गण्डकी प्रदेश सभाको रेकर्डबाट ‘जय हिन्द’ शब्द हटाइयो

समाधान संवाददाता २०८१ चैत २२ गते १६:३६

पोखरा । गण्डकी प्रदेश सभाको चैत १८ गतेको बैठकमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानद्वारा प्रयोग गरिएको ‘जय हिन्द’ शब्द तथा सो सम्बन्धित वाक्यांश सभामुख कृष्णप्रसाद धितालको निर्देशनमा रेकर्डबाट हटाइएको छ।

Advertisement

सभामुख धितालले शुक्रबारको बैठकमा प्रदेशसभा सचिवालयलाई उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्। चुमानले सम्बोधनको क्रममा भनेका थिए, “नेपाली कांग्रेसका एक जना नेतालाई एक जना कार्यकर्ताले के छ हालखबर ? जय हिन्द त होला भनेको मैले सुनेको छु।” यही वाक्यलाई नियमावली विपरीत ठहर गर्दै रेकर्डबाट हटाइएको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने र सांसद डिल्लीराम सुवेदीले उक्त अभिव्यक्तिमा नियमापत्ति जनाउँदै गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम २० (घ) अनुसार अशिष्ट, अपमानजनक वा सार्वजनिक शिष्टाचार प्रतिकूल हुने शब्दको प्रयोग निषेध गरिएको उल्लेख गरेका थिए।

Advertisement

यस्तै, नेकपा (एमाले) सांसद देवका पहारी त्रिपाठीद्वारा चैत १३ गतेको बैठकमा प्रयोग गरिएको ‘फरक क्षमता भएका’ भन्ने शब्द पनि रेकर्डबाट हटाइएको छ। उक्त बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी विधेयकमाथिको छलफल भइरहेका बेला पहारीले सो शब्द प्रयोग गरेकी थिइन्।

कांग्रेस सांसद सुनिता थापाले नेपालको संविधान तथा औपचारिक प्रचलनमा ‘फरक क्षमता भएका’ भन्ने शब्द नरहेकाले हटाउन माग गरेपछि उक्त शब्द पनि रेकर्डबाट हटाइएको हो।

Advertisement

तपाईको प्रतिक्रिया