जो ह्विलचियरमा बसेर बाजा बजाउँछन्

समाधान संवाददाता २०८१ चैत २५ गते १२:३१

गलकोट ।
चैतेदसैँको अवसरमा कालिका मन्दिर पुग्ने जंगलको बीच भागमा ९ जनाले नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका छन् । पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उनीहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गर्ने गरेका छन् ।

Advertisement


नौमध्ये २ जनामात्रै सबालाङ्ग छन् । उनीहरूको समूहमा २ महिला र ७ पुरुष सहभागी छन् । बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बालउद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्दछ ।


नौमती बजाउनेमध्ये ७ जना शारीरिक रूपमा अशक्त रहेको ध्रुव नेपालीले बताए । ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जनमा सहज भएको उनले सुनाए ।


‘अपांगता भएकाहरू एकजुट भएर बाजा बजाउन सिकेका हौँ । ढाड भाँचिए पनि परिवारको खर्च जुटाउनुपर्ने बाध्यता छ । त्यसै मागेर हिड्नुभन्दा नौमती बाजा बजाएर कलाको संरक्षणसँगै खर्च संकलनको पहल थालेका हौँ । बाजा मन पर्नेले दिनुभएको रकमबाट घर खर्च चल्ने गरेको छ’, उनी भन्छन्, ‘कामसहित प्रतिभा देखाए सबैले माया गर्नुहुन्छ । संकलन भएको रकम ९ जनाले बाढेर घर खर्चको जोहो गर्दछौँ ।’


दाताले दिएको थोरै रकमले पनि आफूहरूलाई राहत मिल्ने गरेको जनाउँदै मेला, पर्व तथा मानिसको आवतजावत र घुइँचो बढी हुने क्षेत्रमा ह्विलचियरमै बसेर नौमती बाजा बजाउने गरेको भूमीराज थापाले उल्लेख गर्छन् । समूहमा सात जना अपांगता भएका व्यक्ति रहेको जनाउँदै उनले सातै जनाको ढाडसम्बन्धी समस्या रहेको उल्लेख गरे ।

Advertisement


कसैको भिरबाट लडेर, कसैको सवारी दुर्घटनामा परेर ढाड भाँचिएपछि ह्विलचियरको सहारा लिँदै आएको उनको भनाइ छ । ‘सबैमा ढाडको समस्या छ, उहाँहरू हिड्न सक्नु हुँन्न । ह्विलचियरमा बसेरै बाजा बजाएर संकलन भएको रकमले घर खर्चको जोहो हुँदै आएको छ । चैतेदसैँ मेलामा अझै तीन दिन बाजा बजाएर पोखरा फर्कर्ने योजना छ,’ थापाले थपे, ‘अपांगताले प्रतिभालाई छेक्ने रहेनछ, अहिले मेला महोत्सवमा बाजा बजाउँदा धेरैले माया र सम्मान गर्नुहुन्छ ।’


शारीरिक अपांगता भएकाले टाढा टाढा जान भने समस्या भएको धना मगरले गुनासो गरिन् । ‘शारीरिक रूपमा अशक्त भए पनि कला र प्रतिभा देखाउन सकेमा यसको संरक्षण हुनुका साथै जीविकोपार्जनमा पनि सहजता हुन्छ’, उनी भनिछन् । धनाले सडकको पहुँच पुगेका स्थानमा बाजा बजाउन जान सहज हुने बताउँदै मेला, पर्वमा आफूहरू बाजा बजाउँदै आएको अनुभव सुनाइन् ।

तपाईको प्रतिक्रिया