घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीको शुभकामना

पोखरा ।
पोखरा–१९ घार्मीमा रहेको घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले नववर्ष २०८२ को आगमनसँगै शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ । संस्थाका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले भित्तेपात्रो विमोचन गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले सहकारीलाई गरिबी निवारण र उत्पादनमुखी बनाउन जोड दिए ।
त्यसैगरी, पर्यटन प्रवद्र्धनको सन्दर्भमा बोल्दै उनले घार्मी सहरबाट अति नजिक रहेको पर्यटकीय ग्रामीण क्षेत्र भएकाले यस क्षेत्रमा सहकारीमार्फत पर्यटन प्रवद्र्धनका थप योजनाहरू लागू गर्न सकिने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दीपक बास्तोलाले पछिल्लो समय सहकारी क्षेत्रमा केही नकारात्मक सन्देशहरू प्रवाह भइरहे पनि नीति, नियम र विधानअनुसार चलेका सहकारीहरू विश्वसनीय र उदाहरणीय रहेको उल्लेख गर्दै घार्मी कृषि तथा पर्यटन सहकारीले छोटो समयमा अपेक्षाकृत प्रगति गरेको बताए ।
संस्थाका सल्लाहकार वैकुण्ठ पौडेल, लेखा समिति सदस्य रामचन्द्र पौडेल, सेयर सदस्य सुनिता अधिकारी पौडेल, कृषि समन्वय उपसमिति सदस्य पोषराज पौडेल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सहकारीको कार्यशैलीप्रति प्रशंसा गरे ।
संस्थाका अध्यक्ष पोषराज पौडेलले सहकारीका विभिन्न गतिविधि र भावी योजनाका विषयमा प्रकाश पारे। सो अवसरमा सहकारीको हितका लागि निरन्तर सहयोग गर्दै आएका सेयर सदस्य परशुराम पौडेललाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
संस्थाका सचिव राजकुमार पौडेलको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष ज्योति रेग्मी पौडेलले स्वागत मन्तव्य राखे भने सहसचिव लक्ष्मी अधिकारीले सहकारीका सिद्धान्तहरु वाचन गरिन् ।
तपाईको प्रतिक्रिया