
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका युवापंक्ति यतिबेला स्थानीय स्तरको प्राकृतिक तथा जैविक सम्पदा जोगाउन जुटेका छन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ अन्तर्गत घरपझोङ गाउँपालिकाले उनीहरुलाई पालिकाभित्रका प्राकृतिक तथा जैविक सम्पदाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने कामकाजमा खटाइएको हो ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत स्थानीय स्तरका बेरोजगार युवायुवतीलाई प्राकृतिक स्रोतको रक्षा गर्न परिचालन गर्ने गरी यो कार्यक्रम नियमित कार्यान्वयनमा रहेको छ । गाउँघरका बेरोजगार युवायुवतीलाई अल्पकालीन रोजगारी सिर्जना गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रममा संघीय सरकार र विश्व बैंकबाट वैदेशिक सहायता रकम उपलब्ध हुँदै आइरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवाहरूको सीप क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्राकृतिक सम्पदाको अपनत्व दिलाउने, न्यूनतम रोजगार उपलब्ध गराउने र बेरोजगारी समस्यालाई न्यूनीकरण गर्दै लैजाने सरकारको उद्देश्य रहेको घरपझोङ गाउँपालिकाको रोजगार सेवा केन्द्रकी संयोजक शर्मिला श्रीसले जानकारी दिइन् । यस प्रकारको प्रधानमन्त्री रोजगार कार्यक्रमले पालिकाभित्रको जीर्ण अवस्थामा रहेको प्राकृतिक सम्पदालाई संरक्षण तथा विकास गर्न टेवा पुगेको संयोजक श्रीसको भनाइ छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय सरकारबाट ११ लाख ४९ हजार र वैदेशिक सहायता ३० लाख ४० हजार गरी ४१ लाख ८९ हजार पुँजीगत बजेट विनियोजन भएको रोजगार सेवा केन्द्रकी संयोजक श्रीसले बताइन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय बेरोजगार अवस्थामा रहेका युवायुवतीलाई पर्यटकीय पदमार्ग स्तरोन्नति, छपनी ढुंगा मिलाउनेदेखि बिछ्याउनेसम्म, सिँचाइ कुलो मर्मत–सुधार, रैथाने बाली बिरुवाको वृक्षारोपण, सरसफाइ तथा कृषि गह्रा सुधार लगायतका काममा परिचालन गरिएको संयोजक श्रीसले उल्लेख गरिन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा गाउँपालिकाका पाँचवटै वडामा युवाहरूलाई रोजगारमूलक काममा व्यवस्थापन गरिएको छ । जस अन्तर्गत वडा नम्बर १ को छैरो–चिमाङ गाउँमा छापनी ढुंगा बिछ्याउने, सिँचाइ कुलो मर्मत–सुधारका साथै पर्यटकीय पदमार्ग मर्मत–सम्भार लगायत कामको जिम्मेवारी दिइएको छ । वडा नम्बर २ मार्फामा सिँचाइ कुलो मर्मत सम्भार, रैथाने बालीको वृक्षरोपण तथा सरसफाइका साथै खेतबारीको गरा सुधारको काममा खटाइएको हो । वडा नम्बर ३ स्याङ गाउँमा सिँचाइ कुलो मर्मत सम्भार भइरहेको छ ।
यसैगरी वडा नम्बर ४ जोमसोममा धोफु (ढुंगे ओढार) जाने सडक मर्मत–सम्भार सुरु गरिएको छ । वडा नम्बर ५ ढुम्बा गाउँ अन्तर्गत ढुम्बाबाट कुछप–तरेंगा गुम्बा जाने जीर्ण बाटो मर्मत सम्भार भइरहेको छ । सोही वडाको भुतीधाङमा वृक्षरोपण क्षेत्र सरसफाइका साथै पार्क निर्माण तथा मर्मत सम्भारको काम भइरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई एक सय दिनसम्म दैनिक ७ सय ६० रुपैयाँ ज्यालासहित स्थानीय सम्पदा जोगाउने काममा खटाइएको रोजगार शाखाकी संयोजक श्रीसको भनाइ छ । उनीहरुलाई दैनिक ८ घण्टा काममा लगाउने गरी सम्बन्धित वडामा त्यहीँका युवायुवतीलाई व्यवस्थापन गरिएको उनले जानकारी दिइन् ।
चालु वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा मुस्ताङको घरपझोङ गाउँपालिकाको रोजगार सेवा केन्द्रले पालिकाका पाँचवटै वडामा ५५ जना युवा जनशक्ति व्यवस्थापन गरेको संयोजक श्रीसले बताइन् । रोजगार कार्यक्रममा सहभागी युवायुवतीलाई फिल्डमा काम गर्दा जोखिम नहोस् भन्ने हेतुले आवश्यक सुरक्षा सामग्रीका साथै काम गर्ने घरेलु उपकरणको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकालाई गत वर्ष रोजगारी सिर्जना गर्ने गरी संघीय सरकारबाट २१ लाख ४९ हजार र वैदेशिक ऋण सहायता २८ लाख ५८ हजार बजेट विनियोजन गरिएको थियो । गत वर्ष रोजगार सेवा केन्द्रले पाँचवटै वडामा ६५ जनालाई अल्पकालीन रोजगारी उपलब्ध गराएको संयोजक श्रीसले उल्लेख गरिन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया