मुख्यमन्त्री, मन्त्री, मेयरको उपस्थितिमा नाटक

पोखरा । पोखरा थिएटरद्वारा एक औपचारिक कार्यक्रममा लागुऔषध दुव्र्यसनीले समाजमा पारेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका बिषयमा सडक नाटक तयार गरी प्रदर्शन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी जिल्ला समन्वय समिती को “लागुऔषध नियन्त्रण महाअभियान २०८१/०८२”कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले पोखरा थिएटरले सडक नाटक प्रदर्शन गरेको हो । नाटकका निर्देशक नारायण न्यौपानेका अनुसार नाटकले लागुऔषध दुव्र्यसनीले समाजमा पारिरहेको नकारात्मक असर र रोकथामका लागि सरोकारवालाहरुको भूमिका झल्काउने प्रयास गरेको थियो ।
“पोखरा पनि लागुऔषध ओसारपसार तथा सेवन गर्नेहरुको मुख्य केन्द्रबिन्दु बन्दै गइरहेकोले आयोजकले यसप्रकारका नाटक प्रदर्शन गरेर समाजमा सकरात्मक सन्देश प्रवाहगरेको छ।” पोखरा थिएटरका सि इ यो परिवर्तनले बताउनु भयो ।
सडक नाटक प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रहरी प्रमुख, आमासमूह, शिक्षक, विद्यार्थी, अभिभावक, मानव अधिकार समूहका सदस्यलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
प्रकाश रेग्मीको ब्यवस्थापनमा भएको उक्त नाटकमा सुसन पौडेल, सुदर्शन बराल, उत्सर्ग सुवेदी, रन्जु दाहाल, बिदिसा न्यौपाने, बिपिन ओझा, श्रीकृष्ण भण्डारीको अभिनय रहेको थियो।
नाटक एक बाउले छोरालाई पढाउन गरेको संघर्ष र छोराले दुर्ब्यसनीमा परि गरेका क्रियाकलाप हरुलाइ समावेश गरि निर्माण गरिएको थियो।

तपाईको प्रतिक्रिया