चम्चा, पिलेट पुरस्कारले हौसिएका पुरुषोत्तम

धनबहादुर गुरुङ २०८१ चैत २० गते ६:०६

पोखरा । लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेका एकपछि अर्को गीत चर्चामा पुग्नुको कारण चम्चा पिलेट पुरस्कार हो । २०४३ मा यो पुरस्कार पाएपछि हौसिएका न्यौपाने त्यो बेलादेखि निरन्तर लोकसंगीतमा छाइरहे ।

Advertisement

रेडियोमा बजेका लोकगीत सुनेर दुरस्तै गाउन प्रयास गर्ने न्यौपाने अहिले रेडियो नेपालमै गुञ्जिरहेका छन् । ‘२०४३ सालतिर रेडक्रम दिवसको अवसरमा जनता मावि बिर्घामा हेनरी ड्युना दुखमा मलम लाउने खालका गीत गाउँदा म प्रथम भए,’ उनले भने, ‘त्यहाँ मैले चम्चा, पिलेट पुरस्कार पाएको थिएँ । त्यसपछि स्कुलका सरहरुले धाप मार्दिनुभयो । त्यसले मलाई झनै उत्साह मिल्यो ।’

अन्तर सदनात्मक राष्ट्रिय गीत प्रतियोगिताका लागि इतिहाससँगै केही किताबका हरफलाई टुक्का भरेको किस्सा उनी अझै सम्झन्छन् । ‘किताबकै हरफलाई गीत बनाएको देखेर झन खुसी मानेर स्याबासी दिनुभयो,’ उनले भने, ‘यो पढ्ने भनेपछि किताबलाई मैले गीतै बनाइदिन्थे । यी सबै कुरा गीत बनाएपछि सरहरुले त रेडियो जान सुझाव दिनुभएको थियो ।’

शिक्षकहरुको सुझावपछि २०४६ मा एसएससी परीक्षा दिएपछि गीतसंगीतकै लागि पाइला काठमाडौंतर्फ मोडिएको उनले सुनाए । ‘त्यो बेला निवेदनको ५ रुपैयाँ तिर्नुपथ्र्यो । त्यो बेला कोही चिनेको थिएन । साझा बसमा गएर रेडियो नेपाल पुगेर स्वर परीक्षा दिएर फर्किएँ,’ उनले भने, ‘गाउँ फर्केको केही दिनमा सेवाकर पाण्डे दाइले रजिस्र्टड चिठी मैले पाउने गरी स्कुलमा पठाइदिनुभयो । त्यसपछि बल्ल रेडियो नेपालको स्वर परीक्षाको पास भएको थाहा पाएको हुँ ।’

२०४६ को फागुनमा पोखरा सभागृहमा देशव्यापी लोकगीत सम्मेलन आयोजना भएको थियो । त्यति बेला भाग लिएर उत्कष्ृट १० मा परेको उनले सम्झिए । ‘स्याङ्जा सदरमुकाम पुगेर जिल्ला विकास समिति र जिल्ला प्रशासनको सिफारिस बोकेर आएर टप टेनमा परेको थिएँ,’ उनले भने, ‘उत्कृष्ट भएपछि बलाम देवीथान… बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएको हुँ ।’ सिफारिस लिन स्याङ्जा जाँदा सिफारिस दिनेलाई र रेकर्ड गर्न जाँदा सुरक्षा गार्डलाई गीत गाएरै फकाएको किस्सा पनि अझै रोचक छन् ।

Advertisement

एसएलसी पास गरेपछि आरआर क्याम्पस पढ्दा रेडियो नेपालमा गीत रेकर्ड गराएको पैसाले खर्च धानेको पनि उनले सुनाए । त्यो समयमा आफ्नै संकलन र आवाजका लागि २ सय ५० रुपैयाँ पारिश्रमिक पाएका थिए । ‘हुन २०४९ सालमा औपचारिक क्यासेटका रुपमा श्रीखण्ड चन्दन… गाएको हुँ तर, रेडियो नेपालमा स्वर परीक्षा पास गरेदेखि नै गाउन सुरु गरेको थिएँ,’ उनले भने, ‘त्यसरी नै पहिले रहरमा आइयो, म्युजिक नेपालमा गीतहरु रेकर्ड गर्न थालें । २०५४ सालदेखि फेवा डिजिटलबाट केही गीत रेकर्ड गरियो । पोखरा बसेर कहिले काठमाडौं कहिले पोखरा गर्दै यो क्षेत्रमा निरन्तर संघर्ष गरिरहेको छु् ।’

उनले गाएका धेरैजसो गीत चर्चामा छन् । उनका गीतमा विभिन्न संघ, संस्थाले एकल साँझ आयोजना गरिरहेका हुन्छन् । लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनको आयोजनामा २०६६ सालमा, फेवा डिजिटल स्टुडियोको संयोजनमा २०६८ सालमा एक साँझ भएका थिए । उनै गायक न्यौपानेको एकल साँझ तेस्रो पटक उनको गृहनगर पोखरामा हुँदै छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार दिउँसो ३ बजेदेखि न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरी साँझमा पुरुषोत्तमले १८ गीत सुनाउने जनाएको छ । कार्यक्रममा न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिने प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी दिइन् । सांगीतिक साँझमा प्रवेशका लागि शुल्क लाग्दैन ।

स्वदेशका प्रायः सबै जिल्ला र धेरै विदेशी भूमीमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् । उनले लोकगीतमा लगातार तीन पटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृत छन् ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया