तुलसीघाटको पुल अन्तिम चरणमा

समाधान संवाददाता २०८१ चैत २६ गते १७:३०

पोखरा ।
पोखरा महानगरपालिका ९ तुलसीघाटमा निर्माणाधिन ‘आर्कब्रिज’ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुलका सबै संरचना बनिसकेका छन् भने पुल वारीपारि सडक निर्माणको काम बाँकि छ ।

Advertisement


भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सडक विभाग पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले करिब ९५ प्रतिशत काम सकिएको जानकारी दिए । आगामी असार सम्ममा पुल निर्माण भइसक्ने उनको भनाइ छ ।


सम्झौता गरिएको समयमै निर्माण सक्ने गरि काम भइरहेको सुवदीले बताए । ‘केहि दिन काम रोकिएको हो, अब दुई/तीन दिनमा काम पुन सुरु हुनेछ । निर्माण कम्पनिले समयमै काम सक्ने गरि काम गरिरहनुभएको छ,’ उनले भने ।


पुलको संरचनात्मक निर्माण भइसकेको र अब सतह (वेयरिङ कोर्ष)को काम हुने सुवेदीले बताए । उनका अनुसार पुलको सबैभन्दा माथिल्लो तहलाई वेयरिङ कोर्स भनिन्छ । सतहमा सवारी साधनको सीधा सम्पर्क हुने भएकाले यसको गुणस्तरले पुलको दीर्घकालीन टिकाउमा ठूलो प्रभाव पार्छ । वेयरिङ कोर्सले पानीको निकास, सवारी चलाउँदा उत्पन्न हुने घर्षण र लोडको प्रभाव कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । यदि सतह कमजोर भयो भने चिरा पर्न, सतह उखेलिन र पुलमै क्षति पुग्न सक्छ ।


पोखराको इन्द्रेणी निर्माण कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १२ करोड, ८० लाख रुपैयाँ लागतमा तुलसीघाटमा पुल निर्माणको ठेक्का पाएको हो । ‘आर्कब्रिज’ पुल ६५ मिटर लामो र ११ मिटर चौडाइको रहेको छ ।

Advertisement


पुल निर्माणमा ढिलाई हुँदा महेन्द्रपुल, पृथ्वीचोकमा दैनिक जाम पर्ने समस्या परेको छ जसका कारण पोखरावासी हैरान छन् ।


पोखरा महानगरपालिका वडा नम्बर ९ वडाध्यक्ष दिपेन्द्र मर्सानी र ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले महेन्द्रपुल पुननिर्माण र तुलसीघाटको पुलको निर्माण छिटो सक्न माग गरेका छन् । सडक डिभिजन पोखराका प्रमूख नवराज वस्तोला र पुल सेक्टर प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


जिर्ण अवस्थामा रहेको महेन्द्रपुललाई तत्काल मर्मत गर्नुपर्ने र निर्माणाधीन तुलसीघाटको पुललाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन समेत उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया