पोखरा १२ मा कौसी खेती तालिम

समाधान संवाददाता २०८१ चैत १८ गते १९:२८

पोखरा । पोखरा महानगरपालिका १२ ले कौसी खेतीसम्बन्धी तालिम दिएको छ । वडाका महिलालाई आयआर्जनसँग जोड्नका लागि मंगलबार उक्त तालिम दिइएको हो ।

Advertisement

पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले मंगलबार तालिम सुरुआत गरे । महिलालाई आर्थिक रूपले सशक्त बनाउन र घरै बसेर आय आर्जन गर्ने अवसर प्रदान गर्नका लागि तालिम आयोजना गरिएको उनले बताए ।

‘कंक्रिटको जंगल बनेको सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । गाउँमा घरवरिपरि करेसाबारी भए जस्तो सहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दुर्लभ र अपवाद जस्तै छ,’ उनले भने, ‘त्यही कुरालाई मध्यनजर गर्दै महिलालाई उत्पादनसँग जोड्न यो तालिम आयोजना गरिएको हो ।’

तालिममा अर्गानिक तरकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनोट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्राउने प्रक्रियाका बारेमा सिकाइएको पोखरा महानगरपालिका कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । पोखराका सहरी क्षेत्रको वडाहरुमा कौसी खेती फस्टाइरहेको उनले बताए ।

सहरमा बढ्दै गएको कौसी खेतीप्रतिको रुचिलाई ध्यानमा राखेर पोखरा १२ वडा कार्यालयले बिउ र मल निःशुल्क वितरण गरेको छ । कौसी खेतीलाई बढवा दिन पोखरा महानगरपालिकाले वडा वडामा कृषि सञ्जाल गठन गरेको छ । तालिममा कौसी खेती कृषकले अनुभवसमेत साटे ।

Advertisement

तपाईको प्रतिक्रिया