अपांगता भएका व्यक्तिलाई आयआर्जनमा टेवा

स्याङ्जा । अपांगता भएका व्यक्तिहरूलाई सशक्त बनाउँदै आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने उद्देश्यका साथ अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रले पुतलीबजार नगरपालिकाको सहकार्यमा बाख्रा पालन तालिम तथा उन्नत जातका पाठी वितरण गरेको छ ।
अपांगता भएका १० जना व्यक्ति तथा उनीहरूका अभिभावकलाई बाख्रा पालनसम्बन्धी ज्ञान प्रदान गर्दै उन्नत जातका १÷१ वटा पाठी वितरण गरिएको हो । संस्थाले अपांगता भएका व्यक्तिहरूको आर्थिक जीवनशैलीलाई आत्मनिर्भर बनाउन छोटो अवधिमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरू महत्वपूर्ण उपलब्धिका रूपमा रहेको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले अपांगता सशक्तीकरण केन्द्रले सञ्चालन गर्दै आएका कार्यक्रमहरू प्रभावकारी रहेको धारणा राख्दै अपांगता सवालमा संस्थाबाट प्रवाह हुँदै आएको प्राविधिक सहजीकरणप्रति कृतज्ञता प्रकट गरे । उनले समावेशी विकासको दिशामा संस्थासँगको सहकार्य निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
नगर उपप्रमुख देवी अर्यालले तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्दै पाठीको उचित पालनपोषण गरेर आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गरिन् ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ईमबहादुर सेन, पत्रकार तथा संस्थाका सल्लाहकार भवानी अधिकारी, स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेल लगायतले यस्ता कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनमा सहयोग पुग्ने बताएका थिए ।
तालिमअघि पशु चिकित्सक डा. अनिल गौतमले वाखा पालनसम्बन्धी विविध विषयहरूमा प्राविधिक सहजीकरण गरेका थिए । त्यसपछि संस्थाका अध्यक्ष युवराज पराजुलीले पाठी पालन गर्ने व्यक्तिहरूले पालना गर्नुपर्ने मुख्य नियमहरूबारे जानकारी दिएका थिए ।
यो कार्यक्रम रिले (घुम्ती) प्रणालीमा आधारित भएकाले प्राप्त पाठीलाई टोल विकास संस्था वा वडा कार्यालयको सिफारिसमा अर्को अपांगता भएका व्यक्तिलाई हस्तान्तरण गर्नुपर्नेछ । साथै, बाख्रामा कुनै समस्या देखिएमा तुरुन्तै संस्था, टोल विकास संस्था वा वडा कार्यालयमा जानकारी दिनुपर्नेछ । पाठीको हिनामिना गर्न, काटेर खान, वा बेचबिखन गर्न पाइने छैन । पाठीको बिमा भने संस्थाबाटै गरिने व्यवस्था गरिएको छ ।
कार्यक्रमकै क्रममा पुतलीबजार–१, स्याङ्जा निवासी क्या। चित्रबहादुर मल्लले पत्नी हुमकुमारी मल्लको ४५ औं पुण्यतिथिमा संस्थालाई प्रदान गरेको ह्विलचेयर पुतलीबजार–९ कोल्मा निवासी शारीरिक अपांगता भएका कुलबहादुर गुरुङलाई हस्तान्तरण गरिएको छ ।
संस्थाले विद्यालय तथा क्याम्पसहरूमा अपांगता सचेतना अभियान, स्वयंसेवक छनोट तथा परिचालन, नीतिगत पैरवी, प्राविधिक सहजीकरण, क्षमता अभिवृद्धि तालिम, सहायक सामग्री वितरण, जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन लगायतका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र – नेपालले आगामी २०८१ चैत ३० गते आफ्नो स्थापनाको वार्षिकोत्सव मनाउने तयारी गरिरहेको जानकारी गराइएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष युवराज पराजुली र सञ्चालन सचिव नारायण रेग्मीले गरेका थिए ।

तपाईको प्रतिक्रिया