पोखरामा लागु औषध नियन्त्रण महाअभियान सुरु

समाधान संवाददाता २०८१ चैत १९ गते १४:४५

पोखरा । लागु औषध दुर्व्यसन नियन्त्रण तथा सचेतनामूलक अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा लागु औषध नियन्त्रण महाअभियान २०८१/८२ शुभारम्भ गरिएको छ।

Advertisement

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कास्की जिल्लामा लागू औषधको दुव्र्यसन रोकथाम, ओसारपसार तथा विक्रिवितरण नियन्त्रणलाई लक्षित गर्दै विभिन्न सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने घोषणा गरिएको छ।

पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट बाजागाजा तथा प्लेकार्डसहित झण्डै १,५०० जनाको सहभागितामा बृहत् प्रभातफेरी आयोजना गरिएको थियो। अभियानका क्रममा लागू औषध विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक क्रियाकलाप सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले पछिल्लो समयमा युवाहरू लागू औषध दुव्र्यसनमा आकर्षित भइरहेकोले अभिभावकहरूले आफ्ना सन्तानको गतिविधि तथा संगतप्रति विशेष ध्यान दिनुपर्ने बताए । उनले माया, ममता र आत्मीयता अभिवृद्धि गर्दै परिवारभित्र नै सकारात्मक वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जिल्लामा लागू औषधसम्बन्धी पछिल्लो अवस्था प्रस्तुत गर्दै अभियानअन्तर्गत ६ महिनासम्म सञ्चालन हुने ४७ गतिविधिहरूको योजना रहेको जानकारी गराए ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा पोखरा नाटक घरको टोलीले लागू औषध दुव्र्यसनसम्बन्धी सडक नाटक प्रस्तुत गरेको थियो भने कास्की मोडर्नाइज एकेडेमीका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, हाम्रो परिवार नेपाल लागू औषध सुधार केन्द्रका सञ्चालक शिव न्यौपानेले आफैं लागू औषधको दुव्र्यसनीमा फसेको अनुभव र त्यसबाट मुक्त हुने क्रममा भोगेका पीडादायक क्षणहरू साझा गरे ।

तपाईको प्रतिक्रिया