ऋणीलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण

समाधान संवाददाता २०८१ चैत २६ गते ६:४४

बागलुङ । बागलुङमा सहकारीप्रतिको नकारात्मक भ्रम चिरेर ऋणीलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण लगाइएको छ । सिवाइसी सहकारी बागलुङले मंगलबार सहकारीबाट ऋण लगेर ऋण तिर्न कठिन भएका सदस्यको ग्रहशान्ति गर्न र सदस्यलाई जागरुक बनाउन पुराण लगाएको हो ।

Advertisement

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले ऋण लगेकाले नतिर्ने र बचतकर्ताले विश्वास नगर्ने भएपछि पुराण लगाएरै सचेत गराइएको बताए । उनले सदस्यलाई जागरुक बनाउन सकेमा मात्रै सहकारीको भविष्य राम्रो रहेको भन्दै आफ्नो सहकारीले सदस्यमैत्री भएर काम गरिरहेको बताए ।

अध्यक्ष पौडेलले पछिल्लो समय सहकारीले गरेको राम्रो काम ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गरे । “नेपालमा ३२ हजार सहकारी संस्था छन् । जसमध्ये पाँच सयदेखि एक हजार सहकारी बिग्रेका होलान् । ३१ हजार सहकारीले राम्रो काम गरिरहेका छन्,” अध्यक्ष शर्माले भने, “३१ हजार सहकारीले राम्रो काम गरेको ओझेलमा पारेर एक हजार बिग्रेका नराम्रो कामको पछि हिँडेका छन् । हामीले नकारात्मक मात्र कुरा नगर्नूस् भन्न पुराण लगाएका हौँ ।”

सदस्यलाई जागृत गर्न सकेमा मात्रै सहकारीको भविष्य राम्रो रहेको अध्यक्ष शर्माको भनाइ छ । उनले सहकारीले पनि सदस्यमैत्री भएर काम गर्नुपर्नेमा जोड दिए । सिवाइसीले सदस्य जागृत गर्न र ऋणीलाई ऋण तिर्न प्रेरित गर्न पुराण लगाएको शर्माको भनाइ छ ।

सहकारीको ऋण नतिर्नेलाई कालो सूचीमा राख्ने प्रावधानले सहकारी अभियानलाई खुसी तुल्याएको अध्यक्ष शर्माले बताए । “ऋण लगेर नतिर्दा सामाजिक रूपमा बहिष्कारमा त परिन्छ नै, ऋण नतिर्नेलाई धार्मिक रूपमा समेत पाप लाग्ने, कल्याण नहुने र नर्कमा जाने कुरा पुराण लगाएर पण्डितको मुखारबिन्दबाटै सुनाइएको छ,” शर्माले भने । सहकारीले सदस्यमैत्री सेवा दिएमा हल्लाका भरमा सहकारी नडुब्ने बताउँदै सदस्यलाई भ्रमबाट मुक्त गर्न सदस्य जागरण अभियान सञ्चालन गरिएको उनले बताए ।

Advertisement

सहकारी पुराण कार्यक्रममा प्रवचन दिँदै यतिराज आश्रम सहश्रधारा पर्वतका पीठाधिश्वर स्वामी नारायणाचार्यले वेदमै सबैले सबैको भलो गर्नुपर्ने लेखिएको बताउँदै ऋण लिएर नतिर्नेको कल्याण नहुने बताए । “वेदमा सबैले सबैको भलो गर्नुपर्ने लेखिएको छ,” नारायणाचार्यले भने, “कसैको रकम फिर्ता गर्ने सर्तमा लिइन्छ भने सर्त अनुसार फिर्ता गर्नु पर्छ । फिर्ता नगरेमा कल्याण हुँदैन ।” उनले ऋण नतिर्दा हुन सक्ने मानसिक र सामाजिक क्षतिको विषयमा समेत जानकारी लिन सदस्यलाई आग्रह गरे । सहकारी पुराणमा प्रवचनसँगै भजनकीर्तनसमेत प्रस्तुत गरिएको थियो । सिवाइसीले ऋण सङ्कलन गर्न र सदस्यलाई क्रियाशील बनाइराख्न चैत १३ गतेदेखि सदस्य जागरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया