संघ र प्रदेशमा मन्त्रालय घटाउने तयारी

समाधान संवाददाता २०८१ चैत २७ गते १५:५६

पोखरा । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तर प्रदेश परिषदलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सरकार सुशासन केन्द्र र फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरको संयुक्त आयोजनामा बिहीबार काठमाडौंमा भएको ‘संघीयताको कसीमा तहगत अन्तरसम्बन्ध’ विषयक छलफल कार्यक्रममा उनले संघीयतामा वित्तीय संघीयता कमजोर रहेको स्वीकार गरे । उनले प्रदेशबाट आएका सुझाब मुताविक संघ र प्रदेशका मन्त्रालय संख्या घटाउने कसरतमा सरकार लागिरहेको बताए ।
कार्यक्रममा उनले भने, ‘प्रदेश सरकारको नेतृत्व दोस्रो तहका मुख्य नेताहरुले गर्नु पर्दथ्यो भन्ने तलको सुझाव जायज छन्। हाम्रो पार्टी एमालेले सुरुमा राम्रो निर्णय गरेको थियो । म र शंकर पोखरेल मुख्यमन्त्री बन्न गएका थियौं । पछि त सबै पार्टीले मनन् गरेनन् ।

Advertisement

कार्यक्रमका कानुन तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले संघीयता उत्तम व्यवस्था रहेको भन्दै यसले बहिस्करणमा पारिएका जाती, वर्ग, क्षेत्र, लिंगका मानिसलाई अधिकार दिलाएको बताए । उनले भने, ‘यस व्यवस्था भित्रका कमीकमजोरी हटाइ सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने सके यहि प्रणाली संसारको उन्नत प्रणाली हो । विकल्पका हल्ला बेमौसमी बाजा हुन् ।’

कार्यक्रममा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पा, बागमती प्रदेश सरकारका मन्त्री मधुकुमार श्रेष्ठ, उपसभामुख अप्सरा चापागाईं, पूर्व मन्त्री तथा सांसदहरू, नेपाल नगरपालिका संघका महासचिव नरुलाल चौधरी, नेपाल सरकारका कानुन तथा संसदीय मामिला सचिव उदय सापकोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्र् सचिव कालीप्रसाद पराजुली, बागमती प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थ, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु लगायतको सहभागिता थियो ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरेशचन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘प्रदेशका सवालहरु’ विषयमा आयोजक संस्थाका सदस्य तथा पूर्व सांसद पार्वती रावल र संविधानसभा सदस्य प्रह्लाद लामिछानेले प्रस्तुतीकरण गरेका थिए ।

स्थानीय तहका सवालहरुमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र तहगत अन्तरसम्बन्धका बारेमा आयोजक संस्था फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले प्रस्तुति गरेका थिए । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित छलफल कार्यक्रममा स्वागत मन्तव्य आयोजकका तर्फबाट प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले र कार्यक्रम सञ्चालन फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यकारी निर्देशक पूर्व सांसद प्रकाश पन्थले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया