर बोटको दृष्य क्यामेरा कैद गरेको संघका अध्यक्ष राम गुरुङले बताए । कार्यक्रममा पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्माले फोटो र पर्यटन क्षेत्र एक अर्काका परिपूरक भएको बताइन् । हरेक सञ्चार माध्यममा फोटो पत्रकार आवश्यक रहेको बताइन् ।
समग्र क्षेत्रको विकासमा फोटोले अहम भूमिका खेल्ने भएकाले कास्कीका स्थापित नेपाल फोटो पत्रकार संघ कास्की आगामी दिनमा अझै रचनात्मक काम गर्दै अघि बढ्नुपर्ने उनले सुझाव दिइन् । मेघौली पुगेको टिमले बाराही जंगल लजबारे महाप्रबन्धक प्रकाश चन्दसँग अन्तरक्रिया गरेको थियो । २०१३ सेप्टेम्बरबाट बाराही ग्रुपले सञ्चालनमा ल्याएको लज विदेशी एवं स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
१३ हेक्टरमा फैलिएको लज राप्ती नदीको किनारमा हरियाली जंगलभित्र छ । थारु शैलीको घरमा बस्न पाउनु यसको विशेषता रहेको चन्दले बताए । लजबाटै राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती लगायत जंगली जीवजन्तु रमाएको दृश्यावलोकन गर्न मिल्छ ।
ती जीवजन्तुसँगसाँझमा डुंगा सफारी र बिहानमा जंगल सफारीको सुविधा छ । स्थानीय थारु संस्कृति प्रवद्र्धन गरिरहेको लजमा पर्यटक बस्ने भिल्लादेखि स्वागत कक्ष, डाइनिङ, टाइगर्स डेन बारका घरसमेत थारु शैलीमै बनेका छन् ।
लोपोन्मुख अवस्थामा पुगेको मट्टीतेल लालटिन लजमा निकै रचनात्मक ढंगले सदुपयोग गरिएको छ । लजमा बेलुका स्थानीय थारु र कुमाल जातिकै सांस्कृतिक नाँच देखाइने उनले बताए । मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धनमा लजले टेवा पु¥याइरहेको जानकारी दिदैं उनले त्यहाँबाट नजिकै रहेको विमानस्थल सञ्चालनमा आए टेवा पुग्ने बताए ।
एनपिजेए कास्की अध्यक्ष गुरुङले लजले मेघौली, चितवन मात्र नभएर देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको बताए । यहाँको प्रकृतिको फोटो तथा भिडियोहरु फोटो पत्रकारको क्यामेरामा कैद भएकाले कुनै न कुनै माध्यमबाट लज, चितवन राष्ट्रिय निकुञ्जसगै सिंगो राष्ट्रको पर्यटन क्षेत्रको विकासका लागि प्रयोग गरिने उनले बताए । ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम संयोजक राधिका कँडेलले फोटो पत्रकारिता केवल दृष्य कैद गर्ने माध्यममात्र नभई समाजका विविध पक्ष उजागर गर्ने सशक्त माध्यम भएको बताइन् ।
तपाईको प्रतिक्रिया