आलु महोत्सवमा गीत संगीतको रौनक

पोखरा । हेमजामा १३ औं संस्करणको आलु महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन सोमबार लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरि ढुंगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतले प्रस्तुति राखे ।
उनीहरुको प्रस्ततिमा दर्शक मन्त्रमुग्ध बने, छम्छमी नाचे । राजुले पर्यो मलाई रुन मायालु, सुन पानीले छर्क मायालु, फूलमा भमरा, डाली पलायो, आँधी खोला उर्लेर आयो, शिलाले गोर्खा कालिका, तिम्रो माया जीन्दगी भरीलाई लगायतका गीत सुनाए ।
आलु र कृषिका भाखाहरु समेत उनीहरुले गाए । गीतसँगै महोत्सव संगीतमय बनेको महशुस दर्शकले गरे । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा मेला भएको हो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान छन् । कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए ।
मंगलबार कलाकार खुमन अधिकारी, जीवन दाहाल, माया गुरुङ, नवीन पौडेल, नवीना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, दीपक थापा लगायतले दर्शकलाई मनोरञ्जन दिने छन् । २०७८ को जनगणना अनुसार हेमजामा ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् । हेमजाको १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गरेका छन् ।
यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत १८ हजार ५ सय ५७ रहेकोमा औषत उत्पादन ७ सय ५ केजी प्रतिरोपनी छ । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोबार भइरहेको छ । महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।
तपाईको प्रतिक्रिया