सम्पादकीय—पोखरा–बुटवल सडक विस्तार

समाधान संवाददाता २०८१ चैत २३ गते १०:२४

पोखरालाई सडक यातायातको माध्यमबाट सबैभन्दा पहिला सिद्धार्थ राजमार्गले जोडेको हो । २०२२ सालबाट भारतीय सीमा सुनौलीसम्मको यो सडक निर्माण सुरु गरी २८ सालतिर सकिएको थियो । खासगरी भारतसँगै व्यापारिक सामान आदानप्रदान हुने त्यो जमानामा यो सडकको महत्व बेग्लै थियो । राजधानी काठमाडौंसँग पृथ्वी राजमार्गबाट भन्दा पहिला पोखराले सिद्धार्थ राजमार्गबाट भारतसम्म जोडिने मौका पाएको थियो ।

Advertisement

२८ सालमा सुरु भएर ३१ सालमा सकिएको पृथ्वी राजमार्ग अहिले स्तरोन्नतिको अन्तिम चरणमा छ । ४ देखि ६ लेन फराकिलो बनिरहेको पृथ्वी राजमार्गले अब आवतजावतलाई निकै सजिलो पार्ने छ । त्यसबाहेक पोखराको पर्यटन र अर्थतन्त्रमै योगदान पुर्‍याउने विश्वास छ । सँगसँगै सिद्धार्थ राजमार्ग पनि विस्तार र स्तरोन्नतिको खबर पोखराका लागि सुखद हो ।


पोखरा–बुटवल सडक स्तरोन्नति परियोजना बनेको र त्यसका लागि १९ अर्ब ७५ करोड रुपैयाँ खर्च लाग्ने तथा केही वर्षमा त्यसलाई पूरा गर्न सकिने सरकारी प्रतिवेदन हालै सार्वजनिक भएको थियो । सडक स्तरोन्नतिका लागि गरिनुपर्ने वातावरणीय प्रभाव मूल्यांकनका लागि वन तथा वातावरण मन्त्रालयले काम प्रारम्भ गरिसकेको छ । सडक स्तरोन्नति गर्दा घरहरु पनि भत्काउनुपर्ने, रुखहरु काट्नुपर्ने लगायत काम हुने भएका छन् । त्यसको क्षति आकलन र क्षतिपूर्तिका लागि वातावरण प्रभाव मूल्यांकन सकिएपछि पक्कै सडक स्तरोन्नति सुरु होला ।


१५७ किलोमिटर सडकलाई ५० मिटर चौडाइको आधुनिक सडकमा रूपान्तरण गर्ने परियोजनाको परिकल्पना छ । सडक विस्तार गर्दा ३५५ घरधुरी, २१ संस्थागत भवन, १३ मठ–मन्दिरलगायत संरचना प्रत्यक्ष प्रभावित हुने देखिएको छ । वन विनास नहोस् वा रुख काट्नै परे पनि अन्त त्यसभन्दा धेरै रोपेर वातावरणीय क्षतिपूर्ति गराउनुपर्छ । स्थानीय बासिन्दालाई उचित मुआब्जा दिनुपर्छ ।

पोखरा—बुटवल, भैरहवा स्तरीय सडकमार्गबाट जोडिँदा भारतसम्मको आउजाउ सहज हुन्छ । पर्यटक स्थलमार्गबाट सजिलो गरी आउन सक्छन् । पोखराको पर्यटन र अर्थतन्त्रलाई त्यसको फेरि अर्काे उचाइमा पुर्‍याउन पक्कै मद्दत गर्ने छ । यस्ता ठूला सडक परियोजनाको काम सुरु हुने तर बेलामा नसकिने चर्काे रोग भने नेपालमा छ । यो परियोजनामा त्यस्तो नहोस् र पोखराले छिटै स्तरीय सडकबाट भैरहवा, सुनौली जोडिने मौका पाओस् ।

Advertisement

तपाईको प्रतिक्रिया