भएन भवन हस्तान्तरण, बनेन आइसियु

धनबहादुर गुरुङ २०८१ चैत २३ गते १०:४४

पोखरा ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल) मा सघन उपचार कक्ष (आइसियु) का १० वटा शड्ढया छन् । अस्पताल प्रशासनले यो संख्या कम भएको भन्दै थप्ने योजना बनाएको धेरै भयो । भवन अभावले समस्या त्यो लक्ष्य पूरा हुन सकेको छैन । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पतालमा भवनको अभाव त होइन तर, रेट्रोफिटिङ गरिएको भवन हस्तान्तरण नहुँदा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

Advertisement


अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीका अनुसार निर्माण कम्पनीले पैसा नपाएका कारण हस्तान्तरणको काम रोकिएको हो । ‘निर्माण कम्पनीले पैसा पनि पाएका छैनन् अनि काम पनि पूरा भएको छैन,’ उनले भने, ‘पुरानो भवन रेट्रोफिटिङ गर्दा १ सय बेड रोकिएको छ ।’

यसले गर्दा अस्पतालले समस्या भोग्नुपरेको उनले सुनाए । प्रदेश राजधानीको मुख्य यो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत छ । रेट्रोफिटिङ गरी पुराना भवनको स्तरोन्नति गरिएको छ । अस्पतालका सबैजसो भवन रेट्रोफिटिङ गरी तयार भए पनि केही भवन हस्तान्तरण नहुँदा बेलाबेलामा बिरामीलाई भुइँमा राखेर सेवा दिनुपर्ने बाध्यता छ ।


अस्पतालमा दैनिक बहिरंग (ओपिडी) सेवा लिने बिरामी औसत १ हजार ५ सय, आकस्मिक सेवा लिन आउने करिब १ सय र दैनिक भर्ना हुने बिरामीको संख्या करिब ८०–९० जनासम्म हुन्छ । तीमध्ये केही आइसियुमै भर्ना गरी राख्नुपर्ने पनि हुन्छ । १० भन्दा बढि आइसियुमा राख्नुपर्ने बिरामी भएमा अन्यत्र रिफर गर्नुपर्ने बाध्यतामा रहेको निर्देशक प्राडा खत्रीले बताए ।


आकस्मिक कक्ष, सर्जिकल, मेडिकल र आइसियुमा बिरामीको चाप धान्न मुस्किल पर्ने गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको वेबसाइटमा उपलब्ध तथ्यांक अनुसार पनि गएको शुक्रबार १ हजार ६ सय ४९ बिरामीले सेवा लिएका थिए । उनले भने, ‘बिरामीको फ्लो त हाम्रोमा जति त कसैको पनि छैन् । दैनिक हजार, १२ सय नर्मल हो ।’

Advertisement

करिब करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले यसका लागि पहल भइरहेको छ


बनिसकेका भवनहरू मात्र हस्तान्तरण हुँदा पनि बिरामीलाई सेवा दिन सहज हुने अस्पतालका निर्देशक प्राडा खत्रीले बताए । ‘एउटा ब्लक हस्तान्तरण नहुँदा १ सय बेड रोकिएको छ । आइसियु पर्याप्त नहुँदा बिरामीले दुख पाइरहेका छन् । हामीले १५ वटा थप गरी २५ वटा बनाउने भनेको ठाउँ अभावका कारण काम गर्न पाएका छैनौं,’ प्राडा खत्रीले भने, ‘पोष्ट अपरेसन सार्ने भनेका थियौं त्यो पनि भएको छैन् । त्यसले गर्दा अपरेसनको डेट परपर सर्दा पनि गाह्रो भइरहेको छ ।’


भवन रेट्रोफिटिङको काम संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयले गरिरहेको अस्पतालका ईन्जिनियर सुनिल अधिकारीले बताए । पछिल्लो केही महिनायता काम ठप्प रहेको उनले बताए । भवन हस्तान्तरण, निर्माण सबै काम संघीय कार्यालयबाट भएकाले अन्योल नै रहेको उनको भनाइ थियो ।


बिकोई रौताहा पिके जेभीले २०७९ असार २८ गते सक्ने गरी ५४ करोड १ लाख ९७ हजार रुपैयाँमा परियोजनाको ठेक्का पाएको थियो । अस्पतालमा दुई नयाँ भवन बनाउने, एउटा भत्काएर बनाउने र बाँकी सबै भवन रेट्रोफिटिङ गर्ने गरी २०७७ असार ३१ गते देखि काम सुरु गरिएको थियो । उक्त परियोजनामा यूके एडको सहयोग रहेको थियो ।


२ वर्षमा सक्नुपर्ने काम भवन भत्काउनु पर्ने, बेड सार्नुपर्नेलगायत विविध कारणले निर्धारित समयमा काम सकिएन । त्यसपछि युकेएडले परियोजनाबाट हात झिक्यो । युकेएडले हात झिकेपछि संघीय स्वास्थ्य मन्त्रालयको स्टेरिङ कमिटीले काम सुरु भइसकेका भवनको रेट्रोफिटिङ नरोक्न निर्देशन दिएको थियो । निर्माण कम्पनीले काम रोकेको थिएन् तर, पछिल्लो समय काम बराबरको रकम भुक्तानी नगरेपछि भवनको रेट्रोफिटिङको काम नै रोकिएको छ ।


यता, संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराकी प्रमुख सुनिता श्रेष्ठले निर्माण कम्पनीले पाउनुपर्ने रकमका लागि पहल भइरहेको बताइन् । करिब करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले यसका लागि पहल भइरहेको उनले सुनाइन् । सम्पन्न भएर सिर्जित भएको दायित्व भुक्तानीका पोखरा कार्यालयबाट केन्द्रमा लेखिपठाइ सकिएको छ,’ उनले भनिन्, ‘मन्त्रालयबाट बजेटको व्यवस्था भएपछि ठेक्का टुंगिने क्रममै छ ।’ संघबाट रकमान्तर भएर बजेट बजेट सुनिश्चित गरिएको पत्र प्राप्त नभएपनि मौखिक रुपमा अनौचारिक जानकारी आएको उनले बताइन् ।


सुरु नै नगरेका नगर्ने भन्नेबाहेक काम सुरु भएका काम लगभग सकिएको प्रमुख श्रेष्ठले जानकारी दिइन् । ‘धेरै जसो भवन हस्तान्तरण भएर सञ्चालनमा आएको छ । अब एउटा मात्र ब्लक बाँकी हो त्यो पनि सम्पन्न भएर बसेको छ । भुक्तानी भएसी गर्ने की भुक्तानी हुँदै गर्छ अहिले ह्यान्डओभर गरौं भन्नुहुन्छ कि भन्नुहुन्छ माथिको कुरा भयो,’ उनले भनीन्, ‘बेलायतको स्रोत सहयोग अन्त्य भएपछि केही सुरु नै नगरिएका बाहेक हात लगाएका सुरु गरिएका सबै सम्पन्न भएका छन् ।’


केही भवन रेट्रोफिटिङ र नयाँ भवन निर्माण सम्पन्न भएर हस्तान्तरण गरी सेवा सञ्चालन गरिसकिएको उनले जानकारी दिइन् । बिमा भवन, फार्मेसी, औषधी, ओपिडी, म्याटनरनिटीको ३ वटा ब्लक, ल्याब, क्यान्टिन, मेडिकल ब्लक हस्तान्तरण भई सञ्चालनमा आइसकेका छन् । पेडियाट्रिक (बाल) ब्लकको रेट्रोफिटिङको काम सकिएर सञ्चालनमा आउनमात्र बाँकी रहेको उनले सुनाइन् ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया