वन कुकुर संरक्षणमा नेपाली परियोजना उत्कृष्ट
भोटिङबाट उत्कृष्ट एकको छनोट हुने

पोखरा । वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा परेको छ । यो वर्ष नेपालको सिठ्ठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्दधन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको हो ।
युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट ६ मा परेको हो । यस परियोजना उत्कृष्ट एकमा पर्न सोमबारबाट सुरु भएको भोटिङबाट जिन्तु पर्ने छ । परियोजना उत्कृष्ट एकमा परे करिब ४४ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछ । यसका लागि अनलाइन भोटिङ सोमबारदेखि १४ दिनकालागि खुला गरिएको छ ।
परियोजना उत्कृष्ट एकमा परे त्यसबाट प्राप्त ४४ लाख रुपैयाँबाट कास्कीको मादी गाउँपालिकामा वन कुकुरको अनुसन्धान र संरक्षणका काम गरिने प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले बताए । सन् २०१७ र २०२१ मा मादी २ ताङतिङमा प्रकृतिका साथीहरु नामक संस्थाले वन कुकुर अनुसन्धानका लागि राखेको क्यामेरा ट्यापिङमा त्यस क्षेत्रमा हराएका वन कुकुर पुन देखिएका थिए ।
वन कुकुर किन संरक्षण गर्ने ?
दुर्लभ वन कुकुर संकटमा रहेको विज्ञ बताउँछन् । यो लोपन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ । यसको संख्या ९४९ देखि २२१५ को बीचमा रहेको अनुमान गरिएको छ । नेपामा भने ५ सयभन्दा कम मात्र रहेको आचार्य बताउँछन् । वन कुकुरको संख्या तीव्र गतिमा घट्दै गइरहेको कारण संरक्षण गर्नुपर्ने अवस्था रहेको विज्ञ बताउँछन् ।
सन् १९७० सम्म नेपालका धेरै भूभागमा पाइने भए पनि पछिल्लो समयमा केही सीमित स्थानमा मात्र अभिलेख गरिएको पनि उनले बताए । यसको संख्यामा आएको गिरावटको मुख्य कारण आहारा प्रजातिको कमी, मानिससँगको द्वन्द्व, कृषि क्षेत्र विस्तार, प्रतिशोध स्वरुप मारिनु लगायत रहेको बताइएको छ ।
भोट गरेर परियोना उत्कृष्ट एकमा पर्न सक्यो भने यसले आर्थिक स्रोत जुटाउने मात्र नभएर पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताइएको छ । वन कुकुर (ढोले) प्रजातिको नामले चिनिने यो वन्यजन्तु कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो ।
पछिल्ला केही वर्षमा गरिएको अध्ययनले सो प्रजाति पुनः देखापरेको बताइएको छ । मादी गाउँपालिकाको क्षेत्रमा भेटिएका सो प्रजाति पुनः हराउन सक्ने अवस्था प्रति संरक्षणकर्मी चिन्तित छन् । बिगतमा स्थानीय समुदायसँगको द्वन्द्वको कारण वन कुकुर प्रजातिलाई ठूलो क्षति पुगेको यस क्षेत्रमा लामोसमयदेखि अध्ययन तथा संरक्षणमा संलग्न प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्य बताउँछन् ।
यसैले मादी गाउँपालिका विशेष गरी ताङतिङ गाउँमा यो प्रजातिलाई पर्यटन र आयआर्जनसँग जोड्ने योजना सहित परियोजना अघि बढाउने लक्ष्य रहेको बताइएको छ । वन कुकुरलाई स्थानीय समुदायले प्याउँ भनेर चिन्छन् । यस प्रजातिको संंरक्षणका लागि जनचेतना, पानीको स्रोतकालागि पोखरी निर्माण, नेचर गाइड तालिम, फोहर व्यवस्थापन लगायत संरक्षण कार्यक्रम सञ्चालन गरिनुपर्ने पनि उनले बताए ।
नेपाली वन कुकुर संरक्षण परियोजना उत्कृष्ट १ मा पर्न अब भने भोटको आवश्यक पर्ने परियोजनाका परिकल्पनाकारमध्येका एक सुमन सापकोटा बताउँछन् । वन कुकुर संरक्षणको साथै कास्कीको मादी गाउँपालिकोको पर्यटन विकासका लागि पनि परियोजना महत्वपूर्ण रहने भएकाले भोटिङ गरेर नेपाली परियोजना उत्कृष्टमा पार्न सहयोग मिल्ने उनले विश्वास गरे ।
तपाईको प्रतिक्रिया