प्रदूषित हावाले ढाकियो पोखरा

(केही दिनअघिसम्म वायु प्रदूषण सूचकांक १८० देखि २३० सम्म पुगेर ‘अस्वस्थकर’ र ‘अत्यन्तै अस्वस्थकर’ अवस्थामा पुगेको थियो)
पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार दिउँसोबाट कुनै पनि उडान हुन सकेन । त्यसको कारण हो वायु प्रदूषण । बिहान नियमित उडान भएपनि ह्वात्तै प्रदूषण बढ्दा उडान अवरुद्ध बने । भिजिबिलिटी नपुग्दा उडान अवरुद्ध भएको विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन् । उनका अनुसार विगत केही दिनयता वायु प्रदूषणको मात्रा उच्च रहँदा उडान प्रभावित हुँदै आएका छन् । यद्यपि पोखरामात्र नभएर समग्र नेपालकै प्रदूषणको दर उच्च हुँदा जनजीवन प्रभावित हुँदै गएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको हेल्पडेक्सले आइतबार दिउँसो एक हजार मिटरमात्र भिजिबिलिटी रहेको जनाएको छ । हावामा प्रदूषणको मात्रा बढ्दा कुहिरो लाग्ने, हावाको चाप बढ्दा भिजिबिलिटी कम हुने समस्या देखिएको छ । विमान अवतरणका लागि कम्तीमा २७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । धुवाँ र कुहिरोले गर्दा भिजिबिलीटी नपुगेको हो ।
एयरपोर्ट पुगेका यात्रु पर्खेर फर्किन बाध्य छन् । आइक्वुएयरका अनुसार आइतबार पोखराको वायु गुणस्तर सूचकांक (एक्वुआई) ९८ मापन गरिएको छ । जुन ‘मध्यम’ श्रेणीमा पर्छ । यद्यपि, केही दिनअघिसम्म यो सूचाकांक १८० देखि २३० सम्म पुगेर ‘अस्वस्थकर’ र ‘अत्यन्तै अस्वस्थकर’ अवस्थामा पुगेको थियो । अत्यधिक प्रदूषणले गर्दा आइतबार दिउँसैबाट विमानस्थलमा प्लेन उड्न नसेका हो । आइक्युएयरले स्याटलाइटको माध्यमबाट संसारभरिका सहरहरुको हावाको गुणस्तर मापन गर्ने गरेको छ । पोखराको यो तथ्यांकले यहाँको हावा अस्वस्थकर बन्दै गएको पुष्टि गर्छ ।
एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि जानुचाहिँ घातक ठानिन्छ ।
यति बेला पोखराको आकाश धुम्मिएको छ । तापक्रमसमेत बढेको छ । धुवाँ र प्रदूषित वायुले पोखरावासीको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । अस्पतालहरूमा दम, खोकी, एलर्जी, आँखामा जलन, र टाउको दुखाइका बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको चिकित्सकहरूले बताएका छन् । वृद्ध, बालबालिका र दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
पोखराबाट पर्यटकहरूको मुख्य आकर्षण मानिने माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरि लगायतका हिमशृंखलाहरू कुहिरोमा लुकेका छन् । पर्यटकहरूले होटलमै समय बिताउनु परिरहेको र पर्यटन व्यवसायमा मन्दी देखिन थालेको पोखराका व्यवसायीहरूको भनाइ छ । ‘पोखरा घुम्न आएको २ दिन भयो । बेगनासताल पुग्दा पनि धुमिल छ । हावामा तुवालो बढ्दा ताल समेत छोपिएको छ,’ काठमाडौंबाट पोखरा आएका हरि भुजेलले भने, ‘फेवातालको अवस्था पनि यस्तै छ । डाँडातिर पुगेर तल बजार हेर्न पनि नपाइने भएपछि हामी अहिले होटल भित्रै छौं ।’
विशेषज्ञहरूका अनुसार हालको प्रदूषणका प्रमुख कारणहरूमा निजी सवारी साधनको अत्यधिक प्रयोग, निर्माण कार्यमा धुलो नियन्त्रणको अभाव, खुला रूपमा फोहोर जलाउने प्रवृत्ति, आसपासका जंगलमा लागेको डढेलो र भारतबाट आउने धुवाँयुक्त हावाको प्रवाह छन् । वातावरणविद्हरूले सार्वजनिक सवारी प्रयोगलाई प्रोत्साहन, हरियाली क्षेत्रको संरक्षण र नागरिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।
बिहीवार फेसबुकमा एउटा पोस्ट लेख्दै चिकित्सक डा अनुप सुवेदीले यस तहको प्रदूषणबाट ‘हजारौँ मानिस अस्पताल पुगिसकेको हुनुपर्ने’ र अहिले संकटकाल मान्नुपर्ने तहको अवस्था रहेको औँल्याउँदै निर्णय गर्ने दिनदिनै ढिलो भएको टिप्पणी गरेका छन् ।
तपाईको प्रतिक्रिया