गण्डकीका नीति तथा योजना आयोग सदस्यले लिए सपथ

समाधान संवाददाता २०८१ चैत २४ गते २०:२९

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका २ सदस्यले सोमबार सपथ दिएका छन् । आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले प्रमुख सचिव र सचिवहरुको उपस्थितिमा सपथ खुवाएका हुन् । सरकारले पर्वत फलेवासका डा. योगेन्द्रराज रिजाल र कास्की पोखराकी दुर्गा लामिछानेलाई गत २२ गते सदस्यमा नियुक्त गरेको थियो । रिजाल एमाले र लामिछाने कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।

Advertisement

सथथपछि दुवैजनाले प्रदेशको समृद्धि र हितका लागि आफूहरुले सक्दो प्रयास गर्ने बताए । सुरुका केही दिन संरचना बुझ्न र जानकारी लिन लाग्ने भए पनि त्यसपछि आफूहरुले पाएको जिम्मेवारी निर्वाह गर्न नचुक्ने प्रतिबद्धता उनीहरुले जनाएका छन् ।

पर्वतको फलेवासका रिजालले स्थानीय तहको नीति तथा योजना विषयमा पिएचडी गरेका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुसँग मिलेर विभिन्न अध्ययन र अनुसन्धान गरेको अनुभव उनीसँग छ । उनले गण्डकी प्रदेश सरकारले गठन गरेको कालीगण्डकीको सम्भाव्यता अध्ययन समितिको सदस्य रहेर काम गरेका थिए ।

कास्कीको लेखनाथकी लामिछाने नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । अधिवक्तासमेत रहेकी लामिछानेले विकास अध्ययनमा स्नातकोत्तर गरेकी छन् । उनी इन्टरनेसल रिलेसन र डिप्लोमेसीमा पिएचडी स्कलर हुन् ।

नर्वेजियन रेडक्रसमा काम गरिसकेकी उनीसँग विभिन्न विकास साझेदार र संस्थासँग कन्सल्टेन्सी गरेको अनुभव छ । नवनियुक्त सदस्यहरुको सपथ सोमबार हुने भएको छ ।

Advertisement

मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले पद जोगाउन राप्रपा र नेपाल समाजवादीको साथ लिएका थिए । त्यसैको गुन तिर्न उनले दुवै पार्टीलाई आयोगमा सदस्य दिएका थिए । तर अहिले सत्तारुढ दल एमालेको दबाबका कारणले २ सदस्यलाई राजीनामा दिन लगाइएको हो । नेपाल समाजवादी पार्टी नयाँशक्तिको कोटाबाट नियुक्त माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त दीपक भण्डारीले सरकारकै दबाबमा चैत १७ मा राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया