
पोखरा ।
पाेखरा महानगरपालिका २५ हेमजाका खेतबारी मात्र हाेइन, गाउँ नै आलुकाे बासनामा पुरिएकाे छ । विष्णु पादुका क्लबको आयाेजनामा आइतबार देखि १३ औं आलु महाेत्सव सुरु भएकाे छ । महाेत्सवले हेमजामा चहलपहल बढाएकाे छ साथै कृषीमा नयाँ उर्जा र सम्भावना थपेकाे छ । स्थानीयहरु आलुको माला लगाएर, अन्य तरकारी बाेकेर बाजागाजा सहित नाँच्दै हिँडिरहेका छन् ।
चाैरकाे बिच भागमा बनाइएकाे आलुकाे पहाड महाेत्सवकाे मुख्य आकर्षण बनेकाे छ । हजाराैं आलु मिलाएर बनाइएकाे पहाडले महाेत्सवमा आउनेकाे ध्यान तानेकाे छ । हेमजा पाेखराकाे आलु पकेट क्षेत्र हाे । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।
कृषक राजकुमारी कुँवरले देशभर कृषि पेशाप्रतिको मोह घट्दै गएपनि पोखरा हेम्जामा भने कृषिप्रति आकर्षण बढ्दो रहेकाे बताइन् । महोत्सवले हेम्जाको मात्र नभई पोखरा महानगरको पहिचान बनाउँदै नेपालभरि र विश्वमा समेत छुट्टै पहिचान बनाएको उनकाे भनाइ छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खाने आलु मात्र सिमित नभइ व्यवसायिक आलु खेतीतर्फ उन्मुख हुनुपर्ने बताए । अर्काे वर्ष अझ व्यवस्थित तरिकाले आलु खेती गर्नुपर्ने बताउँदै यसका लागि महानगरले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
‘आलु खेतीमार्फत पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिन्छ भन्ने कुराको उदाहरण क्लबको कामले देखाएको छ,’ मेयर आचार्यले भने, ‘पोखरामा तरबुजा खेती सफल भएको छ, आलुमा पनि सम्भावना छ।’
उनले महानगरका प्रत्येक वडामा एउटा पकेट क्षेत्र विकास गर्ने योजना रहेको जानकारी दिए।

पोखरा महानगरपालिका २५ हेमजाका वडाध्यक्ष मोती तिमिल्सिनाले आलु महोत्सवले हेमजाको मात्र नभइ पोखराकै पहिचान बोकेको बताए । महोत्सवले आलुलाई मात्र नभइ स्थानीय संस्कृती, बाजालाई पनि उजागर गर्ने प्रयास गरेको उनको भनाइ छ । आलुका माला गहना बनाएर आलुको प्रवद्र्धनका लागि सहयोग पुगेको उनले बताए ।
आलु महोत्सव सुरु भएदेखि आलु बजारसम्म लाने झन्झटबाट मुक्त भएको र उत्पादित आलु महोत्सवबाटै बिक्री वितरण हुने गरेको विष्णुपादुका क्लबका उपाध्यक्ष राजेन्द्रबहादुर थापाले बताए । महोत्सवका कारण कृषकको उत्पादनले बजार पाउने र भाउ पनि राम्रै पाउने थापा विश्वत देखिए ।
महोत्सव प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ व्यवस्था गरिएकाे छ । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु कारोवार हुनेछ । महोत्सव वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ।


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया