फूल जस्तै प्रिय मगरगाउँकी फूलमाया फूपू

समाधान संवाददाता २०८१ चैत २७ गते ५:५१

पोखरा । कम्मरमा भिरेको मादल घन्काउँदै उनी आफैं टुक्का हाल्न सुरु गर्छिन् । अनि, अरुले ताल समाउँछन् । केही नाच्न अघि सर्छन् । ताल परे आफैं नाच्न तयार हुन्छिन् उनी । यो दृष्य देखेर लमजुङको मध्यनेपाल नगरपालिका ५ मगरगाउँ होमस्टे पुग्ने जो कोहीले भन्छन्ः गाउँमा यतिको अटिलो महिला त हुनुपर्छ ।’

Advertisement

पाहुना स्वागतदेखि खानपिन र नाचगानमा माहिर लाफा गाउँ होमस्टेकी हर्ताकर्ता हुन् उनी । फूलमाया नाम्जाली मगर न आमा समूहकी अध्यक्ष हुन्, न होमस्टेको नै । तर, उनको खटाइ र मेहनत अध्यक्षभन्दा माथिल्लो तहको छ । उनी गाउँभर फूलमाया फूपू उपनामले परिचित छिन् ।

गाउँका सबैले त्यो नाम पुकार्दा पुकार्दै गाउँ पुगेका पाहुनाले पनि छुट्टिने बेला ‘गयौं है फूलमाया फूपू राम्रोसँग बस्नुस्, समय मिले अर्को पटक तपाईको गीत र नाँचमा रमाइलो गर्न आउँछौं’ भन्ने गर्छन् । मगर गाउँ पुग्ने पाहुनासँग सहज, सरल र मिलनसार व्यवहारले उनी पाहुनाको प्रिय बनिहाल्छिन् । त्यसैले उनी गाउँको मात्र नभएर पाहुनाको पनि प्रिय फूलमाया फूपू हुन् ।

फूलमाया सबैको प्रिय हुनुका पछाडि लामो समयको मेहनत र खटान अनि संघर्षका कथा छन् । सानैदेखि टाठोबाठो स्वाभावकी उनको विवाह पनि सोही गाउँमा भयो । अहिले फूलमाया ५१ लागिन् । ३ छोरी २ छोरा अनि ९ जना नातिनातिना भइसके । तर, उनमा ५१ लागिसकेको, बज्यै बनिसकेको आभाष नै छैन ।

किशोरी हुँदै आमा समूहको नेतृत्व लिएकी फूलमाया अहिले ५१ वर्षमा पनि कहिले मादल घन्काउँछिन्, कहिले टुक्का झिक्छिन्

Advertisement

उनको विवाह भने १३ वर्षकै उमेरमा भयो । त्यसपछि १६ वर्षको उमेरमा आमा समूहको अध्यक्ष भएर काम गरेको सम्झना ताजै छ । ‘यति नै साल भन्ने मलाई थाहा छैन तर १३ वर्षमा विहे भएपछि १६ वर्षको हुँदा नै यहाँको आमा समूहको अध्यक्ष बनेको हुँ,’ उनले भनिन्, ‘यहाँ आमा समूह गठन हुनुपर्छ । केही नौलो काम गर्नपर्छ भनेर जिल्लाबाट मान्छेहरु आउनुभएको थियो । उहाँहरुले नै मलाई अध्यक्ष बनाउनुभएको हो । म आफैं उठ्छु भनेको होइन ।’

त्यसपछि आफू ४५ वर्ष पुग्दासम्म लगातार अध्यक्ष भएर काम गरेको उनले जनाइन् । आमा समूह अध्यक्ष भएर आफ्नो नेतृत्वमा गर्न मन लागेका काम गरिसकेपछि नयाँलाई नेतृत्व छाडेको उनी सुनाउँछिन् । ‘मेरो अध्यक्षतामा समाज भवनको योजना ल्याइयो । बिजुलीको माग गरें । सडकको माग गरें अनि मान्छे मरेपछि लास लिएर जाँदा मलामीका लागि घामपानीबाट ओतिनका लागि ठाँटी बनाउने काम गरियो,’ उनले थपिन्, ‘यति नभई म अध्यक्षबाट म निस्किन्नँ भने अनि गरेरै छोडें । मेरो जे इच्छा थियो, त्यो पूरा पनि भयो । अब युवाले धान्नुपर्छ भनेर मैले अर्कोलाई जिम्मेवारी दिएँ ।’

गाउँका लागि अहोरात्र खटिने फूलमायासँग जनताको सेवा गर्ने उद्देश्यले स्थानीय निर्वाचनमा वडा सदस्य उठ्दा हार व्यहोर्नुपरेको तीतो अनुभव पनि छ । तर, त्यो हारले उनी कत्ति पनि विचलित भइनन् । अहिले पनि उनी गाउँलेको सेवामा तल्लीन छिन् । अझै पनि आफ्ना उमेरका सँग सहकार्य गर्दै छिन् भने नयाँलाई सिकाउँदै पनि ।

होमस्टेमा पाहुना आउँदामात्र नभएर गाउँमा हुने विवाह, भोजभतेर, लाहुरे आउँदा हुने रमाइलोको अगुवाइ उनी नै गर्छिन् । विकास, निर्माणका काममा उनको योगदानको मगर गाउँका प्रत्येकले कदर गर्छन् । खासगरी गाउँका आमा, छोरी, बुहारी (समग्र महिला) ले केही न केही गर्नुपर्छ भन्ने उनको सोंच छ । त्यसैले उनी हरेक काममा महिलालाई अघि बढाउन सहयोग गर्छिन् अनि बाटो बिराउन लागेमा सम्झाएर, हप्कीदप्की गरेर भए पनि सही बाटोमा हिडाउँछिन् ।

मगरगाउँ होमस्टेकी अध्यक्ष बिमला राना पनि फूलमायाको मार्गनिर्देशनबाट गाउँका महिला खुसी रहेको बताउँछिन् । ‘गाउँमा हुने विकास निर्माणको कामसँगै विवाह, भोजभतेर, लाहुरे आउँदा हुने रमाइलोमा उहाँको अगुवाइले हामी निकै खुसी छौं,’ बिमलाले भनिन्, ‘उहाँकै नेतृत्वमा हामीले गाउँमा होमस्टे चलाउने आँट गरेका हौं । त्यसैले हामी मगर गाउँबासी महिलाका लागि फूलमाया फूपू आइडल नै हो ।’

उनको हक्की, नेतृत्वदायी अनि हारमा पनि रमाउन सक्ने क्षमताको सिको गर्दै अघि बढ्ने हो भने गाउँमा फूलमाया फूपू जस्तै बन्न सकिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया