आलु किन्न महोत्सव

समाधान संवाददाता २०८१ चैत २८ गते ११:०१

पोखरा ।
१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरु बढेका छन् । बिहीबारसम्म ४५ हजारले महोत्सव अवलोकन गरेकोमा १ हजार २ सय २५ परिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

Advertisement


प्रति परिवारले १० केजीदेखि बढीमा २ सय केजीसम्म आलु किनेका छन् । हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मीठो हुने भएकाले अधिकांश उपभोक्ताको रोजाइमा पर्छ । आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण एवं माछापुच्छ्रे गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिस आएका छन् ।


आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याइ छ भने बिहीबार साँझसम्म १३ लाखभन्दा बढीको आलु कारोबार भएको छ । प्रतिकेजी ४२ रुपैयाँमा आलु बिक्री गरिएको छ । महोत्सवमा दर्शक सहभागितासमेत बढ्दै गएको हो । महोत्सवको पाँचौ दिन बिहीबारमात्रै १० हजारले महोत्सव अवलोकन गरेका छन् ।


बिहीबार कलाकारहरु एलिना चौहान, जीवन दाहाल, रेशम निर्दोष, सरस्वती लामिछाने, परशुराम अधिकारी, सुभद्रा श्रेष्ठका प्रस्तुतिहरु रमे । शुक्रबार शान्तारानी परियार, कुमार पुन, जीवन दाहाल, लक्ष्मी नेपाली, विजय केसी, कृष्ण सुवेदी, गगन गुरुङ, वसन्ती थापा लगायतको प्रस्तुति रहनेछ ।


महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान छन् । महोत्सव यही बैशाख ३ गतेसम्म चल्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया