मुस्ताङमा प्रदेशिक अस्पताल बन्दै

सुन्दरकुमार थकाली २०८१ चैत २७ गते ५:५०

जोमसोम । मुस्ताङको जोमसोममा बन्ने २५ शयाको प्रदेश अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा २०७७ चैत २२ गते मुस्ताङको जोमसोममा २५ शय्याको प्रदेश अस्पताल भवन शिलान्यास गरिएको थियो ।

Advertisement

अहिले अस्पतालको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ । बहुवर्षीय योजनाका रुपमा निर्माण थालिएको जोमसोम स्थित साँढे दुई तले अपांगमैत्री प्रदेश अस्पताल भवनको ठेक्का लागत १२ करोड छ । निर्माण कम्पनी इमोटल जेभीले यहाँ प्रदेश अस्पताल भवन बनाउने जिम्मा लिएको छ ।

प्रदेश अस्पताल भवन ४ वर्षपछि अन्तिम चरणमा पुगेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा तेजेस नेपालले जानकारी दिए । सम्झौता अवधि २ वर्ष रहे पनि प्राविधिक समस्या, बजेट अभाव र निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणमा ढिलाई हुन पुगेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नेपालको भनाइ छ ।
२ पटकसम्म म्याद थप भइसकेको अस्पताल भवन अब भने सम्पन्न हुने छनक देखिएको छ । यसअघि निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा प्रदेश सरकारबाट विनियोजित बजेटसमेत फ्रिज हुने गरेको थियो ।

भवन निर्माणको जिम्मा पाएको इमोटल कन्ट्रक्सन जेभीका सबइन्जिनियर निश्चल खनालले अस्पतालको भौतिक प्रगति ९७ प्रदेश पुगेको दावी गरे । उनले अस्पताल भवनको भौतिक सरचना, जस्ता, सिलिङ, रंङ्गरोगन लगायतको काम सकिएको जनाए । अस्पताल भवनका लागि झ्याल, ढोका फिटिङ गर्ने र खानीपानीको पाइप लाइन जडान गर्ने कार्यमात्रै बाँकी रहेको उनको भनाइ छ ।

पछिल्लो समय सडक तथा हवाई मार्ग सहज हुँदै गएपछि मुस्ताङमा पर्यटकको आवागमन बढ्दै गएको छ । मुस्ताङ भित्रिने पर्यटक तथा स्थानीयको स्वास्थ्य सेवालाई सहज र सरल बनाउन भवन निर्माणसँगै अस्पताल स्तरोन्नति गर्न लागिएको हो ।

Advertisement

नयाँ प्रदेश अस्पताल भवनमा कार्यालय प्रमुख कक्ष, प्रशासन कक्ष, बैठक हल, ओपिडी कक्ष, आकस्मिक कक्ष, प्रसूति कक्ष, ल्याब, एक्सरे कक्ष, फार्मेसीसहित विभिन्न समस्याका बिरामीलाई सेवा पुर्‍याउने गरी पूर्वाधार निर्माण गरिएको छ । भवनको माथिल्लो तलासम्म बिरामी लैजान ह्विल चियर गुडाउन मिल्ने पूर्वाधार तयार गरिएको छ ।

अहिलेको जीर्ण अवस्थाको भवनबाट सेवाग्राहीलाई परेको समस्या निराकरण गर्न अस्पतालको नयाँ भवनले सघाउने विश्वास गरिएको छ । जीर्ण भवनबाट सेवा प्रवाह हुँदा आउने बिरामीलाई निकै सास्ती छ । अस्पतालमा शय्या थपसँगै भवन स्तरोन्नति गर्ने र अस्पतालमा सेवा लिन आउने बिरामीलाई सहज ढंगले सेवा प्रवाह गर्न सकिने गरी मुस्ताङ स्थित प्रदेश अस्पतालको नयाँ भवनले सघाउने अपेक्षा गरिएको छ ।

प्रदेश अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगे पनि अस्पतालसम्म सवारी साधन लैजान मिल्ने सडकसहज छैन । अस्पताल सडकका लागि जग्गा विवाद हुँदा अस्पताल जाने बाटो निर्माणमा समस्या परेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया